राष्ट्र र जनताका लागि आवश्यक पर्ने विधि निर्माण थलो संसद्को आफ्नै महत्व छ । जनताबाट निर्वाचित जनप्रतिनिधि संसद्मा पुगेर गहन विचार विमर्शमार्फत मुलुकका समस्या समाधान गर्न मूल कानुन संविधानसँग नबाझिने गरी ऐन कानुन बनाउँछन् । ती ऐन कानुनमार्फत मुलुकमा शान्ति र सुव्यवस्था कायम गरिन्छ । अहिले नवयुवा (जेनजी) पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न नयाँ कानुन बनाउनुपर्ने र पुराना कतिपय कानुन परिमार्जन एवं संशोधन गर्नुपर्ने अवस्था छ । मुलुकका आवश्यक केही जल्दाबल्दा कानुन यसअघिको संसद्मा विचाराधीन अवस्थामा छन् । ती सबैको अध्ययन गरेर तत्काल आवश्यक ऐन कानुन ढिला नगरी बनाउनु पर्छ । ऐन कानुन नभएर मुलुकमा अल्झिएको गाँठो फुकाउन ध्यान केन्द्रित गर्नु पर्छ । यस पटक युवापुस्ताको बाहुल्य रहेको प्रतिनिधि सभा बन्दै छ । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा युवापुस्ताको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिट ल्याएर शक्तिशाली सरकार बनाउने तयारीमा जुटेको छ । रास्वपाले अब प्रतिनिधि सभाबाट बिनाअवरोध आवश्यक ऐन कानुन बनाउन सक्छ । उसले यो ऐतिहासिक अवसरलाई देश र जनताको हितमा प्रयोग गर्नु पर्छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको तयारी गरिँदै छ । सिंहदरबार परिसरमा संसद्को आफ्नै भवन बन्दै छ । यस पटकदेखि यही भवनमा सांसदहरूको शपथग्रहण र संसद् अधिवेशन गर्ने तयारी गरे पनि अन्तिम काम पूरा भएको छैन । निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदहरूको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो । बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । नवनिर्वाचित सांसदहरूको शपथ यही चैत १२ गते गराउने कार्यक्रम अनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिएको छ । सांसदहरूको शपथ र संसद् अधिवेशन सञ्चालनका लागि तयार पारिएको अस्थायी कक्षको काम भने लगभग पूरा भएको छ । प्रतिनिधि सभाको छुट्टै बैठकका साथै आवश्यकता अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको समेत संयुक्त बैठक सञ्चालन गर्ने गरी सो कक्ष तयारी गरिएको छ ।
सभामुखको कार्यकक्षसमेत तयार भइसकेको छ । सभाकक्षभित्र प्रतिनिधि सभा सदस्यलगायत आवश्यक सबैका लागि सिट व्यवस्थापन र फर्निचर व्यवस्थापनको काम गरिएको छ । २०६४ सालसम्म संसद्को बैठक सिंहदरबारस्थित पुतली बगैँचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवन बनाइएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट संसद् भवन पूर्ण रूपमा क्षतिग्रस्त भयो । सो भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न सक्ने अवस्था रहेन । सो भवन प्रयोग गरेबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको थियो । अहिले भने पाँच अर्ब रुपियाँभन्दा बढीको लागतमा सिंहदबार परिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । २०७६ असोज १ गते शिलान्यास गरिएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन ।
नवनिर्वाचित सांसदहरूको शपथग्रहणको तयारी सँगसँगै रास्वपा नयाँ सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् । नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रहणसँगै संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने र त्यसलगत्तै भोलिपल्ट चैत १३ गते नवनियुक्त प्रधानमन्त्रीको शपथ हुने कार्यक्रम छ । निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई परिमार्जन गर्दै छ । शाहको नेतृत्वमा सानो आकारको सरकार बनाएर मुलुकलाई सुशासन र शान्तिसहित नयाँ निकास दिई जनअपेक्षा सम्बोधन गर्ने ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा आएको छ ।