• १४ चैत २०८२, शनिबार

कर्णाली कोरिडोरको यात्रा

blog

सिमकोटबाट निस्किँदा बिहानको साढे छ बज्दै थियो । स्थलमार्ग हुँदै सुर्खेतका लागि हिँडियो । साथमा छोरी सहाना र बहिनी सुमित्रा अनि चालक भाइ ओम । एकै दिनमा सुर्खेत पुग्ने इरादा त थिएन । जहाँ पुगिन्छ, त्यहीँ बास बस्ने मनसाय बनाएर निस्कियौँ । ठाउँ ठाउँमा खाना खाजा खाँदै आराम गर्दै आउँदा पनि रातिको एघार बजे वीरेन्द्रनगर, सुर्खेत पुगियो । मेरा लागि यो यात्रा हर्ष र विस्मात् दुवै थियो । पहिलो यात्रा थियो । कौतूहलको विषय पनि थियो । यो ऐतिहासिक बाटोबाट यात्रा पनि ऐतिहासिक नै थियो । पहाडी अनकन्टार कठिन भुगोल छिचोल्दै बेँसी झर्दै थिएँ । बाटोमा पर्ने अनौठो भूगोलको सुन्दरता हेर्न पुलकित भएकी थिएँ । गौरवको आयोजनाको प्रगति पनि । 

सिमकोट बस्दा “बाटो धुलाम्य छ, कच्ची छ, साह्रै गाह्रो हुन्छ, बाटोमा गाडी बिग्रियो भने बनाउने ठाउँ छैन, बाटोमा बास बस्नका लागि राम्रो ठाउँ पाइन्न, भनेको ठाउँमा खाना खान पाइन्न, गाडीमा नजाउ, हवाईजहाजबाट जाउ” भन्ने धेरै सुझाव धेरै जनाबाट पाएकी थिएँ । मलाई भने यो बाटोबाट गुड्ने हुटहुटी पहिलेदेखि नै थियो । किनभने यो सडक कर्णालीका जनताको विकासको मेरुदण्ड हो । कर्णालीको सपना हो, सान हो र आयआर्जनको स्रोत पनि । स्थानीय बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्ने सपनाको डोरो हो । कर्णालीको आर्थिक र पर्यटन विकास प्रवर्धनको रूपरेखा हो । यहाँका बासिन्दाको खाद्यान्न, औषधी र दैनिक उपभोगका वस्तुमा पहुँच पु¥याउने एक मात्र आधारस्तम्भ हो । जीवन शाहीको विकासका लक्ष्यभित्रको प्रमुख सपना पनि हो ।

२०५० को दशकपछि नेपाल सरकारले उत्तर–दक्षिण सडक योजना अन्तर्गत कर्णाली कोरिडोर निर्माण गर्ने योजनाको सुरुवात ग¥यो । यसको मुख्य उद्देश्य कर्णालीका दुर्गम जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने र भारत र चीनसँगको व्यापारी मार्ग विस्तार गर्ने रहेको थियो । विशेषतः यसबाट कर्णालीका दुर्गम जिल्लालाई सडक सञ्जालमा जोड्नु नै हो । विशेष गरी हुम्ला । यसै सडकको माध्यमले राष्ट्रिय सडक सञ्जालमा जोडिएको नेपालको अन्तिम जिल्ला । प्रायः नेपालीको मुखमा झुन्डिने ‘हुम्ला जुम्ला’ । हुम्ला नै जुम्ला हो भन्ने बुझाइलाई पनि चिरफार गर्नु थियो । 

यो सडक बाँकेको जमुनाह नाका (भारत सीमा) देखि हुम्लाको हिल्सा (चीन सीमा) सम्म बगेको छ । यसको कुल लम्बाइ ५०५ किलोमिटर छ । कर्णाली प्रदेशबाट मात्रै भन्ने हो भने यो सडक सुर्खेत हुँदै दैलेख, कालिकोट, बाजुरादेखि हुम्लासम्म जोडिएको छ । कर्णालीका यी जिल्लामा गाडी गुडिरहेको भए पनि बाटोको राम्रो विकास भने हुन सकेको छैन । सडकको स्तर राम्रो नभएकै कारण कर्णाली राजमार्गलाई मृत्यु मार्गको नामले नामकरण गरियो । हुम्ला जिल्ला त झन् अहिलेसम्म सडकको पहुँचबाट टाढै थियो । कर्णाली कोरिडोरले यसलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सङ्कल्प बोकेको थियो । 

यी सबै कुरालाई मध्येनजर गर्दै २०६० को दशकतिर यो सडक (कर्णाली कोरिडोर) खोल्ने काम सुरु भएको हो । विभिन्न कठिनाइका बावजुद काममा अवरोध उत्पन्न भइरह्यो । चाहे जस्तो प्रगति हुन सकेन । यो क्षेत्र भौगोलिक हिसाबले निकै कठिन भएकाले काम गर्न सजिलो छैन पनि । कडा चट्टान काटेर सडक बनाउनुपर्ने थियो । वर्षा यामको पहिरो र बाढीले बनाएको सडक रातभरिमै निमिट्यान्न पारी दिन्थ्यो । अर्को वर्ष फेरि नयाँ थालनी । आधुनिक उपकरणको सहजता थिएन । बाहिरबाट सामान लैजानलाई पनि समस्या थियो । मुस्किलले हेलिकोप्टर र खच्चरबाट निर्माण सामग्री ओसारिन्थ्यो र काम गरिन्थ्यो । काम पनि भइरहने र प्रगति पनि नहुने देखिएपछि कोरिडोरको काम नेपाली सेनाको हातमा थमाइयो । अन्त्यमा नेपाली सेनाबाट यो सडकको काम अगाडि बढ्यो । सेनाले यो बाटो बनाउने कामका ठूलो भूमिका खेल्यो र नतिजामा पुग्यो पनि । सायद सेनाले ठुलो अठोटका साथ काम नगरेको भए आज कर्णाली कोरिडोरको ट्र्याक खोलिने थिएन । यो दुर्गम र जोखिमपूर्ण क्षेत्रमा काम गर्न जो कोहीका लागि सजिलो पनि थिएन । विस्फोटक पदार्थ र हेलिकोप्टरसम्मको पहुँचका कारण सेनालाई अन्य पक्षलाई भन्दा काम गर्न सजिलो थियो र सफल पनि भयो ।

जीवन शाहीका विकास लक्षका पाँच वटा ‘ब’ मध्येको मुख्य ‘ब’ बाटो नै हो । उनको मुख्य लक्ष्य भनेको हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नु थियो । कर्णाली कोरिडोर त्यसका लागि महत्वपूर्ण माध्यम थियो । त्यसैले उनले यो विषयमा निकै चासो देखाएर काम गरेका थिए । यो सडक उनको पहिलो प्राथमिकता भित्र पथ्र्याे । उनले कोरिडोर निर्माणका लागि केन्द्रसँग गरेको राजनीतिक पहल, आवश्यक बजेट र योजना व्यवस्थापनमा खेलेको भूमिका, हुम्लालाई सडक सञ्जालसँग जोड्ने उनको छटपटीलाई मैले नजिकैबाट देखेकी थिएँ र महसुस पनि गरेकी थिएँ । त्यसैले कर्णाली कोरिडोरको परिवेशमा स्थानीयको आवाज राष्ट्रिय स्तरसम्म पु¥याउने कुरामा उनले कहिल्यै कन्जुस्याइँ गरेनन् । सेनाले यो काममा हात हाल्नुमा पनि उनको ठुलो पहल छ । संसद् र सरकारमा कर्णाली क्षेत्रको समस्या बारम्बार उठाउँदै सडक नै विकासको मेरुदण्ड हो भन्नेमा वकालत गर्न कहिले पनि थाकेनन् । आज केही हदसम्मै भए पनि उनको सपना लक्ष्य नजिक पुग्यो । 

बाटोको स्तरोन्नतिको काम धमाधम चलिरहेको छ । सडकको ठाउँ ठाउँमा एक्साभेटर प्रशस्तै भेटिन्छन् । कोही भित्तो खन्छन्, कोही ढुङ्गा फुटाउँछन्, कोही माटो सार्छन्, कोही खाल्डो पुर्छन्, कोही सडक सम्याउँछन् त कोही मेसिन उचाल्छन् । ग्याबिन बाँध्ने, दायाँबायाँका पर्खाल लगाउने, बाटो चौडा बनाउने काम जारी छ । बाजुराभन्दा माथिको बाटो राम्रो छ । चौडा र सम्म पनि । अलिकति सम्याएर रोलर लगायो भने ग्राबेलिङ जस्तै बन्ने पक्का छ । जब कालिकोटको पताल झरना सुरु हुन्छ त्यहाँभन्दा तलको बाटोको रूपरङ्ग बिग्रिन्छ । बाटो साँगुरो र उबडखाबड छ । दोहोरो गाडी पास हुन कठिन छ । यो क्षेत्रको बाटो चौडा बन्यो भने सुर्खेतदेखि सिमकोटसम्मको यात्रा एक दिनमै आरामले गर्न सकिन्छ । 

सुर्खेतदेखि नै कर्णाली नदीलाई पछ्याउँदै उभो लाग्छ कर्णाली कोरिडोर । कर्णाली कोरिडोर केवल सडक मात्र होइन, कर्णालीका बासिन्दाको जीवन परिवर्तन गर्ने विकासको आधार हो । यसले यो क्षेत्रको व्यापार विस्तार गर्छ । यहाँका जडीबुटी, स्याउ, सिमी (स्थानीय उपज) ले बजारको सहजता दिन्छ । यहाँको पर्यटन विकासलाई थप मलजल गर्छ । रारा, मानसरोवर, नाम्खाखेमजोङ, रलिङ, खार्पुनाथ, दुधेदह, लडेदह पतालझरनालगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रवर्धन गर्न सकिन्छ । उत्तर–दक्षिणको यातायातलाई पनि सहज बनाउँछ । पिठिउँका भारी हटाउँछ । 

अहिले सडक बनेकै कारण हुम्लाको सर्केगाड बजारमा पाउने दैनिक उपभोग्य वस्तुको भाउ र काठमाडौँको बजारको भाउ लगभग उस्तै छ । चिनी, चामल, साबुन, तेल जस्ता वस्तु आधाभन्दा पनि सस्तो मूल्यमा पाइन्छन् । प्रतिकिलो चिनीको मूल्य सुर्खेतमा ११५ रुपियाँ छ भने सर्केगाडलगायतका हुम्लाका साना बजारमा १५० मा किन्न पाइन्छ । बाटो पुग्नुभन्दा अगाडि सिमकोटमा चिनीको भाउ तीन सय रुपियाँ थियो । कुनै दिन सिमकोटमा एक ब्याग सिमेन्ट (५० किलो) को १० हजार पथ्र्याे । अहिले आएर दुई हजारमा किन्न पाइन्छ । चाउचाउ त झन् तलैको मूल्यमा पाइन्छ । 

कुनै बेला थियो । चाडपर्वमा भात खानका लागि पाँच किलो चामलको चिट माग्न नेताको घर धाउनुपथ्र्याे । सिडियोको ढोका ढकढक्याउनु पथ्र्याे । धर्ना दिनुपथ्र्याे । सरकारी खाद्य गोदामको हाकिमले चयनले बाँच्न पाउँदैनथ्यो । पाँच किलो चामल लिन दुई तीन दिनको पैदल यात्रा हिँड्नु पथ्र्याे । अहिले जुनसुकै गाउँठाउँमा जति खोजे पनि चामल फालाफाल पाइन्छ । यति मात्रै होइन कस्तो किसिमको चामल किनेर खाने भन्ने रोजाइ पनि । यो सबै पाङ्ग्रा गुड्न थालेको उपज हो ।