निशब्दभित्र र कहीँ एकान्तमा
समर्थन/विरोधका तुमुल घोषहरू
उर्लने गर्छन् हिजोआज ।
फगत म एक्लो : नयाँ महाभारत लड्दैछु
अश्वत्थामा, कर्ण र दुर्योधनहरू
मलाई चक्रव्यूहमा फसाउँदै अट्टहास हाँस्छन्,
विजयघोष गर्छन् हिजोआज
खै किन हो
स्वयंलाई समयभन्दा बलवान ठान्छन्
भविष्यभन्दा वर्तमान् बाँच्छन् उनीहरू
कुर्लेरै बाँच्छन्,
म मौन चुपचाप र चुपचाप
रमिता हेर्छु/अन्याय सहन्छु हिजोआज
म समय
हरेक क्षण/हरेक युग
यसरी नै अविरल बहिरहने गर्दछु
म त्यस्तै झुठ र मानवता विरोधी
युग हेर्दैछु हिजोआज
चेतन मान्छेभित्रकै अहङ्कारको
अघोषित युद्ध लड्दैछु हिजोआज ।