• ८ चैत २०८२, आइतबार

बाल साहित्यकार विजयराज आचार्य बालबालिका भेट्न बैतडी गाउँमा

blog

बैदीको लदौलीका बालप्रतिभालाई पुस्तक उपहार दिनुहुँदै साहित्यकार विजयराज आचार्य। तस्बिरः आचार्यको फेसबुकबाट

गोकर्ण दयाल
बैतडी, चैत ८ गते ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य बालबालिकालाई भेट्न काठमाडौँबाट बैतडीका दुर्गम गाउँ आइपुग्नु भएको छ। उहाँको भ्रमणको मुख्य उद्देश्य बालबालिकालाई कथा लेखन सम्बन्धी तालिम दिनु र गाउँमा रहेका बाल कथाहरू खोज्नु हो।

शुक्रबार पाटन नगरपालिका–१, लदौली गाउँ पुग्नु भएका आचार्यले लोप हुन लागेका पाँच वटा स्थानीय बाल कथा (बातै) सुन्नु भएको बताउनुभयो। गाउँमा पुगेर उहाँले बालप्रतिभा विशाल भट्टराई लगायतका बालबालिकालाई बालसाहित्यसम्बन्धी पुस्तक उपहार दिनुभयो।

आचार्यले भन्नुभयो, “यहाँका मानिस कथालाई ‘बातै’ भन्छन्, साहित्यलाई ‘सवाई’ भन्ने चलन छ। यहाँ समुदायको श्रुतिमा रहेका थुप्रै कथा भेटिए, जुन देशभरी लोप भइसकेका छन्। बैतडीको लदौलीमा यी कथा अझै जीवित छन्। यस्ता कथाहरू लिपिबद्ध गरेर संरक्षण गर्न आवश्यक छ।”

यसअघि उहाँले पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कथा लेखन तालिमसमेत दिनुभएको थियो। तालिम प्राप्त २५ बालबालिकाले ‘सुन मेरी बातै’ नामक सयुक्त बालकृति प्रकाशन गरी आईतबार विमोचन गर्ने कार्यक्रम रहेको छ।

साथै, बैतडीका युवा महेंद्र जोशीको अगुवाईमा पाटनमा बालबालिकाका लागि पुस्तकालय स्थापना गर्ने कार्यक्रमसमेत तय गरिएको छ। आचार्यले सुदूरपश्चिमका गाउँमा बालकथाको संरक्षण र बालप्रतिभाको पहिचान गर्ने उदेश्यले भ्रमण गर्नु भएको जानकारी दिनुभयो।