• १३ असोज २०८१, आइतबार

निःशुल्क लौरो बाँड्दै लौरोबाजे

blog

बेथानचोक (काभ्रेपलाञ्चोक), माघ २४ गते । बेथानचोक गाउँपालिका वडा नं.–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसक्नुभएको छ । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उहाँले आमाका लागि लौरो बनाउन सुरु गर्नुभएको थियो ।  

उहाँले वृद्धा आमाले पनौती (माइत)सम्म जाँदा ढोडको लौरो टेकेको देखेर लौरो बनाउन थालेको सुनाउँदै भन्नुभयो, “आमाले लौरो उपहार दिनु जस्तो ठूलो उपकार केही नहुने भन्नुभएपछि अरूका लागि पनि लौरो बनाउन थालेँ ।” 

उहाँको परिचय बदलिएको छ । जिल्लाभरि उहाँ ‘लौरो बाजे’का नामबाट परिचित हुनुहुन्छ । उहाँले लौरो उपहार पाएपछि चिया खाउँ भनेर खुसी हुँदै केहीले आर्थिक सहयोग गरे पनि अधिकांशलाई आफूले निःशुल्क रूपमा उपहार दिने बताउनुभयो । लौरो बनाउन सजिलो छैन । निश्चित आकारका बुट्यान चाहिन्छ । वनबाट घर ल्याएर मेसिनको सहायताले काट्ने र चिल्लो बनाउन समय लाग्ने गर्छ । लौरो समाउने बिँड हाल्न समय लाग्ने गरेको छ । पहिला लौरो बनाउने काठ सजिलै फेला पथ्र्याे । उहाँले अब काठ पाउन निक्कै मुस्किल पर्न थालेको सुनाउनुभयो ।  “जेनतेन काठ खोजेर लौरो बनाउँदै आएको छु । लौरो पाएपछि ज्येष्ठ नागरिकले दिने आसिकले हौसला मिलेको छ” लौरोबाजे वीरबहादुरले भन्नुभयो, “घरमा लौरो किन बाँड्नु प-यो पनि भन्छन् तर मनले मान्दैन ।” दुई हजारभन्दा धेरै लौरो वितरण गरेर मानवीय काम गरेको भन्दै उहाँलाई पहिलो पटक बनेपामा रहेको बुडोल सामुदायिक साकोसले सम्मान गरेको थियो । उहाँले लौरो चाहिएकालाई लौरो दिन पाउँदा खुसी मिल्ने गरेको अनुभव सुनाउँदै आफूले बनाएको लौरो विदेशसम्म पुगोस् भन्ने चाहना राख्नुभएको छ । 

बेथानचोकको प्रचार गर्ने उद्देश्यले गरिएको पदयात्रामा सहभागी सबैलाई लौरो उपहार दिएकाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले उहाँलाई विशेष समारोह गरेर १० हजार रुपियाँसहित सम्मान गर्नुभयो । नेता आचार्यले लौरोबाजेले लौरो उपहार दिएर काभ्रेको प्रचार गरिरहनुभएको भन्दै उहाँको कामलाई हेरेर सम्मान गरेको बताउनुभयो । 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सयौँ मान्छेलाई लौरो उपहार दिएर वीरबहादुर श्रेष्ठले गाउँपालिकाको प्रचार गर्नुभएको बताउनुभयो । उहाँले वीरबहादुर श्रेष्ठजस्तै अरू उद्यमीको कामलाई प्रोत्साहन गर्न पालिकाले योजना बनाएको बताउँदै भन्नुभयो, “यस्ता उत्पादनलाई बजारीकण गर्न सहयोग पु¥याउने भएका छौँ ।”

उहाँले बेथानचोकमा दैनिक तीन सयभन्दा धेरै आन्तरिक पर्यटक आउने गरेको र यहाँबाट पर्यटकले खुवा मात्रै उपहार लैजाने गरेकोमा आगामी दिनमा लौरो, लप्सीका क्यान्डी र दुग्धजन्य उत्पादनलाई उपहार स्वरूप लिएर जाने बताउनुभयो ।