सन्तोष दहित
दाङ, चैत १४ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थप्दै गएपछि यहाँ सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । दैनिक करिब एक हजार बिरामी उपचारका लागि प्रतिष्ठान पुग्ने गरेका छन् ।
यसै क्रममा बिरामीको सेवालाई ध्यानमा राख्दै प्रतिष्ठानले शुक्रबार आयोजना गरेको वृहत् क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब तीन सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । एकदिने शिविरमा मेडिसिनतर्फ २१ जना, गायनोतर्फ १९३ जना र सर्जरीतर्फ ७२ जनाले सेवा लिएका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले क्यान्सर सेवा सुरु गर्ने पहल गरिरहेको छ र यस्ता शिविरहरूले क्यान्सरका बिरामी पहिचान तथा उपचारमा सहजता ल्याउने विश्वास गरिएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ठुलो सङ्ख्यामा बिरामी लाभान्वित भएको पनि लम्सालले बताउनुभयो । शिविरमा क्यान्सर अस्पताल र प्रतिष्ठानका विभिन्न विभागका विशेषज्ञ चिकित्सक तथा कर्मचारी परिचालन गरिएको थियो ।
क्यान्सर अस्पतालबाट मेडिकल अंकोलोजिस्ट डा. बिबेक कडेल, ब्रेस्ट सर्जन डा. अनुप भट्टचन, युरोलोजिस्ट डा. बोधराज गौतम र गायनो अंकोलोजिस्ट डा. अस्मिता ओलीले सेवा दिनुभएको थियो ।
प्रतिष्ठानमा क्यान्सरसम्बन्धी यो पहिलो र ठुलो शिविर हो । क्यान्सर उपचार सेवा सुरु गर्न प्रतिष्ठान र क्यान्सर अस्पतालबीच यसअघि भएको सम्झौता अनुसार शिविर आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रा. लम्सालले बताउनुभयो। शिविरमा महिलाहरूको पाठेघर, स्तन र योनि सम्बन्धी क्यान्सर परीक्षण गरिएको थियो । पाठेघरमा समस्या भएका, स्तनमा गाँठो देखिएका, योनि चिलाउने वा घाउ भएका महिलाहरूले विशेष रूपमा सेवा लिएका थिए ।