• १४ चैत २०८२, शनिबार

एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध

blog

एमाले उपाध्यक्ष गोकर्ण विष्ट, नेताहरु प्रदीप ज्ञवाली, विशाल भट्टराई र पूर्वगृहमन्त्री खगराज अधिकारी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १४ गते । नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएका छन्।

उपाध्यक्ष गोकर्ण विष्टले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै सरकारको कदमको कडा निन्दा गर्नुभयो। उहाँले भन्नुभयो, “यो राजनीतिक प्रतिशोध हो। म यसको निन्दा गर्दछु र अविलम्ब हाम्रो पार्टीको अध्यक्षलाई रिहा गर्न माग गर्दछु।” विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन पनि आग्रह गर्नुभयो।

यसैगरी, एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताउनुभएको छ ।  उहाँले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गर्नुभयो । यसबाट सत्तापक्ष र प्रतिपक्षबिचको दूरी अझ बढ्ने देखिएको छ ।

उहाँले भन्नुभयो, ‘‘यो प्रतिशोध हो । यसको हामीले कानुनी र राजनीतिक दुवै ढङ्गले प्रतिवाद गर्छौं । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढङ्गले प्रतिवाद हुन्छ ।’’

यसैगरी, अर्का एमाले नेता विशाल भट्टराईले पनि सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै प्रतिशोधपूर्ण कदम चालेको आरोप लगाउनुभयो। उहाँले भने, “प्रतिवेदन आफैँ विवादित छ। यसले २३ गतेको घटनालाई मात्र दोषी ठहर गर्छ, २४ गतेको ठूलो विध्वंशलाई बेवास्ता गर्छ। आयोगको संयोजक गौरीबहादुर कार्की पूर्वाग्रही हुनुहुन्छ।

यस्तो प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु भनेको प्रतिशोध बाहेक केही होइन।” भट्टराईले सरकारको कदमले स्थायी शान्ति र स्थिरता सुनिश्चित नहुने पनि बताउनुभयो।

एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पनि गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै आलोचना गर्नुभयो। उहाँले भने, “अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्छ। यो गिरफ्तारी संविधान, कानुन र न्यायको हिसाबले पूर्णतया विपरीत छ। सरकारको यस कदमले देशमा द्वन्द्वको आगो बलाउँछ। एमाले कानुनी र सडक दुवै मोर्चाबाट यसको प्रतिवाद गर्न तयार छ।”

यसैबिच, सरकारले ओलीलाई ज्यानसम्बन्धी कसुरमा शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।