‘पोस्ट–मोडर्न’ दृष्टिकोणले कुनै एक सार्वभौमिक सत्य, केन्द्र, वाद, मान्यता, सिद्धान्त वा शैलीमा विश्वास नगर्ने भएकाले यसलाई एक बहुलवादी धार मानिन्छ । यसले सत्य कहिल्यै पनि पूर्ण, शाश्वत र स्थिर नहुने बरु यो अपूर्ण, सापेक्षित, परिवर्तनशील एवं विनिर्मित भइरहने प्रकृतिको हुन्छ भन्ने कुरामा विश्वास गर्दछ । साहित्यमा यो एक परम्परा विरोधी, सुधारवादी र नवीन शैलीको प्रयोग गर्ने लेखनशैली हो । यसले इतिहासको पुनव्र्याख्या गर्दै प्रविधि, संस्कृति, साइबर संस्कृति, भूमण्डलीकरण, आप्रवासन, ‘ग्लोबल भिलेज’ आदि कुरा स्वीकार गरी यिनै विषयवस्तुमा साहित्य लेखनीको काम गर्दछ । यसले सबै प्रकारका केन्द्रीकृत सार्वभौम सत्य र मानवीय विभेदको विरोध गर्दै घटना वा विचारलाई सामाजिक, राजनीतिक, सांस्कृतिक सन्दर्भमा पुनव्र्याख्या गर्दछ ।
पर्या–समालोचनामा ‘पोस्ट–मोडर्न’ साहित्यले शक्ति संरचनाको प्रश्न र मानव–प्रकृति सम्बन्धको पुनव्र्याख्या गर्दछ । यसले प्रकृतिलाई मानवकेन्द्रित अर्थमा मात्र नबुझी मानव तथा गैरमानव अस्तित्वको साझा घरका रूपमा व्याख्या गर्दछ ।
‘पोस्ट–मोडर्न’ साहित्यका प्रवर्तकहरू ‘जाँ फ्र स्वाँ लियोटा’, ‘ज्याक डेरिडा’, ‘मिसेल फुको’, ‘रोला बाथ’ जस्ता पश्चिमी चिन्तकले प्रत्यक्ष रूपमा पर्या–साहित्य भन्ने शब्द प्रयोग गरेर लेखेका त छैनन् । उनीहरूको मुख्य काम भाषा, शक्ति, ज्ञान र आधुनिकताप्रतिको आलोचनामा केन्द्रित थियो तर उनीहरूको विचारलाई पछि आएका पर्या–समालोचकले विविधता र न्यायसँग जोडेर पर्यावरणीय साहित्य विकासको श्रेय उनीहरूलाई दिएका छन् । ‘जाँ फ्र स्वाँ लियोटा’ ले भनेका छन्, ‘पोस्ट–मोडर्निजम ग्य्रान्ड न्यारेटिभ’ प्रतिको अविश्वासले चिनिन्छ ।
‘पोस्ट–ह्युमन’ दृष्टिकोण
‘पोस्ट–मोडर्न’ साहित्यले भाषा, शक्ति, ज्ञान र आधुनिकताप्रतिको आलोचना सुरु गरे पनि मानवलाई नै केन्द्रमा राखेको थियो । यसले बाइनरी अपोजिसनमार्फत कुनै पनि स्थापित सत्यलाई प्रश्न गर्न सिकायो । योभन्दा पनि अघि गएर ‘पोस्ट–ह्युमन’ दृष्टिकोणले मानवलाई केन्द्रमा राखेर अरू जीव वा पदार्थलाई उनीहरूको सुविधाको वस्तुका रूपमा बुझ्ने परम्परागत दृष्टिकोणलाई चुनौती दिन्छ । यसले जनावर, वनस्पति, प्रविधि, कृत्रिम बुद्धिमत्ता वा गैरमानव अस्तित्वलाई समान महत्व दिन्छ । मानवलाई मात्र यस पृथ्वीको केन्द्र नठानेर सबै गैरमानवको अस्तित्वलाई स्वीकार गर्ने भएकाले यसलाई वातावरणीय समालोचनाको विकसित रूप मानिन्छ । यस दृष्टिकोणले ‘साइबर पङ्क’ जस्तो एक नवीन साहित्यिक विधामार्फत मानव, मेसिन र वातावरणबिचको पर्खाललाई विलय गराई मानव चेतनालाई एक प्राविधिक वस्तु तथा पारिस्थितिक नेटवर्कभित्रको एक अङ्गका रूपमा व्याख्या गर्दछ । ‘साइबर पङ्क’ ले भविष्यमा प्रविधि र ठुला कम्पनीको शक्तिले समाजलाई कहाँसम्म लैजान सक्छ भन्ने प्रश्न उठाउँछ । यो भविष्यप्रतिको चिन्ता, चेतावनी र एक किसिमको लेखनी शैली पनि हो । यसले साइबर स्पेसलाई जानकारी प्रवाहको विशाल म्याट्रिक्सका रूपमा कल्पना गर्दै यसलाई एक डिजिटल पारिस्थितिकीयका रूपमा बुझ्छ, जुन जैविक प्रणालीसँग समानान्तर हुन्छ ।
डिजिटल युगमा पारिस्थितिक विचारलाई पुनर्कल्पना गर्ने यो एउटा यस्तो लेखन शैली हो, जसमा मानवकेन्द्रित कथा विस्थापित भई सर्किट र डाटाको प्रवाहले भौतिक नदी वा वनजङ्गल सरह आपसमा निरन्तर अन्तव्रिर्mया गर्दछन् । यसमा कृत्रिम बुद्धिमत्ता मानवको सहयोगी वा विकल्पका रूपमा देखा पर्छ, जसले पृथ्वीको जैविक विविधताभित्र नयाँ प्रजाति जस्तै मानवकेन्द्रित नियन्त्रणभन्दा पर गैरमानवीय चेतनाको विकासमार्फत मानवभन्दा छिटो र उच्चस्तरीय काम गर्दछ । जसरी मानवकेन्द्रित दृष्टिकोणलाई भाइरस, आक्रमणकारी प्रजाति वा जलवायु प्रणाली जस्ता तत्वले चुनौती दिन्छन्, त्यस्तै गरी कृत्रिम बुद्धिमत्ताले पनि पटक पटक ग्रहगत पारिस्थितिकीमा व्यवधान ल्याइरहन्छ । यसरी ‘पोस्ट–ह्युमन’ दृष्टिकोणले मानव चेतना र कृत्रिम प्रणालीबिचका सीमाको विघटनलाई चित्रण गर्दछ । पर्यावरणीय ‘पोस्ट ह्युमनिज्म’ ले चाहे मानिस जैविक होस् वा कृत्रिम, आफ्नो वातावरणबाट अलग हुन सक्दैन भन्ने देखाउँछ । ऊ प्राविधिक वातावरणको अभिन्न भाग बन्न पुग्दछ । यस दृष्टिकोणले प्रकृतिलाई केवल ‘भौतिक’ ‘जैविक’ मात्र ठानिने धारणाबाट बाहिर ल्याउँछ ।
‘पोस्ट–ह्युमन’ दृष्टिकोणले यो भन्दछ कि कुनै पनि जीव वा वस्तुको पहिचान स्थिर हुँदैन तर यो सम्बन्धात्मक हुन्छ अर्थात् पहिचान मानव, मेसिन र वातावरणका प्राणीको सञ्जालमा विलीन हुन्छ । उदाहरणका लागि जसरी काठमाडौँको पारिस्थितिकी मिश्रित छ, जहाँ पवित्र नदी, कङ्व्रिmट घर, डिजिटल नेटवर्क आपसमा मिसिएका छन्, ठ्याक्कै त्यस्तै ‘पोस्ट–ह्युमन’ विचार एक मिश्रित पारिस्थितिकी हो, जसले पाठकलाई ‘प्रकृति’ भन्नासाथ नदी, जङ्गल फाँट मात्र नभई डिजिटल संसारलाई परिकल्पना गर्न प्रेरित गर्दछ । यस दृष्टिकोणले समकालीन साहित्यमा प्रकृति र प्रविधिबिच अन्तर्क्रिया अथवा मानव र गैरमानवबिच सहअस्तित्वको आवश्यकतामा जोडदिन्छ ।
पर्या–साहित्यभित्र ‘पोस्ट–ह्युमन’ दृष्टिकोणले कुनै कृतिलाई नियाल्दा मानवकेन्द्रित दृष्टिकोणलाई चुनौती दिइन्छ । यसमा साहित्यिक कृतिमा देखिएका पात्र, प्रविधि, वातावरण र गैरमानवीय अस्तित्वबिचको सम्बन्धलाई विवेचना गर्दै ती पात्रलाई केवल स्वतन्त्र मानवका रूपमा नभई उनीहरू प्राणी, प्रविधि, वातावरणसँग गाँसिएका हुन्छन् भन्ने देखाइन्छ । यस दृष्टिकोणले साहित्यलाई केवल मानव अनुभवमा सीमित नगरी जनावर, वनस्पति, प्रविधि र वातावरणलाई सक्रिय पात्रका रूपमा देख्दछ ।
‘पोस्ट ह्युमानिस्ट’ ले हामीलाई सोच्न बाध्य पारेका छन् कि सोचाइ प्रक्रिया केवल मानव मात्रको विशेषता हो या मेसिन पनि सोच्न सक्दछन् । अहिलेसम्म सोच्ने काम मानिसबाट मात्र भएको भन्ने बुझाइ छ किनकि यसमा न्युरोन र हर्मोनको संवेदी प्रणालीले महìवपूर्ण भूमिका खेल्छ । अर्कातिर मेसिनले डेटा मूल्याङ्कन गर्छन् र एल्गोरिदमका आधारमा निर्णय गर्छन् । उपलब्ध जानकारीका आधारमा उनीहरूले समस्या समाधान गर्न सक्छन् । उनीहरूले मानव क्षमताभन्दा पर गएर जटिल गणनात्मक कार्य पनि गर्न सक्छन् । यो घटनाले देखाउँछ कि सोचाइ केवल मानवमा मात्र सीमित छैन । ब्रिटिस गणितज्ञ ‘एलन ट्युरिङ’ ले एकपल्ट सुझाव दिएका थिए कि यदि मेसिनको प्रतिक्रिया मानव प्रतिक्रियासँग समान देखिन्छन् भने हामी भन्न सक्छौँ कि मेसिन पनि सोच्न सक्छन् ।
‘पोस्ट–ह्युमन’ कहाँ बस्छ ? भन्ने प्रश्नको उत्तरमा ‘सरेनेला आयोभिनो’ भन्नुहुन्छ, ‘पोस्ट–ह्युमन’ स्थिर भएर बस्न इच्छुक देखिँदैन बरु यो अस्तित्व र वस्तुहरूको, अस्तित्वशास्त्र (ओन्टोलोजी), ज्ञानशास्त्र (इपिस्टोमोलोजी) र यहाँसम्म कि राजनीतिसम्मका सीमालाई लगातार सार्दै निरन्तर गतिशील भइरहन्छ । ‘पोस्ट–ह्युमन’ले एउटा तथ्य उद्घाटन गर्छ, जहाँ मानव र गैरमानव एकैसाथ अस्तित्वको नृत्यमा फसेका छन्, जसको कोरियोग्राफीले अपरिहार्य जटिल हाइब्रिडिटीको ढाँचालाई पछ्याउँछ ।
‘पोस्ट–ह्युमन’ अध्ययनले हामीलाई केवल जङ्गलमा आश्रय खोजेर मात्र बस्न होइन बरु ‘जातिको अहङ्कार’ भन्दा पर ब्रह्माण्डलाई फराकिलो दृष्टिले हेर्न मद्दत गर्छ । ‘रोसी ब्राइडोटी’ भन्नुहुन्छ, “‘पोस्ट–ह्युमन’ को घर केवल चलायमान र अलिकति अव्यवस्थित मात्र होइन, कार्यगत रूपमा खुला पनि छ । यो रूपान्तरण र क्रान्तिका लागि खुला, मानवको अस्तित्वलाई निर्धारण गर्ने प्रकृति, पदार्थ र सांस्कृतिक कारकलाई स्वागत गर्न तयार छ । यो ‘घुमन्ते’ आगमन र प्रस्थानको सामूहिक घर हो । यो एक यस्तो विषय हो, जो सामूहिकता, सम्बन्धात्मक र समुदाय निर्माणको बलियो भावनामा आधारित हुन्छ ।”
उदाहरणका लागि हाम्रो शरीरभित्र हजारौँ प्रजातिका ब्याक्टेरिया हुन्छन् र यी सूक्ष्म जीवले हाम्रो खाना पचाउने, रगत सफा गर्ने, विषाक्त पदार्थलाई प्रतिरोध गर्ने र छालालाई आद्र्र राख्ने काम गरेर हामीलाई जीवित रहन मद्दत गरिरहेका हुन्छन् । यसैले ‘मानव’ भन्ने कुरा आफैँमा शुद्ध होइन, बरु गैरमानवसँगको सहअस्तित्व हो । ‘पोस्ट–ह्युमन’ दृष्टिकोणले देखाउँछ कि मानव अनुभव सधैँ हाइब्रिड हुन्छ । मानव र गैरमानवबिचको सहकार्यले जीवन सम्भव हुन्छ ।
पर्या–साहित्यमा ‘पोस्ट–ह्युमन’ दृष्टिकोणलाई अगाडि बढाउने प्रमुख समालोचकमा ‘सरेनेला आयोभिनो’, ‘सर्पिल ओप्पम्र्यान’, ‘डग्लस ए. भाकोच’, ‘हेदर सुलिभान’, ‘इग्नासी रिबो’ आदि पर्दछन् । उनीहरूले मानवकेन्द्रितता अन्त्य गर्दै प्रकृति, जनावर, प्रविधि र गैरमानव अस्तित्वलाई समान महìव दिने विचार प्रस्तुत गरेका छन् । डोना हारावेले भने झैँ यो दृष्टिकोणले प्रकृति र संस्कृति अलग होइन बरु सहनिर्मित (को–कन्स्ट्रक्टेड) छन् भन्ने देखाउँछ । मानव मात्र होइन, संस्कृति र प्रकृतिसमेत आपसमा मिसिएका र परस्पर सम्बन्धमा एकअर्कालाई परिभाषित गर्ने गर्छन् । पर्या–साहित्यमा यो दृष्टिकोणले देखाउँछ कि प्रकृति केवल बाहिरको जङ्गल होइन, हाम्रो शरीरभित्र पनि छ । यसले पर्यावरणीय न्यायलाई फराकिलो बनाउँछ । यसले मानव मात्र होइन, गैरमानव जीव र पदार्थ पनि हाम्रो अस्तित्वका लागि अपरिहार्य छन् भन्ने देखाउँछ । साहित्यमा यस्तो दृष्टिकोणले मानवपात्रलाई मात्र होइन, जनावर, प्रविधि, वातावरणलाई पनि कथा निर्माण गर्ने सक्रिय पात्रका रूपमा प्रस्तुत गर्छ ।