• ८ चैत २०८२, आइतबार

सात वर्षपछि सडक स्तरोन्नति

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत ८ गते । कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट गाउँपालिका–५ र ६ को मानसरोवर माध्यमिक विद्यालयदेखि लाग्नासम्मको सडक स्तरोन्नति कार्यले गति लिएको छ । सात वर्षपछि सडकछेउछाउका स्थानीय जग्गाधनीले सहमति दिएपछि हिल्सा–सिमकोट सडक योजनाले सो खण्डको स्तरोन्नतिसहित ग्राभेल गर्ने कार्य थालेको छ ।

सात वर्ष सो खण्डको सडकको ट्र्याक खुलाउने कार्य सम्पन्न भएपछि हाल साँघुरो सडकमा यातायातका साधन सञ्चालन भइरहेकामा यस वर्ष उक्त सडकको दुवैतर्फका स्थानीय जग्गाधनीले सडक स्तरोन्नतिका लागि सहमति दिँदा कामले तीव्रता पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । 

कार्यालयको लामो प्रयासपछि स्थानीय जग्गाधनी सडक निर्माणका लागि सहमत हुँदा सो खण्डको सडक चौडा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । अहिले ग्याबिन लगाउने कार्य पनि भइरहेको छ । उक्त सडक आठ मिटर चौडा निर्माण गर्न लागिएको छ । सो खण्डको हालसम्म ३० प्रतिशत भौतिक र १३ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।