• २६ चैत २०८२, बिहिबार

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

blog

धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आउनुभएका बिरामीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत २६ गते ।
जिल्लाका एक लाख ४३ हजार ६ सय ५२ जना नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यो कुल जनसंख्याको ५८ प्रतिशत हो । जिल्लाको कुल जनसंख्या दुई लाख ४९ हजार २११ रहेको छ ।

स्वास्थ्य बिमा बोर्ड बागलुङका अनुसार, जिल्लाका ४६ हजार ४५४ घरपरिवार स्वास्थ्य विमामा आवद्ध भएका छन् । गत वर्षको तुलनामा यसवर्ष विमा गर्नेहरुको संख्यामा ९ प्रतिशतले वृद्धि भएको छ । ४९ प्रतिशत विमित बढेर यसवर्ष ५८ प्रतिशत पुगेको विमा बोर्डका संयोजक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बिमा गरेकाहरुले औषधी नपाएको, गुणस्तर नभएको गुनासो गर्दै आए पनि स्वास्थ्य बिमामा आर्कषण भने बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा हरेक वर्ष बिमाबाट उपचार सेवा पाउनेको संख्या बढीरहेको देखिन्छ । ‘‘एक लाखसम्मको निःशुल्क उपचार सेवाले बीमा गराउनेको संख्या हरेक वर्ष बढिरहेको छ’’ पौडेलले भन्नुभयो ।

जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढीरहेका छन् । अपरेशन सहितको सेवा लिनेगरी धौलागिरी प्रादेशिक अस्पतालमा आउने बिरामीको संख्याले पनि बिमाको सेवा पाउनेको संख्या बढीरहेको देखिन्छ । ‘‘हरेक वर्ष सेवाग्राही बढीरहेकोले सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्व गराउन महत्त्व बुझाउन जरुरी देखिन्छ’’ धौलागिरी प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण घिमिरेले भन्नुभयो ।

धौलागिरी प्रादेशिक अस्पतालमा मात्रै झण्डै ७० प्रतिशत नागरिकले बिमामार्फत स्वास्थ्य सेवा लिएका छन् । दैनिक झण्डै ४ सयदेखी पाँच सय बिरामी अस्पतालमा उपचार आउने र तीमध्ये ७० प्रतिशत बीमित सदस्य रहेको डा. घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमाको प्रथम सेवाबिन्दु धौलागिरी प्रादेशिक अस्पताल, गलकोट नगर अस्पताल, बडिगाड आधारभूत अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ जिल्ला अस्पतालबाट उपलब्ध रहेको छ ।

स्वास्थ्य बोर्डका अनुसार, जिल्लाको कुल बीमित सदस्यमध्ये ३० प्रतिशतले भने नवीकरण गरेका छन् । स्वास्थ्य संस्थाका सेवाप्रति नागरिक असन्तुष्टी र केही झण्झटिला प्रक्रियाले बीमितले नवीकरण नगर्ने गरेको पाइएको पौडेलले बताउनुभयो । स्वास्थ्य बिमा गरेपनि तोकिएका औषधी नपाएको बीमितको गुनासो गर्दै आएका छन् ।

पछिल्लो समयमा बिमा बोर्डले केही सर्तहरु परिवर्तन गरेपश्चात नविकरण गर्नेको संख्या घट्दै गएको छ । ‘‘यसअघि ३ हजार ५ सय रुपियाँको बिमा शुल्क तिरेपश्चात पाँच जनाको परिवारले एक लाख रुपियाँ बराबरको सेवा प्राप्त गर्थे । हाल बहिरङ सेवामा २५ हजार सिमा तोकिएको छ’’ बीमित बिनिता नेपालीले भन्नुभयो ।

इमेरजेन्सी र भर्नाबापत खर्च गर्न पाइने प्रावधान समेत बनाइएको छ । अन्य आठ प्रकारका कडा रोगका लागि थप एक लाख रुपियाँको व्यवस्था गरिएको छ ।