• १३ साउन २०८१, आइतबार

सङ्गीत तथा नाट्यको मौलिकता संरक्षणमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति निशा शर्माले नेपालमा विद्यमान सङ्गीत तथा नाट्य परम्पराको मौलिकताको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि विविध कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले पहिलो पटक प्रतिष्ठानको महिला नेतृत्वलाई जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै आफ्नो तर्फबाट बुँदागत योजना तथा कार्यक्रम बनाएर सार्वजनिक गर्नुभएको छ ।

कुलपति शर्माले नेपालमा नाट्य तथा नृत्य पेसालाई शिक्षासँग जोड्दै राष्ट्रको स्वामित्वसहितको विश्वविद्यालयका लागि आवश्यक काम गर्ने, मुलुकको सङ्गीत तथा नाट्य विधामा सरोकार रहने विषयवस्तुको खोज, अनुसन्धानलाई तीव्रता दिने, नेपाली कला, साहित्य तथा सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक साझेदारी कार्यक्रमको आयोजना गर्दै प्रवर्द्धन गर्ने र 

विभिन्न क्षेत्रमा रहेर कला, साहित्य, नृत्य तथा सङ्गीतको क्षेत्रमा संलग्न प्रतिभाहरूसँग सहकार्यका लागि समन्वय गर्ने बताउनुभयो । उहाँको बुँदागत योजनामा सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट पर्यटन विस्तारमा योगदान पुर्‍याउने, देशको भौगोलिक तथा सांस्कृतिक प्रतिनिधित्वसहित सांस्कृतिक खोज, अनुसन्धान, अध्ययनका साथसाथै प्रशिक्षण गराउने उल्लेख छ । 

प्रतिष्ठानले सम्भव भएसम्म हरेक दुई/दुई वर्षको अन्तरालमा सङ्गीत, नृत्य, साहित्य तथा नाट्य महोत्सवहरूको आयोजनाको नेतृत्व लिने, विभिन्न निकाय तथा प्रतिष्ठानहरूसँग परामर्श, छलफल गर्ने लक्ष्य बनाउनुभएको छ । 

कुलपति शर्माले सो प्रतिष्ठानसँग सम्बन्धित पुस्तकालय, सङ्ग्रहालय तथा नाट्यशालाको निर्माण गर्ने र यस क्षेत्रको उत्थानका लागि विज्ञसँगको निरन्तर छलफल गरी दीर्घकालीन योजना बनाउनेलगायतका योजना प्रतिष्ठानका पदाधिकारी, विज्ञ तथा सरोकारवाला संस्था, व्यक्तित्वसँगको सहकार्यमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । 

उपकुलपति शम्भु राईले भन्नुभयो, “भर्खर नियुक्त भएका छौँ, अग्रज, अनुभवी विज्ञ तथा सङ्गीत, नाट्य क्षेत्रका दिग्गज व्यक्तित्व तथा संस्थासमेतको सहकार्यमा प्रतिष्ठानको गौरवलाई उच्च बनाउने अभियान थाल्नेछौँ ।”