अधिकृतमा नाम निस्किएपछि पूर्वसेवाकालीन तालिम लिएर कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुतर्फ लागेको थिएँ । त्यो समय २५ वर्षअघिको हो । कृषि विकास बैङ्कको मुगु जिल्लाको शाखा प्रबन्धक भएर जानु मेरा निम्ति अवसर त छँदै थियो सँगसँगै चुनौती पनि ।
घरको जेठो छोरा भएकाले बुवाआमाप्रतिको कर्तव्य, भाइबहिनीको पढाइ र श्रीमती तथा सानो बच्चाको जिम्मेवारीले काठमाडौँ चटक्क छोडिहाल्न त्यति सजिलो थिएन । आफ्नो भौतिक उपस्थितिबिना यी कुरामा केही कमीकमजोरी हुन जाने हो कि भन्ने चिन्ता पूर्णरूपेण निराकरण हुने अवस्था थिएन । तथापि ठुलो प्रयत्नपछि प्राप्त जागिरप्रतिको मोह र महत्व त त्यत्तिकै बलशाली थियो । जसले मलाई मुगुतर्फ प्रस्थान गर्ने निर्णयमा पु¥याएको थियो । त्यसो त त्यो मेरो मात्र खुसीको कुरा नभएर मसँगै मेरा परिवार र आफन्तको आशीर्वाद, माया र सद्भावले पनि उत्तिकै प्रेरकको भूमिका निर्वाह गरेको थियो ।
प्युठानबाट काठमाडौँ आएपछि उच्च शिक्षाको अध्ययन सँगसँगै सानोतिनो जागिर पनि चलिरहेको अवस्थामा बैङ्किङ सेवातर्फको नयाँ यात्रा सुरु भएको थियो । त्यसमाथि मुगु जिल्ला भनेको दुर्गम हिमाली क्षेत्र, यातायात र सञ्चारको राम्रो विकास नभएको अवस्थामा काठमाडौँ र आफन्तबाट धेरै टाढा बस्नुपर्ने अवस्था थियो । त्यसमा पनि द्वन्द्वको अवस्था अनि बैङ्किङ सेवाको सुरुमै शाखाको जिम्मेवारी वहन गर्नुपर्ने स्थितिले मनमा एकखाले खिचडी पाकिरहेको थियो । विसं २०५७ सालको मङ्सिर महिनामा काठमाडौँमा चिसो बढिसेकेको थियो । मुगु त झन् हिमाली जिल्ला त्यसै चिसो बढी हुन्छ भन्ने अड्कल अनुसार तयारी गरियो । न्यानो कपडाले भरिएको झोला भिरेर बुद्ध एयरको विमानबाट नेपालगन्जतर्फ प्रस्थान गरेँ ।
काठमाडौँबाट उडेपछि विमानले जति जति उचाइ लिँदै जान्थ्यो यता मेरो मनमा नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ जिम्मेवारीप्रतिको अनेकौँ सोचसँगै उति उति नै उत्सुकता र संशयका लहर तरङ्गित भइरहेका थिए । केही समयपछि नेपालगन्ज विमानस्थलमा विमान अवतरण ग¥यो र कर्णालीतर्फको मेरो यात्रा सुरु भयो ।
नेपालगन्जबाट मुगु पुग्ने दुई वटा विकल्प थिए । एउटा नेपालगन्जबाट सुर्खेतसम्म बसमा गएर त्यहाँबाट पैदलयात्रा गरी मुगु पुग्ने । अर्को विकल्प थियो, खाद्यान्न ढुवानी गर्ने हेलिकोप्टरमा चाँजोपाँजो मिलाएर जाने किनभने त्यस समयमा मुगुमा हवाई यातायातको सुविधा थिएन । नेपालगन्जदेखि मुगुसम्मको पैदलयात्रा त्यति सहज थिएन । त्यसैले भोलिपल्ट खाद्य संस्थानको चामल ढुवानी गर्ने हेलिकोप्टरमा जाने व्यवस्था मिलाइयो । त्यस दिन कृषि विकास बैङ्कको तत्कालीन सुनिका, धम्बोजीमा रहेको अतिथिगृहमा बसियो ।
भोलिपल्ट चामलका बोरामाथि बसेर हेलिकोप्टरमा मुगुतिर उड्ने कुरा अर्को रोमाञ्चकारी पाटो थियो । नेपालगन्जबाट हेलिकोप्टरमा उड्दा तल फैलिएका तराईका हरियाली मैदान, बिच बिचमा देखिने खोलानाला, पहाड र मनमोहक हरिया चौरका दृश्यले मनलाई निकै आकर्षित गरिरहेका थिए । करिब एक घण्टाको उडानपछि हेलिकोप्टर मुगुको सदरमुकामस्थित महाकाली उच्च माध्यमिक विद्यालयकोे खेलमैदानमा अवतरण ग¥यो । किनकि त्यतिबेला ताल्चा विमानस्थल बनिसकेको थिएन । गमगढी सानो तर सुन्दर बजार वरिपरि फैलिएका पहाड, हरिया वनजङ्गल, डाँडाकाँडा, खोल्साखोल्सी आदि देख्दा प्रथम गोचरमै रमाइलो लाग्यो । हिमाली जीवनको छुट्टै प्रकारको जनजीवन र प्राकृतिक स्वरूपमा देखिने ससाना बस्तीले त्यो स्थान अत्यन्तै शान्त र आकर्षक देखिन्थ्यो ।
जिल्ला सदरमुकाम गमगढी सानो बजार भएकाले हेलिकोप्टर अवतरण गरेको मैदानबाट करिब पाँच/सात मिनेटको पैदल दुरीमा कार्यालय पुग्न सकिने रहेछ । त्यतिबेला मुगुमा आधुनिक सुविधा अत्यन्त सीमित थिए । मोटर गुड्ने सडक थिएन । मोबाइल र इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । साँझमा कहिलेकाहीँ केही घण्टा मात्रै सोलार बत्ती बल्थ्यो । सञ्चार सम्पर्कका लागि भिस्याट टेलिफोन, छिट्पुट मात्रामा केही घरमा रहको टेलिभिजन थिए । रातको समयमा बिजुली नभएकाले टुकीको उज्यालोमा सिङ्गा बस्तीहरू निकै शान्त र मौन देखिन्थे । त्यतिबेला मुगुमा शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र अन्य विकासका अवसरहरू अत्यन्तै सीमित थिए । राज्यबाट प्राप्त हुने सेवा र विकास जनताको अपेक्षा अनुसार हुन सकेको थिएन । जनताका आकाङ्क्षा सीमित थिए तर ती पनि अधुरै थिए । राज्यबाट उपलब्ध सेवा र विकासले जनताको अपेक्षासँग मेल खान नसकेका कारण जनतामा असन्तोष र निराशा देखिन्थ्यो । ग्रामीण जीवनमा जीवन सहजीकरणका लागि आवश्यक अवसरको कमी थियो । रोजगारी अभाव र पूर्वाधार विकास भइनसकेको कतिपय स्थानमा माओवादीको प्रभाव देखिन थालेको थियो । असन्तोष र उपेक्षाका कारण परिवर्तनको आशामा माओवादी आन्दोलनप्रति जनताको आकर्षण बढिरहेको थियो । जसका कारण गाउँघरमा सुरक्षा चुनौती थपिँदै गएका थिए ।
घरायसी सामान किन्न सजिलो थिएन । उदाहरणका लागि किचनमा प्रयोग हुने प्रेसर कुकर जस्ता सामान बजारमा सजिलै किन्न पाइँदैनथे किनकि त्यस्ता वस्तुहरू बम बनाउन प्रयोग हुन सक्छन् भन्ने आशङ्का सुरक्षा निकायमा थियो । त्यसैले यस्ता वस्तु बिक्रीमा कडाइ गरिएको थियो । रातको समयमा अझ बढी सतर्कता अपनाउनुपर्ने अवस्था थियो । राति टर्च बालेर घरबाहिर निस्कनु पनि निकै जोखिमपूर्ण मानिन्थ्यो ।
कृषि विकास बैङ्क, मुगु शाखाको कार्यक्षेत्र सिङ्गो जिल्ला थियो । जिल्लाभरिका किसान, व्यवसायी र नागरिक कर्जा माग गर्न कार्यालयमा आउने गर्थे तर लगानीयोग्य रकमको अभाव एवं धितो तथा परियोजना निरीक्षण गर्न फिल्डमा जान सक्ने अवस्था थिएन । त्यसैले राम्रा परियोजनासमेत कर्जा लगानी गर्न सहज अवस्था थिएन । केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी त मनमा थियो तर त्योभन्दा ठुला समस्याका पहाड थिए ।
बैङ्कबाट लिएको कर्जा हाम्रो सरकार आयो भने मिनाहा गरिदिन्छौँ, भन्ने हल्ला गाउँ गाउँमा फिजाइएको पाइन्थ्यो । त्यसैले कर्जाको साँवाब्याज असुल गर्न निकै कठिनाइ थियो । असुलीको कानुनी प्रक्रिया अघि बढाउँदा विभिन्न क्षेत्रबाट डर, धम्की एवं चुनौती आउँथ्यो तर त्यसको वस्ता नगरी धितो लिलामीसम्बन्धी सूचना प्रकाशित गरी आवश्यक कानुनी प्रक्रिया गरी कर्जा असुली कार्य गरिएको थियो ।
ग्रामीण परिवेशमा सामाजिक सम्बन्धलाई सन्तुलन राख्दै काम गर्नु निकै नै चुनौतीपूर्ण थियो । तथापि बैङ्कको वित्तीय अनुशासन कायम राख्न पनि यी कदम अपरिहार्य थिए । त्यस्तो बेला कार्यालयको जिम्मेवारी र सिङ्गो बैङ्कको उन्नति प्राथमिकतामा पर्नु स्वाभाविकै हुन्थ्यो ।
मुगु बसाइका क्रममा अनेकौँ चुनौतीबिच कार्यालयमा कार्यरत अन्य साथीको समर्थन र सहयोग मेरा लागि सबैभन्दा ठुलो सहारा बन्यो । बैङ्कका सहकर्मी साथी तोर्चीजी, गगनजी, विष्णु दाइ, गोकर्ण तथा सानो भाइलगायतको सहयोग र आत्मीयता आजसम्म पनि बिर्सिन सकेको छैन । त्यसै गरी जिल्लास्थित कार्यालयका कार्यालय प्रमुखको माया एवं सद्भाव सम्झिँदा अहिले पनि खुसी लाग्छ । ग्राहकसँगको आत्मीय सम्बन्धको कुराले पनि त्यो समयलाई झन् स्मरणीय बनाउँछ र सम्झँदा मन आनन्दित हुन्छ ।
बिहान सबेरै उठेर साथीसँग खाद्य गोदामनजिकै रहेको ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन खेल्ने गर्दथ्र्यौं । कहिले सरुवाको आशामा सरुवा ढुङ्गासम्म पैदल हिँड्ने । यसरी खेल्दा तथा पैदल हिँड्दा शरीर तात्थ्यो र मन उत्साहले भरिन्थ्यो ।
बिदाका दिनमा फुर्सदको समयमा साथीहरू राराताल घुम्न जाने योजना बनाउँथ्यौँ । अनुपम प्राकृतिक सुन्दर निलो पानीले भरिएको विशाल राराताल वरिपरि फैलिएको हरियाली जङ्गल र टाढा टल्किरहेका हिमालका दृश्यले मनलाई अत्यन्त शान्त र आनन्दित बनाउँथ्यो । त्यहाँ पुगेपछि जोकोही पनि मुर्माटप पुग्न लालाहित हुन्थे । त्यसैले हामी पनि कहिलेकाहीँ त्यहाँसम्म पुग्थ्यौँ । त्यहाँबाट हेर्दा राराताल निलो ऐना जस्तो चम्किरहेको देखिन्थ्यो ।
राराताल नेपालको सबैभन्दा ठुलो र अत्यन्त सुन्दर ताल हो । समुन्द्र सतहबाट करिब २,९९० मिटर उचाइमा रहेको त्यस तालको स्वच्छ वातावरण, शान्त प्रकृति र मनमोहक दृश्य हेरेर कहिल्यै अघाइँदैन । त्यहाँको प्राकृतिक सौन्दर्यले जोसुकैलाई दैनिक कामको थकान बिर्साइदिने र मनलाई थप ऊर्जा दिने अनुभव गराउँछ ।
करिब तीन वर्षको मुगु बसाइ अनेक किसिमका अप्ठ्याराबिच सजिलैसँग बित्यो । बिचमा करिब तीन महिना परिवारसँग त्यहीँ बस्ने अवसर मिल्यो । दुर्गम ठाउँमा परिवारसँग बिताएका ती क्षण जीवनका अत्यन्तै अमूल्य र अविस्मरणीय सम्झनाहरू बने । आज ती दिनहरू सम्झँदा लाग्छ काठमाडौँबाट नेपालगन्ज हुँदै मुगु पुगेको त्यो यात्रा एवं त्यहाँ पुगेर सुरु गरिएको कृषि विकास बैङ्कको जागिर मलाई जीवनका धेरै पाठ सिकाउने महत्वपूर्ण अध्याय हो । ती अवसरले जीवनलाई अझ परिपक्व र अर्थपूर्ण बनाइदिएको छ भन्ने मलाइ लाग्छ । जागिर आफैँमा एउटा अवसर हो । त्यसले जुराइदिने यस किसिमका ठाउँको भ्रमण र बसाइ पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो ।