• १४ चैत २०८२, शनिबार

हिमाली क्षेत्रमा चौँरी संस्कृति

blog

माथि माथि शैलुङ्गेमा 

चौँरी डुलाउनेलाई...

गीतमा मात्र होइन, हिमाल र चौँरीको महत्व अनि महिमा नेपाली पर्यटनमा छ । नेपालमा पर्यटक लोभ्याउने सम्पदा हो– हिमाल । हिमाली जनजीवन, मूर्त तथा अमूर्त सम्पदा र संस्कृतिले विश्वका पर्यटक तानिरहेको छ । त्यसमा चौँरीको भूमिका महत्वपूर्ण मानिन्छ ।

हिन्दु र हिमाली संस्कृतिमा चौँरीको धार्मिक महत्व पनि छ । याक चौँरीको दुध, घिउ, नौनी, छुर्पी, गहुँत, गोबर, चमर आदि धार्मिक अनुष्ठानमा महìवसाथ प्रयोग गरिन्छ । चौँरीको घिउ पितृकर्म गर्नका लागि र धार्मिक अनुष्ठानमा निकै मूल्यवान् मानिन्छ । 

पूर्वमा इलाम, पाँचथरदेखि पश्चिममा बझाङ, दार्चुलासम्म तिब्बतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा याक चौँरीपालन रहेको छ । यस क्षेत्रमा याक चौँरीपालन संस्कृति पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ । हिमाली क्षेत्रको पहिचानकै रूपमा याक चौँरी रहेका छन् । याक चौँरी हिमाली क्षेत्रका अलङ्कार  तथा विभूषणका रूपमा रहेका छन् । लेकाली क्षेत्रमा पुग्ने जोकोही पर्यटक याक चौँरीसँग फोटो खिच्न र सार्वजनिक गर्न रुचाउँछन् ।

चौँरीको छुर्पी चपाउँदै

भेडा र च्याङ्ग्रा धपाउँदै

हामी जस्तो झिल्केलाई छल पारी

कता हो मैच्याङको सवारी

चौँरीबाट चौँरी जन्मदैन । चौँरी उत्पादनका लागि याक, नाक अनिवार्य नै चाहिन्छ । याक, नाक, स्थानीय गाई र बहरको क्रस नै चौँरी हो । भालेलाई याक र पोथीलाई नाक भनिन्छ । नाकलाई स्थानीय बहरसँग क्रस गराएर डिम्जो चौँरी उत्पादन हुन्छ । स्थानीय गाईलाई याकसँग क्रस गराएर उराङ चौँरी उत्पादन हुन्छ । चौँरीको भालेलाई झोपा भनिन्छ । झोपा नपुंसक हुन्छ । पोथीलाई झुमा भनिन्छ, यो उत्पादनशील हुन्छ ।

याकको उत्पत्ति परापूर्वकालमा तिब्बतको क्विङ्गहाईमा भएको हो । सुरुमा यसलाई घोडा पुच्छ«े भैँसी भन्थे । करिब ३० लाख वर्षअघि हिमालको उत्तरी भिरालोमा याक देखा परेको थियो । करिब चार हजार पाँच सय वर्षअघिदेखि याकलाई घरपालुवा जनावरका रूपमा उपयोग गर्न थालिएको अनुमान गरिन्छ । सहनशक्ति बढी हुने, प्रतिकूल मौसममा रहन सक्ने, चिसो र तातोको प्रतिरोध शक्ति भएको, स्थानीय वातावरणमा राम्ररी हुर्कन सक्ने, उपयुक्त आकार, बहुउद्देशीय उपयोगिता, रोग निरोधात्मक शक्ति, कम लगानीमा पालन गर्न सकिने याक, चौँरीका मुख्य विशेषता हुन् ।

सामान्यतया समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिको उचाइमा याक, नाकपालन र चौँरीपालन पच्चिस सयदेखि तीन हजार मिटरसम्म गरिन्छ । डिम्जो चौँरी तीन हजार मिटरभन्दा माथिसम्म गएर पनि चर्न सक्दछ । उराङ चौँरी दुई हजार मिटर तलसम्म आएर चर्न सक्दछ । 

चौँरी गाईको दुध 

नखाई नखाई सेलायो

नजानेसी के लायो

सामान्यतया चौँरी भन्नाले हिमाली क्षेत्रमा पालन गरिने याक, नाक, चौँरीलाई जनाउँछ । नेपालको हिमाली भेग तथा उच्चपहाडी क्षेत्रमा पाइने याक, नाक, चौँरी, झोपा, झुमा, चौँरी गोठ, गोठस्टे, चौँरी बथान, चौँरी खर्क, चौँरीका दुधबाट भएका उत्पादन, चौँरी गोठालो त्यस क्षेत्रका सौन्दर्य हुन् । याक, नाक, उराङ चौँरी, डिम्जो चौँरी, झोपा, झुमा, फोम्जो, तोले विभिन्न जाति तथा प्रजाति रहेका छन् । चौँरीबाट दुध, दही, नौनी, चिज, छुर्पी, घिउ उत्पादन मुख्य हुन् । यसको रौँबाट चमर, लिउ, राडी, पाखी, पश्मिना, गलैँचा, याक फाइबर, याक उन, डोरी, त्रिपाल र छालाबाट बेल्ट, झोला, पर्स आदि बनाइन्छ । झोपा चौँरीलाई खेत जोत्ने र भारी बोक्ने काममा लगाइन्छ । चौँरीको छुर्पी, याक चिज, घिउको अन्तर्राष्ट्रिय बजारसमेत छ ।

उकालीमा जाँदाजाँदै दाहिने प¥यो बर

एक्लै वनमा गाई चराउने कहाँ तिम्रो घर

साइली रिमै चौँरी गाई

झ¥यो रिमै मधु वनैमा

हिमाली क्षेत्रको सुन्दरता जति हे¥यो त्यति हेरिरहुँ हुने भएकाले हिमालको मणि भनेर पनि चौँरीलाई चिनिन्छ । हिमाली क्षेत्रमा बसोबास गर्नेले चौँरीपालन माध्यमबाट आयआर्जन गरिरहेका छन् । पर्यटकलाई लोभ्याउनसमेत चौँरीको भूमिका महìवपूर्ण मानिन्छ ।

याक चौँरीपालन हिमाली क्षेत्रको मौलिक संस्कृति र परम्परा हो । मुस्ताङ र म्याग्दी जिल्लाको चौँरी खर्कमा वर्षको दुई पटक साउन र फागुनमा आलो रगत निकाली बिक्री गरिने परम्परा नै छ । 

विभिन्न भेगमा चौँरी महोत्सव गरिन्छ । पाँचथर जिल्लाको चारतारेमा वैशाख १ गते चौँरी महोत्सव गरिन्छ । सुर्केथाम दुग्ध सहकारी संस्थाले २०७४ सालदेखि महोत्सव लगाउँदै आएको छ । महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता लोभलाग्दो हुने गर्छ । 

आम्जी र आलो रगत

आलो रगत पिउने महोत्सव खास गरी तिब्बत र मुस्ताङबाट सुरु भएको मानिन्छ । तथापि म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वारको लहरेनी र खोप्रालेकमा पनि यो चलन छ । पशुलाई नमारिकन घाँटीको जुगलर भेनबाट आलो रगत निकालेर तुरुन्तै खाने चलन हिमाली क्षेत्रमा छ । जुगलर भेनबाट रगत निकाल्ने चापो एक विशेष किसिमको छुरा वा चक्कु हुन्छ । रगत निकाल्ने सिपालु व्यक्तिलाई आम्जी भनिन्छ । आम्जी– हिमाली भेगको उपचार पद्धति हो । आम्जीले जडीबुटी, खनिज, तान्त्रिक विद्या र अकुपन्चर प्रयोग गरी रोगको उपचार गर्ने गर्छन् । 

आम्जी स्थानीय वैद्य हुन् । आम्जीले गर्ने उपचार पद्धति प्राकृतिक उपचारका रूपमा लिने गरिन्छ । याकको आलो रगत पिउनु पनि प्राकृतिक उपचार पद्धति अन्तर्गत मानिन्छ । एउटा वयस्क याकको शरीरबाट १० देखि १५ गिलास रगत निकाल्दा पशुको शरीरमा कुनै असर नपर्ने स्थानीय बताउँछन् । रगत निकालेपछि रगत र माटोले घाउ टालिन्छ र चौँरी छोडिन्छ । 

नेपालका शेर्पा जातिको पुख्र्यौली पेसाका रूपमा याक चौँरीपालन रहेको छ । त्यसो त हिमाली क्षेत्रमा बस्ने अन्य जातिले पनि याक चौँरी पालेको पाइन्छ । हिमाली क्षेत्रका ३० जिल्लामा ७१ हजार ९१३ (कृषि तथा पशुपन्छी डायरी २०८२) सङ्ख्यामा याक चाैँरी रहेको छ । दुग्ध विकास संस्थान अन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ, गत्लाङ, धुन्चे, थुमन, टिमुरे, रामेछाप जिल्लाको चोर्दुङ, सोलुखुम्बुको पिके र दोलखा जिल्लाको चैखुमा याक चिज कारखाना सञ्चालनमा रहेका छन् ।

सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका–४, स्याङबोचेमा २०३० वैशाख ७ गतेदेखि चौँरी फार्म सञ्चालनमा छ । सुरुमा चौँरी फार्म, याक फार्म, याक विकास फार्म हुँदै हाल याक आनुवांशिक स्रोत केन्द्र स्याङबोचेको नामबाट सञ्चालनमा रहेको छ । यसले याक उत्पादन गर्ने भएकाले चौँरीको विकासमा टेवा पुग्ने र सिमेन उत्पादन गरी सेवा विस्तार गर्न सकेमा निकै ठुलो सम्भावना भए पनि खासै काम हुन सकेको छैन । फार्म सिड र ब्रिड जोगाउनका लागि गरिएका प्रयास हुन् । नेपाल सरकारले २०८२ सालदेखि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउन थालेको छ ।