सिराज खान
नेपालगञ्ज, चैत १४ गते । नेपालगञ्जमा सञ्चालन भएको मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ज्योति स्पोर्ट्स एकेडेमीले जितेको छ। प्रतियोगिताको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेलमा एकेडेमीले नेपालगञ्ज च्याम्प्सलाई अन्तिम ओभरमा ३ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२८ रनको योगफल तयार पारेको थियो। सो क्रममा शुभेन्दु पाण्डेले ३६, अजय साहनीले ३४ र अभिनेश शाहले २२ रनको योगदान दिएका थिए। नेपालगञ्ज च्याम्प्सका बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै विपक्षीलाई ठूलो स्कोर बनाउन दिएनन्।
१२९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालगञ्ज च्याम्प्सले राम्रो सुरुवात गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा १२६ रनमै सीमित भयो। टोलीका लागि सम्सुदिन अन्सारीले ७३ रनको उत्कृष्ट इनिङ खेलेर अन्तिमसम्म संघर्ष गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
खेलको अन्तिम ओभरसम्म नतिजा अनिश्चित बनेको थियो। जितका लागि अन्तिम क्षणसम्म प्रयास गरे पनि नेपालगञ्ज च्याम्प्स २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमै रोकियो र ३ रनले उपाधि गुमायो।
ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरूले निर्णायक समयमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेका थिए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शनका लागि ज्योति स्पोर्ट्सका रविश वर्मालाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै पुरस्कृत गरिएको थियो।