• १३ असोज २०८१, आइतबार

तीन दर्जन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

blog

गाईघाट समाचारदाता

गाईघाट, फागुन ७ गते । उदयपुर र खोटाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका झन्डै तीन दर्जन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अघिल्ला वर्षहरूदेखि नै पुल बनाउन सुरु गरिएको भए पनि लागतअनुसारको बजेट र आवश्यक निर्माण सामग्रीहरूको अभावमा निर्माणको काम थाँती रहेको थियो । अहिले बजेटसहित सबै सामग्री उपलब्ध भएपछि उदयपुरका २० र खोटाङका १० वटा पुलको निर्माण कार्यले गति लिएको हो ।

दुई जिल्लामा पूर्वाधारको काम गर्ने स्थापित घाटस्थित पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार यसअघि सङ्घीय सरकारले लागत इस्टमेटअनुसार रकम र पुल निर्माणका लागि फलामे लट्ठाहरू उपलब्ध नगराउँदा उदयपुर र खोटाङ जिल्लामा गरी निर्माणाधीन अवस्थामा रहेका झोलुङ्गे पुलको निर्माण कार्य बीचैमा अलपत्र हुँदै आएको थियो । 

कार्यालयले ग्रामीण सडकहरू निर्माणसँगै सम्पन्न गरिनुपर्ने खोटाङ र उदयपुर जिल्लाका विकट पहाडी गाउँ बस्तीलाई जोड्ने उद्देश्यले उदयपुरमा ४१ र खोटाङमा २९ गरी जम्मा ७० वटा लामो तथा छोटो दुरीका झोलुङ्गे पुलहरू आर्थिक वर्ष २०७६÷७७ बाट क्रमागत रूपमा निर्माण गरिँदै आएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख डीई गङ्गासागर यादवले बताउनुभयो ।

त्यसमध्ये बहुवर्षीय योजनाअन्तर्गत उदयपुर जिल्लाका २० र खोटाङ जिल्लाका १० वटा गरी जम्मा ३० वटा झोलुङ्गे पुलको फाउन्डेसन (जग)हरू निर्माण गरिएको भए पनि बाँकी कामहरू अगाडि सकेको थिए । हाल युद्धस्तरमा काम भइरहेको र अबको तीन महिनाभित्रमा सबै काम सकिने डीई यादवले बताउनुभयो । उहाँका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ को १२० मिटर लामो बरुवा खोला झोलुङ्गे पुल, कटारी नगरपालिका वडा नं. ८ को सुनकोसी नदीमा निर्माणाधीन चिपटार झोलुङ्गे पुल, त्रियुगा नगरपालिका–१२ स्थित त्रियुगा नदीको झोलुङ्गे पुल, उदयपुगढी गाउँपालिका–७ स्थित लामिदुवाली वैद्यनाथ खोला झोलुङ्गे पुल, चिसापानी गोहिया त्रिनपा–७ को झोलुङ्गे पुललगायत २० वटाको निर्माण कार्य सम्पन्न हुन लागेको हो ।

त्यस्तै खोटाङ जिल्लास्थित केपिलासगढी ऐसेँलुखर्क जोड्ने रावाखोला झोलुङ्गे पुल, वराहपोखरी गाउँपालिकास्थित लवुवा खोला झोलुङ्गे पुल र हलेसी तुवाचुङस्थित थिगुवा बाडेटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सो कार्यालयका प्राविधिक अधिकृत यादवप्रसाद वाग्लेले बताउनुभयो ।

प्राविधिक अधिकृत वाग्लेका अनुसार उदयपुर र खोटाङ दुई जिल्लामा सञ्चालन गरिने भौतिक पूर्वाधारको विकास निर्माणमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले गाईघाटमा स्थापित यस कार्यालयले खोटाङ जिल्लाअन्तर्गतका विभिन्न झोलुङ्गे पुल तथा सोसँग सम्बन्धित सडक निर्माण गर्दै आएको छ । 

सङ्घीय र प्रदेश १ को सरकारले निर्धारित समयमा लागत इस्टमेटअनुसारको बजेट र निर्माण सामग्रीहरू उपलब्ध नगराउँदा तीन वर्ष पहिले नै सम्पन्न भइसक्नु पर्ने ७० वटा यी योजनामध्ये ४० वटाको काम अहिलेसम्म पनि नियमित हुन नसकेको उहाँ बताउनुहुन्छ । पुलको लम्बाइअनुसार ६० देखि ९० लाख रुपियाँसम्मको लागतमा निर्माणकार्य सम्पन्न हुन लागेको हो ।