• १४ चैत २०८२, शनिबार

न्याउरीगाडको पुल निर्माण सुस्त

blog

निर्माणाधीन न्याउरीगाड आरसिसी पुल । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), चैत १४ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, न्याउरीगाडमा निर्माणाधीन पक्की पुलको काम सुस्त गतिमा अगाडि बढेको छ । समयमै पुल निर्माण नहुँदा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् । 

२०८१ जेठ १३ गते सम्झौता भएको उक्त पुल २०८३ असार ३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्मको प्रगति हेर्दा तोकिएको समयमै निर्माण सम्पन्न हुनेमा आशङ्का बढेको छ । हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्रै पिल्लर निर्माण भएको छ भने उत्तरतर्फको पिल्लरको फाउन्डेसन तयार भए पनि थप निर्माण अगाडि बढ्न सकेको छैन । तीन वर्ष हुन लाग्दा पनि काम सन्तोषजनक रूपमा अगाडि नबढ्दा आयोजना अलपत्र पर्ने चिन्ता बढेको छ । पुल जुम्ला सदरमुकामबाट मुगुको राराताल जाने छोटो दुरीको मार्गमा पर्ने भएकाले यसको रणनीतिक महत्व उच्च रहेको छ । 

पुल निर्माण नहुँदा वर्षायाममा विशेष गरी यात्रु तथा पर्यटकले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । यसले पर्यटन प्रवर्धनमा समेत प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाइ छ । कुल लागत भ्याटसहित सात करोड १८ लाख ५४ हजार रुपियाँमध्ये पाँच करोड ५४ लाख ८६ हजार रुपियाँमा सम्झौता गरिएको छ । योजना पूर्वाधार विकास कार्यालय जुम्लामार्फत यसको कार्यान्वयन भइरहेको छ । 

कार्यालयका सिनियर डिभिजनल अधिकृत रूपक रावलले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै जाडो मौसमका कारण काम प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार निरन्तर रूपमा काम अगाडि बढे आगामी वर्षसम्म पुल निर्माण सम्पन्न हुन सक्ने बताउनुभयो तर निर्धारित समयमै काम सकिने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो । पुल निर्माणको जिम्मा एमएस/एनसी एमएनएसजेएनएस जेभी काठमाडौँलाई दिइएको छ भने स्थानीय निर्माण व्यवसायी तुल्सी रावतले काम समाल्दै आउनुभएको छ । फागुनसम्म बरफ जमेको हुनाले काम हुन नसकेको र भदौदेखि असोजमा नदीमा पानी बढेको हुनाले काम हुन सकेन उहाँको भनाइ छ ।