धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २६ गते । सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ। अभद्र व्यवहार मुद्दामा सप्तरीको महादेवा गाउँपालिका–६ निवासी २८ वर्षीय ललटु यादव र राजविराज नगरपालिका–१० निवासी २५ वर्षीय ओमकुमार मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
उहाँका अनुसार यादवमाथि सार्वजनिक सडकमा स्थानीय हरीनारायण यादवलाई गत सोमबार गालीगलौज गर्नुका साथै बाँसको फट्टा र लाठी प्रहार गरी कुटपिट गरेको आरोप छ।
त्यसैगरी, मण्डललाई राजविराज ७ स्थित शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गालीगलौज गर्दै ड्युटीमा अवरोध पुर्याएको आरोपमा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो।
दुवै घटनामा संलग्न प्रतिवादीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी बुधबार सप्तरी जिल्ला अदालतबाट सातरसात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो।