• १२ असार २०८१, बुधबार

महिला फुटबल टोलीको बिदाइ

blog

विदाइ कार्यक्रममा नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौं, माघ २९ गते । भारतसँग मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार महिला टोलीको बिदाइ गरेको हो ।

नेपालले भारतसँग फेब्रुअरी १५ र १८ तारिखमा चेन्नईमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । टोलीलाई एन्फा मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फाका महासचिव किरण राई लगायतले बिदाइ गर्नुभयो ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाली टोलीले छोटो तयारी गरे पनि दुवै खेल जित्ने लक्ष्य राखेको प्रशिक्षक अनन्तराज थापाले बताउनुभयो । 

‘‘दुई साताको अभ्यासमा हामीले राम्रै तयारी गरेका छौं । यसअघि साफमा भारतलाई हराएकोले खेलाडीको मनोबल उच्च छ । भारत दक्षिण एसियाको बलियो टोली भएकोले खेलाडीलाई राम्रो अनुभव हुनेछ,’’ थापाले भन्नुभयो ।  

कप्तान एञ्जिलाले साफपछि हुन लागेको मैत्रिपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिने बताउनुभयो । टोलीमा अनुभवी र नयाँ प्रतिभावान् खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने उहाँको अपेक्षा छ । एन्फाले यस मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोट खेलको तयारीका लागि अनुभव सँगाल्ने अवसरमो रुपमा लिएको छ । 

नेपाली टोलीका खेलाडी 

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषानाथ

रक्षक : हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैसी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, सविता रानामगर, सरु लिम्बू, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रीति राई र अनिता केसी

स्ट्राइकर : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ र निर्मला विक ।