• २२ चैत २०८२, आइतबार

पुस्तान्तरणसँगै मौलिक संस्कृति जोगाइँदै

blog

चिमखोलामा पाका र नयाँ पुस्तासँगै भएर पुख्र्यौली नाच देखाउँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

बेनी, चैत २२ गते । म्याग्दीका मगर समुदायमा लोपोन्मुख बन्दै गएको पुख्र्यौली नाचसहित मौलिक संस्कृति संरक्षणका लागि नयाँ पुस्ता सक्रिय हुन थालेका छन् । जिल्लाको विभिन्न गाउँमा पाका पुस्ताले नाच्दै आएको पुख्र्यौली नाच, सोरठी भाका, मादले–मारुनी र कौरा नाचमा बालबालिका र युवापुस्ताको सहभागिता बढ्न थालेपछि पुस्तान्तरणसँगै मौलिक संस्कृति जोगिने आशा बढेको छ । 

मौलिक संस्कृतिको संरक्षण र सिप पुस्तान्तरणका लागि पाका पुस्ता र नयाँ पुस्ता सक्रिय भएसँगै संस्कृति संरक्षणको जागरण आएको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापाले बताउनुभयो । पछिल्ला केही वर्षयता मगर समुदायको बाक्लो बस्ती भएका गाउँमा संस्कृति संरक्षणका लागि पाका र युवापुस्ताको सक्रियता बढेको उहाँको भनाइ छ । 

जिल्लाको रघुगङ्गा गाउँपालिका–७, चिमखोलाका १३ वर्षीय अमनपराई पुनसहितले गाउँमा आयोजना हुने सांस्कृति कार्यक्रममा मादले र मारुनीको भूमिकामा नाच्ने गर्नुभएको छ । बाल कलाकार पुनले गाउँमा आयोजना हुने पुख्र्यौली नाचमा मारुनीको भूमिकामा नाच्दै आएको बताउनुभयो । 

पुख्र्यौली नाचमा नयाँ पुस्ताको अभाव देखिन थालेपछि विद्यालय तहबाट नयाँ कलाकारलाई  नाचसम्बन्धी कला सिकाउन थालिएको चिमखोलाका अग्रज कलाकार गम पुनमगरले बताउनुभयो । सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठी भाकाको कम्पनमा नाच्ने कलाकारदेखि हेर्ने दर्शकसम्म काम्ने यो नाचको अनौठो विशेषता छ । पुख्र्यौली नाचका लागि गाइने ख्याली र सोरठी भाकामा देवीदेवताका कथादेखि मायाप्रेम र सद्भावसँगै अधिकार र जिम्मेवारीका विषयलाई टुक्का गीतमार्फत गाउने चलन रहिआएको अग्रज कलाकार पुनमगरले जानकारी दिनुभयो ।