• १४ असार २०८१, शुक्रबार

शुल्क महँगो भयो- विद्यार्थी, महँगो लागे भौतिक कक्षा लिनू- डिन

अनलाइन शुल्कमा विद्यार्थी र त्रिवि व्यवस्थापनबीच आरोप-प्रत्यारोप

blog

काठमाडौं, फागुन ७ गते।  त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गरेबापत चर्को शुल्क असुलेको भन्दै विद्यार्थीले विरोध जनाएका छन्। त्रिविको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा मासिक शुल्क बढी लिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन्। केही दिन अघिमात्र विद्यार्थीले विश्वविद्यालयका डिनलाई नै भेटेर यस विषयमा ध्यानाकर्षणसमेत गराएका थिए। स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले एक सेमेस्टरको १० हजार तिर्नुपर्ने भए पनि विश्वविद्यालयले २० हजार लिने गरेको भन्दै विरोध जनाएका हुन्। यता विश्वविद्यालयले भने नियम अनुसार नै शुल्क लिएको जनाएको छ। 

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालका अनुसार नियम अनुसार नै शुल्क लिएकाले महँगो शुल्क लिएको भन्न नमिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विश्वविद्यालयले मापदण्ड र नियम अनुसार नै शुल्क लिने हो। बढी शुल्क त लिने कुरा नै हुँदैन।”

अनलाइन कक्षा सञ्चालनमा लागत पनि बढी पर्ने भएका कारण अनलाइन कक्षा बापतको शुल्क नै केही बढी  हुनु स्वाभाविक भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “भौतिक र अनलाइनको शुल्क एउटै हुँदैन, विद्यार्थीले उही शुल्कमा नै अनलाइन कक्षामा बस्न पाउने भए भौतिक उपस्थितिमा  विद्यार्थी पढ्न मान्छ र ? त्यकारण अनलाइन कक्षामा केही बढी शुल्क तोकिनु स्वाभाविक हो।” 

भौतिक कक्षा लिने अधिकांश विद्यार्थी विभिन्न पेसा र व्यवसायमा व्यस्त भएका कारण उनीहरूलाई मध्यनजर गरेर अनलाइन कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ। विद्यार्थीलाई अनलाइन कक्षा महँगो लागे भौतिक रूपमा नै अध्ययन गर्न आउन उहाँले सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, “विद्यार्थीलाई अनलाइन कक्षा महँगो लागेको भए भौतिक कक्षा भएकै छ। पढ्न आए हुन्छ। भौतिक कक्षाको तुलनामा अनलाइन कक्षा तुलनात्मक रूपमा नै महँगो हुन्छ। ओरिन्टेसन क्लास सञ्चालन गर्नुपर्छ, पोग्रामहरु किन्नुपर्छ, धेरै सामग्री बनाउनुपर्छ त्यसैले यसमा लगानी नै बढी गर्नुपर्छ।” 

बाहिरी देशमा जस्तै नेपालमाअनलाइन कक्षाको शुल्क निर्धारण गरिएको उहाँको भनाइ छ। बुढाथोकीले भन्नुभयो,  “बाहिरी देशमा नेपालको तुलनामा धेरै शुल्क छ। भारतमा ३५ सय आईसी पर्छ। यहाँ २० हजार हुनु के महँगो भयो ?”  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।