• ८ चैत २०८२, आइतबार

फर्कंदै नेपाली श्रमिक

blog

युद्ध मानव समाजको चाहना कहिल्यै भएन । युद्धले दिने नतिजा ध्वंस नै हो । दुई वटा महायुद्धले विश्व मानव समाजलाई युद्धप्रति वितृष्णा मात्र जगाएन, युद्ध रोक्न अनेक संस्थागत प्रयास भए । सभ्यताको उषाकालदेखि नै युद्धको विभीषिका भोगेको मानव समाजले यताका केही वर्षदेखि फेरि अनेक युद्ध सहनु परेको छ । रुसले युक्रेन अतिक्रमण गरेपछिको युद्ध होस् वा इजरायल र गाजाको युद्ध, आपूर्ति प्रणालीमा असन्तुलन भएकै थियो । यताको तीन सातादेखि अमेरिका, इजरायल एकातिर र अर्कातिर इरानबिचको युद्धले मूलतः पश्चिम एसिया युद्धको भुमरीमा परेको छ । विश्व आपूर्ति प्रणालीमा इन्धन अभावको मार पर्न थालेको छ । ग्यास अभाव भान्सामा छिरिसकेको छ । यो प्रभावसँगै पश्चिम एसियामा रहेका नेपाली श्रमिक असुरक्षित बन्ने जोखिम बढ्दै गएको छ । कतिपय श्रमिक धमाधम स्वदेश फर्कन थालेका छन् । असुरक्षाकै क्रममा इरानी सेनाका नियन्त्रणमा एक जना नेपाली पनि परेको खबर आएको छ । पश्चिम एसियाका कतिपय मुलुकमा युद्धको बाछिटा मात्र होइन, प्रभाव नै परेपछि नेपाल फर्कनु बाध्यता हो । नेपाल सरकारले स्वदेश फर्काउने प्रयास गरिरहेको छ । परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार यसरी नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलायन्स, फ्लाई दुबई, कतार एयरलायन्स र हिमालयन एयरलायन्सको विमानले सघाइरहेका छन् ।

श्रम गन्तव्य मुलुकमा सिधै आक्रमण नभए पनि युद्धको बादल चर्को गरी मडारिएको छ । अमेरिकी सैनिक अखडा, व्यापारिक भवन, अमेरिका दूतावास इरानी निशानामा परेका छन् । तेल भण्डार पनि युद्धको आक्रमणमा परेका छन् । यो अवस्था काम गर्न पुगेका श्रमिक फर्काउन नेपालले कूटनीतिक प्रयास पनि थालिसकेको छ । को कहाँ सुरक्षित र असुरक्षित छन् भनेर तथ्य सङ्कलन गर्ने कार्य भइरहेको छ । कन्सुलर विभागमा अनलाइन पोर्टल र मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरिएको छ । हालसम्म पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिनेको सङ्ख्या ८२ हजार एक सय हाराहारी पुगेको जनाइएको छ । त्यसमा छ हजारले आफू असुरक्षित महसुस गरेको जानकारी दिएका छन् । त्यसमध्ये पनि केहीले अवस्था सुधार हुँदै गएको भनेका छन् । अवस्था अहिले पर्ख र हेरको स्थितिमा छ । तथापि धमाधम फर्कने क्रम जारी छ । अध्यागमन विभागका अनुसार बिहीबार साँझसम्ममा दुई हजार २९३ जना नेपाली नागरिक पश्चिम एसियाका मुलुकबाट स्वदेश फर्किएका छन् । फर्कने अधिकांश नै युद्धउत्पन्न असुरक्षाका कारण रहेको छ । स्वदेश फर्र्किएपछि उनीहरूले शान्तिको सास फेरेका छन् । खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई यतिबेला आफैँले गर्दै आएका काम वास्तवमै ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । काममा नबसौँ त स्वदेशमा रोजगारी छैन, अनेक दुःखजिलो गरेर श्रम गन्तव्य मुलुकमा पुगिएको छ । बसौँ त युद्धको त्रास छ ।

पछिल्लो जानकारी अनुसार युद्धको त्रासकै बिच पनि अधिकतर नेपाली श्रमिक काममै छन् । अमेरिका र इजरायलले अकाशमार्गबाट इरानमा मिसाइल, ड्रोन, फाइटर विमानमार्फत आक्रमण गरिरहेको छ । पश्चिम एसियाका दुबई, कतारलगायतका मुलुकका श्रम गन्तव्य मुलुक आसपास तथा त्यहाँस्थित तेल भण्डार, अमेरिकी सङ्घ संस्था, दूतावाससमेतमा इरानी आक्रमण बढ्दै छ । आकाशमार्गमै ध्वंस गरिएका मिसाइल, ड्रोन, बम तथा बारुदका अवशेष श्रम गन्तव्य मुलुकका व्यस्त सहर, समुद्री किनार, विमानस्थललगायतका क्षेत्रमा खस्ने क्रम जारी नै छ । त्यस क्रममा एक जना नेपाली नागरिकको मृत्यु भइसकेको छ । कतिपय घाइतेसमेत भएका छन् । यो घटना देख्नेलाई स्वदेश फर्कन आत्तुरी लाग्नु स्वाभाविक नै हो । सरकारले फर्काउन सहयोग गरिरहेको छ । नेपालमा यतिबेला नयाँ सरकार बन्ने तयारीमा छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइ नजिकको विश्वास मिलेको छ । यो प्रबल विश्वासका पछाडि नेपालमै नेपालीले भाग्य र भविष्य खोज्नका निम्तिसमेत हो । नयाँ सरकारले आजको भोलि सबैलाई देशभित्रै तत्काल रोजगारी दिने छ भन्नु अव्यावहारिक हुने छ । अब बिस्तारै स्वदेशमै काम गर्ने वातावरण बन्ने छ भन्ने विश्वास भने यतिबेला बलियो छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा नयाँ सोच, चिन्तनका साथ काम हुन सक्दा धेरै सम्भावना छन् । फर्र्र्किएका नेपालीसँग सिप र जाँगर छ । अरूलाई पनि उदाहरणीय बन्न सक्ने अवसरसमेत देखिएको छ । त्यसका निम्ति सरकारले आवश्यक व्यवस्थापनसमेत गर्नु वाञ्छनीय छ ।