अमरराज नहर्की
तनहुँ, चैत १४ गते । सुख्खायाममा नदीमा पानीको बहाव घटेर अधिकांश जलविद्युत् आयोजनाको उत्पादन क्षमता खुम्चिरहेका बेला तनहुँको आँबुखैरेनीस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रले भने ‘पिक आवर’मा आफ्नो जडित क्षमताभन्दा पनि बढी विद्युत् उत्पादन गर्न सफल भएको छ।
नदीमा पानीको सतह घटेकाले दिउँसोको समयमा उत्पादन ४२ मेगावाटमा खुम्चिए पनि साँझ र बिहानको उच्च माग हुने समयमा केन्द्रले ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ। दिउँसोको समयमा पानी सञ्चित (रिजर्भ) गरेर माग बढी हुने समयमा पूर्ण क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्न सफल भएको केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख कपिलदेव मानजनका अनुसार वर्षा नहुँदा र हिउँ पग्लिने क्रम कम हुँदा नदीमा पानीको बहाव घटे पनि उपलब्ध पानीलाई रणनीतिक रूपमा व्यवस्थापन गरिएको छ। पछिल्लो समय सिभिल संरचनाको मर्मत–सम्भार र संरक्षणमा विशेष ध्यान दिएकाले पनि आयोजनाको कार्यक्षमतामा सुधार आई उत्पादन बढाउन मद्दत पुगेको हो। मर्मतपछि आयोजनाको जोखिम न्यूनीकरण हुनुका साथै प्रणालीलाई थप सुदृढ बनाइएको केन्द्रले जनाएको छ।
मर्स्याङ्दी हिमालबाट बगेर आउने नदी भएकाले चिसो मौसममा सहायक खोलानालाहरू सुक्दा चैत–वैशाखमा उत्पादन केही न्यून हुने गरे पनि जेठ महिनादेखि हिउँ पग्लिने दर बढ्ने र उत्पादन पुनः वृद्धि हुने अनुमान गरिएको छ। सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै आएको छ।
हालको मौसमी प्रतिकूलताका बाबजुद पनि सिभिल संरचनाको मर्मत र पानीको उचित व्यवस्थापनले विद्युत् आपूर्तिलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।