• १३ असोज २०८१, आइतबार

हिंसापीडितलाई पुनर्स्थापना गरिँदै

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ७ गते । मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले तीन लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो । 

रङ्गेली–१, मोरङकी ३० वर्षीया पूजा खवासलाई श्रीमान्ले छोडेको १० वर्ष भयो । बिहे गरेकोे एक वर्षमात्रै उहाँले श्रीमान्सँग बस्न पाउनुभयो । बुवाआमाले परम्परागत विवाह गरेर दिएको पतिले छोडेपछि पूजाका दुःखका दिन सुरु भए । त्यसपछि उहाँ माइत आएर बस्नुभयो ।  तराईमा माइत घरमै बस्ने चेलीले बेहोर्ने सबैखाले दुःखको अनुभव गरिसक्नुभएकी पूजा अहिले आफ्नै खुट्टामा उभिन सङ्घर्ष गरिरहनुभएको छ । रङ्गेली नगरपालिकाले सञ्चालन गरेको सिलाइ कटिङ तालिम लिएपछि उहाँले बाँच्न सक्ने आधार फेला पार्नुभयो । उहाँले भन्नुभयो, “अब लुगा सिलाएर आफ्नै कमाइमा बाँच्न सक्छु भन्ने लागेको छ । 

लैङ्गिक हिंसापीडित ४० वर्षीया रिङ्की बानुले अझ कष्टकर जीवन बिताइरहनुभएको थियो । मुस्लिम समुदायमा पतिले छोडेपछि महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । अझ उहाँसँग दुईवटी छोरीलाई पढाउने र पाल्ने जिम्मेवारी पनि थियो । रिङ्कीलाई पतिले छोडेको १० वर्ष भयो । सामान्य कस्मेटिक (शृङ्गार प्रसाधन) व्यापार गर्दै आउनुभएकी रिङ्की नगरले दिने पुँजीबाट पसल बिस्तार गर्ने सोचिरहनुभएको छ ।

१६ वर्षको उमेरमा १० कक्षा पढ्दापढ्दै राजवंशी जातका युवासँग प्रेम विवाह गरेकी रङ्गेली–३ की १९ वर्षीया युवती अहिले विक्षिप्त हुनुहुन्छ । प्रेम गर्ने बेलामा जात सोधेनन्, अहिले तल्लो जातको भएर घर पस्न दिएनन् । उहाँले भन्नुुुभयो, “एउटा छोरो पनि छ । सामाजिक अप्ठ्यारोेसँगै कानुनी अप्ठ्यारोे झेलिरहनुभएकी उहाँको न नागरिकता छ, न विवाह दर्ता, न छोराको जन्मदर्ता छ ।”