• ८ मंसिर २०८१, शनिबार

छोरी (कविता)

blog

जीवनको सुन्दर बगैँचामा

पल्लवित छे प्रेमको स्निग्ध फूल

आज हाम्रै आँगनमा फुल्छे

सुवासित पार्छे घर

भोलि मन्दिर पुग्छे, पवित्र पार्छे मन्दिर

पर्सि पुग्छे अर्को गाउँ, अर्को देश 

र पार्छे पराई देशलाई आफ्नो देश

भग्न टहरोलाई बनाउँछे 

मायाको स्वर्णिम दरबार

बगरलाई नदी बनाउँछे

ढुङ्गालाई देवता

झारपातलाई बनाउँछे फूल


यति बेला 

यो घर पनि मन्दिर लाग्छ 

लाग्छ –

हामी संसारकै भाग्यमानी बाबुआमा हौँ

श्रद्धाले पुज्ने –

देवी हामीसँगै छे / सरस्वती हामीसँगै छे

लक्ष्मी हामीसँगै छे

र हामीसँगै छे खुसी प्रसव गर्ने

एउटी अनुपम धर्ती ।