बालबालिका भविष्य हुन् । समृद्ध, सक्षम र देश निर्माणमा यिनै बालबालिकाले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन । त्यसैले पनि उनीहरूको शारीरिक, मानसिक अवस्थाको निगरानी उचित तरिकाले गर्ने मात्र होइन कि शिक्षा, स्वास्थ्य र पोषणका बारेमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । बाल्यकाल पूर्ण रूपमा परनिर्भर हुने भएकाले प्रत्येक बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास तथा वृद्धि स्वस्थकर हुन जरुरी छ ।
नेपालमा पनि बालबालिकाको विकासका लागि सरकारी र गैरसरकारी तहबाट विभिन्न किसिमका काम भइरहेका छन् । पछिल्लो जनगणना अनुसार नेपालमा ३० लाख १७ हजार बालबालिका पाँच वर्षमुनिका छन् । यिनै बालबालिकाको शारीरिक र मानसिक विकासका साथै स्याहारसुसारका लागि व्यावहारिक र उपयोगी जन्मदेखि पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्यसम्बन्धी जानकारीमूलक हातेपुस्तक ‘स्वस्थ बालक’ प्रकाशित भएको छ ।
बालस्वास्थ्य क्षेत्रमा लामो समयदेखि समर्पित बाल तथा बाल मुटुरोग विशेषज्ञ डा. नारायणबहादुर बस्नेत लिखित यस पुस्तकमा गर्भाधान भएदेखि पाँच वर्ष उमेरसम्ममा स्वस्थ रहनका लागि अपनाइनुपर्ने सावधानी र सुरक्षाका आधारभूत जानकारी दिइएको छ । साथै उनीहरूको जीवनमा आइपर्ने स्वास्थ्य समस्या तथा रोगको पहिचान गरी प्राथमिक हेरचाहका लागि चाहिने आवश्यक जानकारीलाई आमपाठकले बुझ्ने भाषामा व्याख्या गरिएको छ ।
पुस्तकले शिशुको जन्म, जन्मको सेरोफेरो र आमा–नवजात शिशुको पारस्परिक सम्बन्धलाई दर्साएको छ । पुरुषबाट निःसृत शुव्रmकीट र महिलाको अण्डको मिलनबाट सुरु भएको जीवन प्रक्रिया भ्रूणको विकास हुँदै गर्भे बालकका रूपमा सामान्यतया गर्भ रहेको २६६ दिनदेखि २८७ दिनमा आमाको शरीरबाट नवजात शिशुका रूपमा बाह्य संसारमा आउँछ । गर्भाधानदेखि जन्मँदासम्मको पाठेघरमा गर्भे शिशुको अवधि, शिशु जन्मँदाको तौल, सालनालको अवस्था, आमाको शारीरिक र मानसिक अवस्थाबारे पुस्तकमा वर्णन गरिएको छ । साथै नवजात शिशुको घाँटी, छाती, छाला, पेट, ढाड, हात, खुट्टाको अवस्था र स्याहार गर्नुपर्ने तरिकाका बारेमा सूक्ष्म रूपमा वर्णन गरिएको छ ।
बालबालिकालाई नुहाउने, तेल लगाउने, मालिस गर्ने तरिकाका बारेमा मात्र होइन; उनीहरूको कपडा, खाना, सुत्ने कोठालाई कसरी सुरक्षित र शिशुमैत्री बनाउने भन्ने महत्वपूर्ण विषय पनि समेटिएको छ । पुस्तकमा शिशुमा जन्मजात देखिएका समस्या जस्तै– टाउको सानो हुनु, आँखामा सेतो देखिनु, डेढो हुनु आदिलाई मिहिन रूपमा प्रस्तुत गर्दै उपचार र परीक्षण विधिबारे पनि जानकारी दिइएको छ । पुस्तकले बालवृद्धि र विकासलाई क्रमबद्ध रूपमा व्याख्या गर्दै शिशु, टोडलर (विद्यालय जानुपूर्वको बालक), विद्यालय जाने उमेरको बालक, पूर्ववयस्क, वयस्क, अधबैँसे हुँदै वृद्ध अवस्थाका बारेमा व्याख्या गर्नुका साथै बाल्यावस्था अति नै चुनौतीपूर्ण र महत्वपूर्ण हुने तथ्यलाई देखाइएको छ । लेखकले आमा, बालस्वास्थ्य निगरानी, बालबालिका र वातावरण स्वास्थ्यका बारेमा जानकारी दिँदै शिशु र परिवार एवं गाउँसहरका बारेमा पनि चित्रण गर्नुभएको छ । समाजमा हुने बालशोषण मात्र होइन, बालबालिकालाई लिएर हवाई यात्रा गर्दा ध्यान दिनुपर्ने व्यावहारिक पक्षलाई पनि केलाइएको छ । लेखकले एकदेखि पाँच वर्षसम्मका बालबालिकाका खेल र गतिविधिलाई विस्तृत रूपमा उल्लेख गर्नुभएको छ । बालक युवा अवस्थासम्म नपुग्दा खोप महत्वपूर्ण हुन्छ । त्यसैले लेखकले जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई दिइने खोपका बारेमा पूर्ण जानकारी दिनुभएको छ ।
लेखकले उमेर अनुसारको श्वासप्रश्वास दर, मुटुको धड्कन दर, मानव शरीरको सामान्य तापक्रम, शरीरमा पानी र पिसाबको मात्राका बारेमा जानकारी दिँदै घरमै बसेर पनि मापन गर्न सकिने गरी सरल तरिकाले जानकारी दिनुभएको छ । पुस्तकमा लेखकले आफूले पाँच वर्षमुनिका बालबालिकालाई सेवा प्रदान गर्दा उनीहरूमा देखिएका सामान्य रोगहरूको पनि विश्लेषण गरी अनुसन्धानात्मक रिपोर्ट प्रस्तुत गर्नुभएको छ । उहाँले सो अवधिमा देखिएका श्वासप्रश्वाससम्बन्धी रोग, टन्सिल सङ्क्रमण, पाचन प्रणालीसम्बन्धी समस्या, मुटुसम्बन्धी समस्या, नाक, स्नायु, मिर्गौला, छालामा कसरी रोग लाग्छन् भन्दै त्यसको पहिचानका बारेमा पनि जानकारी दिनुभएको छ । साथै ती रोग लाग्दा गर्न सकिने घरेलु समाधानका बारेमा समेत सरल तरिकाले जानकारी दिइएको छ ।
बालबालिका गम्भीर बिरामी हुँदा देखिने लक्षण र बिरामी बालबालिकालाई कसरी अस्पताल लैजाने भन्ने व्यावहारिक पक्षबारे सूचना र चेतनामूलक जानकारी पुस्तकमा समेटिएको छ । बालबालिकालाई औषधी खुवाउने तरिका र खुवाउनुअघि ध्यान दिनुपर्ने विषय उल्लेख गरिएको छ । लेखकको आफ्नै अनुसन्धान तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको नजिता पनि उल्लेख गर्नुभएकाले पुस्तक तथ्यपरक देखिन्छ ।
पुस्तक बालस्वास्थ्य तथा हेरचाह गर्ने मातापिता, स्वास्थ्यकर्मी, चिकित्सक, बालरोग विशेषज्ञका साथै प्रारम्भिक शिक्षा क्षेत्रमा संलग्न बाल हेरचाह गर्ने नर्सरी, किन्डरगार्टेन, मन्टेसरीका साथै बालबालिकाको शिक्षा क्षेत्रमा कार्यरतका लागि अति उपयोगी देखिन्छ । पुस्तक सरल र स्पष्ट भाषामा लेखिएकाले सामान्य साक्षरले पनि यसलाई सहजै बुझ्न सक्ने देखिन्छ ।
वास्तवमा पुस्तक बालसुधार संस्थाका लागि मात्र नभएर बालबालिकासम्बन्धी नीतिनिर्माणकर्ताका निम्ति पनि उपयोगी हुने देखिन्छ । बालबालिकाको शारीरिक र मानसिक समस्याबारे बढी सचेत हुने मातापिताका लागि पुस्तक उपयोगी छ । पुस्तक पढेर कतिपय कुरा घरमै निदान गर्न सकिने देखिन्छ ।