• ८ चैत २०८२, आइतबार

‘भोजमा नबोलाउनू, दुःखमा आफैँ आइपुग्छु’

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ८ गते । सुशासन र सदाचार कमजोर हुँदा ‘अटेरी अभियान’ चलाउनुभएका पोखरा महानगरापालिका–१४, मझेरीपाटनका बासिन्दा खड्कराज (गनेस) पौडेल जनप्रतिनिधि बन्नुभएको छ । यो अभियान चलाउँदाचलाउँदै अहिले देशको नीति निर्माण र सुशासन कायम गराउने ठाउँमा पुग्नुभएको छ ।

शिक्षक, लेखक, अभियन्ता हुँदै गत निर्वाचनबाट उहाँ कास्की क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य चुनिनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभएका उहाँले यो पटकको चुनावी प्रतिस्पर्धामा ३९ हजार ८८३ मत प्राप्त गरी जित हात पार्न सफल हुनुभएको हो । 

२०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनलाई एक्लै हराएको नेकपा (एमाले) लाई यो पटक ३० हजार मतान्तरले पछि पार्दै उहाँ सांसद बन्नुभएको हो । उहाँसँग चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत पाउनुभएको थियो । निर्वाचित भएपछि पौडेलले आफू र आफ्ना मतदाताले नगर्ने कामको १४ बुँदे सूची सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभयो, “मतदाताले मत दिएको हुँ भन्दै मलाई खोजी खोजी भोज, उत्सवमा नबोलाउनु होला । म नीति निर्माण र देश परिवर्तनमा दत्तचित्त हुने प्रणमा लागेको हुन्छु ।” उहाँले भन्नुभयो, “बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा नबोलाउनु होला । म भ्याउँदिनँ तर दुःख वा मरण परेका बेला भने भ्याएसम्म आफैँ आउँछु, बोलाउनै पर्दैन ।”

अङ्ग्रेजी साहित्यमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर पौडेलले डेढ दशक शिक्षणको अनुभव बटुल्नुभएको छ । पठन संस्कृतिको जग बसाउने ¥यान्डम रिडर्स सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका पौडेल कुनै समय न्युज मार्ट नामको दैनिक पत्रिकाको प्रकाशन समूहमा पनि हुनुहुन्थ्यो । प्रयोगवादी शैलीको उपन्यास ‘पैताला’ का लेखक पौडेल पृथक् खालको अखबारी लेखनबाट पनि परिचित हुनुहुन्छ । 

आफूसँगको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्न अनुरोध गर्दै पौडेलले ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी विवाद मिलाउने कुरा लिएर नआउन आग्रह गर्नुभयो ।

आफूहरू जनताको भावना र भुइँ तहको अवस्थालाई अध्ययन गरी राजनीतिमा आएको दाबी गर्दै उहाँ अहिलेको रास्वपाको जितलाई लहरभन्दा पनि एकप्रकारको आशाको मत भएको उहाँको धारणा छ ।  एकै दलको करिब दुई तिहाइको सरकारले जनतालाई परिवर्तनको आभास दिलाउने उहाँको वाचा छ । पौडेलले भन्नुभयो, “मत दिएका र नदिएका सबै मतदातासँग आग्रह छ, रचनात्मक सुझाव दिनुस् । एकै दिनमा कायापलट सम्भव छैन, खबरदारी गर्नुस्, हामी सहयात्रा र सहकार्यबाटै समृद्ध देश बनाउने यात्रामा छौँ ।”