यो धर्ती कमजोरका लागि होइन
भन्ने बुझ्न पनि तिमीले आगो छुनु पर्छ,
जब तिमीले जीवन नामको
पाठशालामा पाइला राख्छौ,
कोमलता र शीतलताको
ममताको छहारी छोडेपछि
थाहा हुन्छ आगोको ज्वाला,
नत्र त परबाट उज्यालो, न्यानो मात्र
देखिन्छ त्यो आगो,
जब विषम परिस्थितिमा पुग्छौ,
सुरु हुन्छ आगो पिलाउन
चिनेका अनुहारबाटै प्रायः,
केही शब्दमार्फत,
केहीका व्यवहारमार्फत,
केहीका असजिला हर्कतमार्फत,
तिमी नचाहेर नै पुग्छौ आगोका
फिलुङ्गा छुन,
अब दुख्यो भनेर उफ्रिन जब
थाल्छौ नि वरपरबाट आगोलाई
उग्र बनाउनेहरू कतै नाताका
कतै सम्बन्धका मुहारहरू पाउने छौ,
कतै जन्मजातदेखि चिनिएका त
कतै पछि जोडिएका पात्र पाउँछौ
साइनो, आफ्नो पाउन ज्यादै गाह्रो हुन्छ
त्यो अग्निज्वालाले पोलेको बखत
अब पूर्णतः एक्लिएर
आँसु सकाएर,
मौनता अँगालेर,
निर्जीव सरी ढल्छौ नि
खरानी बन्ने तरखरमा बलिरहेका
कोइलालाई साथी बनाएर,
अब तिनले पोल्न छोडेका हुन्छन्,
भन्दै गर्छन् हिजोसम्म
दाउराको आकृतिमा थिस् हामीभन्दा
अनौठो थिस र पो तँलाई दुख्यो
आज हामीभन्दा शान्त भइस्,
प्रिय मित्र हामी पनि तेरै अवस्था
कोमल, न्याउरो, आश्रित अन्यत्रबाट
आशा गर्ने पात्रबाट आगोमा
रूपान्तरण भएका हौँ ।
त्यहीबिचबाट एउटा अनौठो अनुहार
देखा पर्छ,
चिनेका सबै हराएपछिको शून्यताको
गोरेटोमा,
सारै विनम्र अपरिचित मुहार वा पात्र,
त्यो आगोको लपेटाबाट मात्र देख्न सकिन्छ,
त्यो पुरिएको तातो वाफभित्रबाट
मात्र महसुस हुन्छ,
त्यो भोकको ज्वालामुखीबाट
मात्र महसुस हुन्छ,
त्यो धनी आफन्तको
महलमा शकुनी चालबाट चिथोरिएका
मुटुको धड्कनलाई मात्र थाहा हुन्छ,
जहाँ,
शकुनीहरू जाल बुनिरहन्छन्,
सिधा पाण्डवहरू कर्तव्यको नाममा
आफ्नै कुलवधूको अपमानलाई
विष सरी निर्वस्त्र निलिरहन्छन्,
एक एक सासको घुट्कोमा
दानव हाँसिरहन्छ,
जितेको घोषणा गर्छ र अट्टहास गर्छ,
भविष्य अन्धकार भएको अन्दाजसम्म छैन,
स्वयं श्रीकृष्ण लुकेका छन्,
भारी सभामा नालायक वीरहरू
दुष्टको नुनले लाचार छन्,
त्यहाँ रोदन छ त केवल अनाथ
बन्न विवश पात्र एक स्त्री,
जसको आँसु र रगतमा आज उत्सव
मनाइरहेका पापीहरू,
भोलि
लपेटिने छन्
आफ्नै कर्मको पाप कुण्डमा ।।