• ७ मंसिर २०८१, शुक्रबार

वायु प्रदूषणको असर

blog

वायु प्रदूषण दक्षिण एसियामा चर्को रूपमा देखिन थालेको छ। जैविक इन्धनबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा खनिजजन्य इन्धनको प्रयोगले वायुमण्डलमा कार्बडाइअक्साइड लगायतका वायुमण्डल प्रदूषित गर्ने ग्यासको प्रयोग बढ्दै गएको छ। हिउँदका याममा खासगरी मङ्सिरपछि

धान खेती उठाएर पराल खेतमै जलाउने भारतीय किसानकर्मले धुँवा वायुमण्डलमा बढी पुग्न थालेको छ। चिसो मौसम बढेपछि सूर्यको ताप कम हुन गई त्यस्तो प्रदूषण जमिन नजिकै रहने हुँदा वायु प्रदूषण अझ बढी देखिन थालेको छ। चिसोको मौसम बढ्ने क्रमसँगै वायु प्रदूषणको मात्रा उच्च हुँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढाएको छ।

अहिले राजधानी काठमाडौंँलगायत मुलुकका तराई क्षेत्रमा वायु प्रदूषणको चर्को समस्या देखापरिरहेको छ। यस्तो वायु प्रदूषण हटाउन हिउँदे वर्षा आवश्यक भए पनि अहिले त्यसको सङ्केतसम्म पनि देखिएको छैन। वर्षा तथा बतासले वायु प्रदूषणलाई सफा गर्न सहयोग पुग्ने भए पनि अहिले त्यसको सम्भावना देखिएको छैन। खासमा हिउँदे वर्षाले वायु प्रदूषणमा कमी आउनेछ र हिउँदे वर्षाको प्रतीक्षा गर्नुको विकल्प पनि देखिँदैन। वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा विविध खाले स्वास्थ्य समस्या देखापर्ने स्थिति भएकाले यस सम्बन्धमा सबैको सतर्कता तथा सावधानी अत्यन्त जरुरी देखिएको छ। 

वायु प्रदूषणको समस्या दक्षिण एसियासँगै विश्वव्यापी रूपमा नै निकै जटिल हुँदै गएको छ। बढ्दो सहरीकरणले सहरी जनजीवनमा वायु प्रदूषण झनै जटिल बन्दै छ। नेपालमा हालसम्म पनि हिउँदे वर्षा नभएको तथा आउँदा केही दिनभित्र पनि यसको सम्भावना नभएकाले वायु प्रदूषणको गतिमा तत्कालै नियन्त्रण नआउने विज्ञहरूको टिप्पणीले वायु प्रदूषणको असरबाट जोगिन अन्य वैकल्पिक उपायको खोजी गर्नुपर्ने भएको छ। चिकित्सकहरूले प्रात भ्रमण नगर्न, बालबालिका, बिरामी र वृद्धवृद्धालाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन्। वायु प्रदूषण नेपालको मात्र समस्या रहने। छिमेकी मुलुक पाकिस्तानदेखि भारत हुँदै बङ्गलादेशको राजधानी ढाकासम्म फैलिएको गङ्गा तटीय क्षेत्रमा रहेको उच्च वायु प्रदूषणको प्रभाव नेपालमा परेको छ। खासगरी तराई क्षेत्र तथा राजधानी काठमाडौँसम्म त्यस्तो प्रदूषण आइपुगेको छ। भारतीय राज्य पञ्जाब तथा हरियाणालगायतमा नयाँ कृषि बालीका निम्ति पराललगायतमा लगाइएको आगोको धुँवाको असरले नेपालमा वायु प्रदूषण बढोत्तरीमा सहयोगी भएको छ। भारत र राजधानी नयाँ दिल्लीसहित दसभन्दा बढी सहर सर्वाधिक प्रदूषित सहरका रूपमा चिनिन्छन्। निकटतम छिमेकी मुलुक वायु प्रदूषणका दृष्टिकोणबाट यस्तो दुर्दशापूर्ण स्थितिबाट गुज्रिरहेको अवस्थामा त्यसको धेरथोर प्रभाव नेपालमा पनि पर्ने निश्चित छ। 

केही हदसम्म भारतीय वायु प्रदूषणले नेपाललाई पनि प्रदूषित पार्न योगदान पु-याइरहेको तथ्यलाई नकार्न सकिँदैन। नेपालको हकमा राजधानी काठमाडाँैं सबैभन्दा प्रदूषित सहर बनेको छ। विशेषगरी बिहान र बेलुका यहाँ वायु प्रदूषणको मात्रा निकै उच्च रहने गरेको अध्ययनले देखाएको छ। यहाँका शङ्खपार्क,

खुमलटार, सल्लाघारीजस्ता क्षेत्र बढी प्रदूषित मानिएको छ। तराईमा शीतलहरका कारण वायु प्रदूषणको समस्या अझै तीव्र गतिमा अघि बढ्ने देखिन्छ। त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव मानव स्वास्थ्य अझ विशेष गरेर बालक अनि वृद्धका स्वास्थ्यमा पर्ने हुँदा जोगिनु पर्ने भएको छ। 

बढ्दो चिसोसँगै वायु प्रदूषणमा वृद्धि हुने भएका कारणले पनि पुस महिनामा अझै वायु प्रदूषण बढ्न सक्नेछ। चिसो मौसममा हुने आद्र्रता तथा धुँलोका कणको समिश्रण वायुसँग हुँदा प्रदूषणको सम्भावना बढी हुन्छ। यसर्थ पनि चिकित्सकले घाम नलागी प्रातः भ्रमणमा ननिस्किन आग्रह गरिरहेको तथ्य यहाँ स्मरणीय छ। घाम लागेपछि बिस्तारै तापले प्रदूषित वायु जमिनको सतहबाट माथि जाने वैज्ञानिक तथ्य छ। राजधानीलगायत मुलुकका विभिन्न क्षेत्रमा वायु प्रदूषणमा बढोत्तरी हुँदै गएको सन्दर्भमा हिउँदे वर्षा प्राकृतिक समाधान भए पनि समय यकिन छैन। प्रतीक्षा बाध्यता भएको छ। वायु प्रदूषणको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने भएकाले पनि यसबाट बच्ने उपायहरू अपनाउन 

बेवास्ता गरिनु हुँदैन। सम्बद्ध पक्षले पनि वायु प्रदूषणका कारण उत्पन्न हुन सक्ने मानव स्वास्थ्य समस्या समाधानका निम्ति आवश्यक प्रबन्धको व्यवस्था गर्नु उचित हुनेछ।