• १४ चैत २०८२, शनिबार

पर्यावरण जगेर्नाको ज्ञान

blog

पश्चिम नेपालको पर्वत जिल्लाको एउटा गाउँमा करिब तीन दशकअघि मेरो जन्म भयो । म आफ्नो बाल्यकालदेखि किशोरावस्थासम्म त्यहाँको भूगोल, वनजङ्गल, खेतबारी, कान्ला, थुम्का, तरेलीहरूसँग खेल्दै त्यस परिवेशसँग हुर्के, बढेँ । मेरा घरअगाडि तुलसीको मठ, अमलाको बोट, अन्य फलफूललगायत विभिन्न जातजातिका रुख र वनस्पति थिए । सानैदेखि घरमा पालेका बाख्रा, भेडा, गाई, भैँसीलाई स्याउला र घाँस लिन म साथी सङ्गीहरूसँग त्यही वरपरका वनजङ्गल, खेतबारी चहार्थें । त्यतिबेलादेखि नै आफ्ना वरपरका सम्पूर्ण बालीनाली, वनजङ्गल र त्यहाँको प्राकृतिक छटाले भरिपूर्ण भूगोल प्रिय लाग्थे । घरमा हजुर बुबा, हजुर आमा र आमा बुबाले मलाई सधैँ भन्नु हुन्थ्यो “हेर नानी, घरभित्रका र घरबाहिरका सबै काम गर्न पछि पर्नु हुन्न नि तिमीले ! गाउँघरका बोटबिरुवा, घाँसपात र माटोसँग खेल्न हुर्कन सिक्नु पर्छ, है, नानी” भन्दै बारम्बार सम्झाउनुहुन्थ्यो । किशोरावस्था पार गरेपछि अग्रजले भनेका ती वनस्पति र माटोको महिमाको चुरो कुरो बिस्तारै बुझ्दै गएँ, अनि हाम्रो वास्तविक घर  धर्तीरहेछ र आकाश हाम्रो छाना हो रहेछ भन्ने कुरो पनि पत्तो पाएँ । सूर्य हाम्रो जीवनदाता हो, जसको आभामण्डलमा अवस्थित यस सुन्दर सृष्टिको चक्र नै पर्यावरण हो भन्ने कुरो पनि बढ्दो उमेर सँगसँगै बुझ्दै गएँ ।

पूर्वीय ज्ञान परम्परामा जुनबेलादेखि अलि बढी चासो हुन थाल्यो तब मैले बुझ्दै गएँ–यो जगत् र पर्यावरण धेरै सुन्दर रहेछ । यसको शिल्पकारले यसलाई ठुलो मनोयोगले रचेका रहेछन् । धर्तीलाई अनुशासनमा बाँध्न अनन्त आकाशको रचना भएछ भने सूर्यलाई जगतको प्राणदाता बनाइएको रहेछ । सौर्यमण्डलको परिक्रमाको कारणले मानिसको जीवन नियमबद्ध भएका रहेछन् । यस धरामा पर्वत, हिमशृङ्खलादेखि मैदान, मरुभूमि र सागर आदिसहित यस भूगोलको उपस्थिति भएको रहेछ । भिन्न भिन्न पशु प्रजाति र पक्षीहरू, थरी थरीका जीवनदायी वनस्पति र दिव्य छटायुक्त फलफूल, कन्दमूल अनि नाना प्रकारका अद्भूत लालित्य लिएर यति सुन्दर कालजयी रचना निर्माण भएको रहेछ । हामी मानिसले पाएका सबैभन्दा ठुलो उपहार नै यो अनमोल पर्यावरण रहेछ, जसको व्यापकता, विशालता र गाम्भिर्यताको वर्णन शब्दभन्दा पर रहेछन् भन्ने कुरो केही बुझियो ।

पूर्वीय सनातन परम्परामा यो अटल विश्वास छ कि यस विश्व ब्रह्माण्डका सर्वशक्तिमान भगवान्ले जब यस संसारको सृष्टि गरे, तब उनले मानव समाजलाई दुई बहुमूल्य उपहार प्रदान गरे । यीमध्ये पहिलो वेद थियो जसमा पुरुषार्थचतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) को प्राप्तिको वर्णन छ । भगवत्प्रदत्त दोस्रो उपहार थियो – पर्यावरण जुन पन्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) युक्त रहेको छ । हामीलाई चारैतिरबाट घेरेर राख्ने सबै तत्व (पन्चमहाभूत) को समष्टिलाई पर्यावरण भनिन्छ । मानवले सास फेर्न आवश्यक वायु, तिर्खा मेटाउन चाहिने जल, भोक मेटाउने अन्न तथा फल र बाँच्ने सबै जीवनको आधार यही धर्तीद्वारा प्राप्त हुने गर्छ ।

हाम्रो परम्पराले बुझेको यो पर्यावरण एक आचरण, व्यवहार र समग्र अन्तरनिर्भर व्यवस्था हो, जसमा यो रहस्यमय जगत् अनि यो सुन्दर सृष्टि अवस्थित छ । पर्यावरण शब्दको चर्चा गर्दा ‘परि–आवरण’ अर्थात् ‘प’ बाट पृथ्वी, ‘र’ बाट रस अर्थात् पानी, ‘आ’ बाट आकाश तथा ‘वरण’ बाट कुनै विशेष शक्तिद्वारा त्यसको सञ्चालन र नियन्त्रण रहेको छ भन्ने बुझिने रहेछ । यसको भाग, विभागहरूमा पृथ्वी, आकाशमण्डल, पर्वत, पशु, पन्छी, बिरुवा एवं नदी तथा सागरहरू रहेका छन् । यिनको पोषक प्रत्यक्ष रूपमा तथा शास्त्रको आधारमा पनि सूर्य नै प्रमुख देखिन्छ । सूर्यको उदय र अस्तमा धर्तीको जीवनशैली निर्भर छ र उसैबाट सम्पूर्ण सृष्टि गतिशील छ । यो अलौकिक ब्रह्माण्ड कुनै महान् शक्तिको पासोमा बाँधिएको छ, जसको पाँच तत्वबाट यस पर्यावरणको निर्माण भएको छ । 

धर्ती र आकाशसँगसँगै जल, वायु र अग्नि यसका मुख्य तत्व हुन् । यिनको शुद्धता र यिनको सन्तुलनमा यो पर्यावरण टिकेको छ । पर्यावरणद्वारा सृजित सृष्टिको अस्तित्वले जीवनको स्पन्दनको लागि हावा, जल, अग्नि सबै पोषित गरेका छन्, जसका पूरक समस्त वनस्पति, नदी, पर्वत, सागर, मैदान सबै हुन् । रुखहरूले अक्सिजन छोड्छन्, नदीहरूले जीव जन्तुका प्यास मेटाउँछिन् भने बोटबिरुवालाई जीवन दिन्छिन् । पर्वतहरूबाट नदी झर्छन्, सागरबाट बादल बन्छन् । अर्थात् पर्यावरणका सबै स्वरूप यस जगत्को स्पन्दन हुन्, जीवन हुन्, एकअर्काको अभावमा प्रकृतिको गणित नै तहस नहस हुन्छ ।

जमिन, जल, जङ्गल, पर्वत, वनस्पति समग्रमा मानिस र सम्पूर्ण जीवधारी प्राणीजगत्का लागि वरदान हुन् । सबै प्राणी र स्थावर जङ्गम यी प्रकृतिहरूको निर्भरतामा रहेका छन् अर्थात् कोही कतै निरपेक्ष छैनन् । पर्यावरणको सहयोगबिना जीवन दुर्लभ मात्र होइन अपितु असम्भव छ । यी प्राकृतिक सम्पदाहरूको महìव र संरक्षणका लागि श्रुतिहरूले आरम्भदेखि नै निर्देशन दिन आरम्भ गरिसकेका थिए । 

पूर्वीय सनातन परम्पाराको चारै वेद, उपवेद, ब्राह्मणग्रन्थ, संहिता, पुराणलगायत हाम्रा धार्मिक सूक्त, दार्शनिक सूक्त र लौकिक सूक्तहरूमा भूमि संरक्षण, जल संरक्षण, वर्षाको जलको महत्व, वृक्ष वनस्पति संरक्षण आदिको चर्चा, परिचर्चा गरिएका पाइन्छन् । यजुर्वेद (१६/१७–२०) अनुसार, प्रकृति पूजनीय छ, उपभोग्य मात्र होइन । वृक्ष, वन र औषधी मानव जीवनका संरक्षक हुन्, तिनीहरूप्रति कृतज्ञता र संरक्षणको भाव आवश्यक छ । वेद र वैदिक सूक्तहरूले परोक्ष रूपमा मानिसलाई पर्यावरणको संरक्षणको निर्देशन प्रदान गरेका छन् । विभिन्न उपनिषद्मा पनि पर्यावरण समृद्धिको कामना गरिएका छन् । वैदिक कालसम्म पर्यावरणको उचित सम्मान हुँदै आयो । पर्यावरणको संरक्षण हेतु पुराणकारहरूले सुन्दर कथात्मक सम्मत शैली अपनाए । पौराणिक कालमा प्रकृतिसँग अनुचित छेडछाड रोक्न विभिन्न प्राकृतिक सम्पदाहरूमा देवत्वको रहस्य विद्यमान रहेको कुरा उद्घाटन गर्दै उनीहरूको पूजन मात्र होइन, अपितु संरक्षणको पनि निर्देश गरियो । बेल, पिपल, वर आदि रुखलाई विष्णु, शिव भगवान् आदिको रूप बताइयो र यिनलाई काट्न हुन्न भन्ने ज्ञान प्रदान गरियो । 

श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले मानिस, नदी, सागर, पर्वत, जमिनलगायत जगत्का चराचर प्राणीहरूलाई आफ्नो विभूतिमा राख्दै आफ्नो विराट स्वरूपमा समाहित रहेको बताउनुभएको छ । मानिस वनस्पतिहरूको फूल, फल, लहरा आदि भागको समुचित उपभोग गर्थे, तर पछि गएर यो सम्मान–भावमा ह्रास हुन थाल्यो । मानिसको लोभ बढ्दै गयो र ऊ प्राकृतिक स्रोतहरूको अनुचित दोहन गर्न अभ्यस्त हुन् थाल्यो ।

हाम्रा धार्मिक पूजा, अनुष्ठान आदि कार्यमा पात, फल, फूल, लहरा, समिधा (काठ) आदिलाई प्रिय पूज्य सामग्री हुन् भनी बताइएको पाइन्छ । श्री गणेशपुराणमा भगवान् श्रीगणेशले सुमेरु पर्वत र नदी नालाहरू, पाताल आदिलाई आफ्नो विराट रूपको अङ्ग बताएका छन् । गोवर्धन पर्वतलाई श्रीकृष्ण, कैलाश पर्वतलाई भगवान् शिव तथा विन्ध्याचल आदि पर्वतहरूलाई भगवती आदि शक्तिको निवास स्थान अथवा स्वरूप बताइएको छ । धर्तीको उत्तर दिशामा अवस्थित कैलाश पर्वतलाई सभ्यताको उत्पत्तिको केन्द्रविन्दु मानिएको छ । तिब्बतमा पर्ने कैलास पर्वत मानसरोवर ताल र राक्षस तालको समीपमा अवस्थित रहेको छ र यसै उद्गम स्थलबाट एसिया महाद्वीपका प्रमुख नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली बगेका छन् । हाम्रो पूर्वीय परम्परामा कैलाश पर्वतलाई हिन्दु, बौद्ध, जैन र बोन गरी चारै धर्मको पवित्र पर्वत मानिन्छ र तीर्थाटन गरिन्छ । यसरी पर्वत र नदीको मुहानको पूजा, आराधना गरी पर्यावरणको महìव स्थापना गर्ने कार्य अनादि कालदेखि नै रहेको उदाहरण यसबाट प्रष्ट हुन्छ । 

नेपाल, भारतका अनेकौँ नदीलाई देवलोकको बहुमूल्य सम्पदा घोषित गर्दै धरतीमा यिनको आगमनलाई भगीरथ आदि राजर्षिहरू र गौतम आदि ऋषिहरूको कठोर तपस्याको प्रतिफल बताइएको छ । नेपाल, भारतको धर्तीमा अवस्थित नदी किनारमा नाना प्रकारका तीर्थको स्थापना गरिएका छन् र यिनले समग्रमा सनातन धार्मिक, आध्यात्मिक महìवको अलावा पर्यावरणप्रतिको सचेतना र ज्ञानको विस्तार गरेको बोध हुन्छ ।

अर्को तर्फ, पुराणहरूले साम नीति (सुमधुर नीति) को आश्रय लिएर मानिसहरूलाई यी प्राकृतिक सम्पदाहरूको महìव बुझाए र यिनको दुरुपयोग रोक्न प्रयास गरेको भेटिन्छ । पछि गएर लौकिक संस्कृत साहित्यले पनि पुराणको मनसायको अनुमोदन ग¥यो । महाकवि कालिदासले पञ्चधा प्रकृतिहरू अर्थात् पृथ्वी, जल, तेज, वायु, आकाशमा सूर्य, चन्द्रमा र यज्ञकर्तालाई पनि जोडेर यिनलाई भगवान् शिवको प्रत्यक्ष अष्टमूर्ति भनेर सम्मानयोग्य घोषित गरे । उनले सूर्यवंशी राजा दिलीपबाट नन्दिनीको सेवा गराएर गोमाताको महìव स्थापित गरे र मुनिकन्याद्वारा रुखहरूमा पानी हाल्ने विधि बताउँदै मृग वृक्ष र लताहरू आदिसँग मानवीय सम्बन्धहरूको मार्मिक चित्रण गरे । गोस्वामी तुलसीदासले तुलसीलाई सज्जनताको प्रतीक घोषणा गरे र रामराज्यमा नागरिकद्वारा मात्र नभई मुनिजनद्वारा पनि तुलसीका बिरुवा रोपिएको उल्लेख गरेका छन् । उनले अयोध्यामा मात्र होइन अपितु रावणको लङ्कामा पनि अति मनोहर वन, बगैँचा, उपवन र बाटिका’ को चित्रण गरेका छन् । 

रामायणको एउटा प्रसङ्गमा हनुमानले लक्ष्मणको उपचारका लागि औषधीहरूको सञ्जीवनी पर्वतलाई उचालेर लङ्काका सुषेण वैद्य सामुन्ने ल्याएका थिए । ती वैद्य प्रकृतिप्रति निकै जागरूक थिए भन्ने कुरा उनले हनुमानलाई सो पर्वत र वनस्पति पुनः पूर्वत स्थानमा नै राखेर आऊनु भनेर अह्राएको प्रसङ्गले बुझाउँछ । यस निर्देशनको आशय वनस्पतिको उचित संरक्षण र विकास बाधित नहोस् भन्ने नै हो । जनकपुरको पुष्पवाटिकाले त परब्रह्म परमेश्वर श्रीरामलाई पनि लोभ्याएको थियो भन्ने चर्चाले त्यस वखत पर्यावरणको सन्तुलन हेतु वनस्पतिको संरक्षणको महìव उजागर गरेको छ ।

करिब दुई शताब्दीअघिदेखि पर्यावरणप्रति जनमानस पूर्ण रूपमा आक्रान्त भएको जस्तो लाग्छ । प्रायः त्यस समयदेखि नदी, जल, वायु, गोधन, पशुपन्छी तथा वृक्ष, वनस्पति आदिको मानिसद्वारा निर्ममतापूर्वक दोहन गरिँदै छ । यद्यपि केही लोप हुँदै गरेका वनस्पति तथा पशुपन्छीका प्रजातिको संरक्षणको लागि प्रयास गरिएका छन् । पर्यावरण र मानव कल्याणका लागि हाम्रो परम्पराले गाईको महत्व दर्शाएको छ । गाईले चिरकालदेखि आफ्नो दुध पिलाएर मानव जातिलाई पुष्ट गर्दै आएकी छन् भने यिनले दिने गहुँत र मलको प्रयोगले कृषि कार्य सम्भव भएको पाइन्छ । यसर्थमा पनि गाईको संरक्षण तथा संवर्धनका लागि हामीले सबै तहबाट पहल गरिनु पर्छ भन्ने आजको समयको आवश्यकता रहेको बोध हुन्छ ।

पहिले जहाँ प्राकृतिक वायु चल्थ्यो, त्यहाँ अब एअरकन्डिसन नामक यन्त्रको उत्सर्जनले वायुमण्डल तप्त छ । उद्योग, कलकारखाना चलाउने क्रममा तिनले उत्सर्जन गर्ने कार्बनलगायत विषाक्त तìवहरूको उचित व्यस्थापन भएको देखिन्न । सामाजिक र प्रशासनिक तहमा भूमण्डलमा बढ्दो तापप्रति चिन्ता त व्यक्त गरिन्छ तर निवारणको समुचित उपाय गरिएको छैन । केवल केही वृक्षरोपण गर्ने अथवा कुनै एक क्षेत्र विशेषमा हरियाली ल्याइदिने मात्रैले ग्लोबल वार्मिङमा कमी आउन सक्दैन । चारैतिरको ताप लहरको मारले वन वनस्पति दिन प्रतिदिन नष्ट भइरहेका छन् भने अर्कोतिर नदी पनि सुक्दै गइरहेका छन् । कलकारखानाका फोहोरले नदी, समुद्रहरू प्रदूषित हुँदै गइरहेका छन् । पोखरी र तलाउ पुरेर तिनमा विशाल भवन निर्माण भएका छन् । यस्ता कार्य र गतिविधिले मानिसलाई पानी आपूर्ति गर्न भूगर्भमा रहेको पानीको दोहन भइरहेको कुरा प्रस्ट देखिन्छ । आजका दिनमा नेपाललगायतका विश्वका अनेकौँ देशका ग्राम तथा नगरमा सही पर्यावरण संरक्षण नहुनाले पिउने पानीको अभाव रहेको भएको जगजाहेरै छ ।

यज्ञ गर्नाले बादल बन्छन् र बादलबाट वर्षा हुन्छ भन्ने कुरा हाम्रा वेद, पुराण, श्रुति, संहिता, ब्राह्मणग्रन्थ आदिमा वर्णन गरिएका छन् । कृषि उत्पादनलगायत जीवनको मूलाधारको रूपमा रहेको जलको सम्बन्ध यज्ञसँग रहेको कुरा आजका दिनमा खासै चर्चा भइरहेको छैन । श्रीकृष्णले यमुनाको पानीलाई कालियको विषबाट मुक्त गराएर गोवर्धन पर्वतको पूजा गराई प्रकृतिको प्रत्येक अङ्ग–प्रत्यङ्गको महत्व प्रतिपादित गर्नुभएको थियो । गोकुल, वृन्दावनको ऐश्वर्य बढाएको कुरालगायत कथा, पुराणमा पर्यावरण संरक्षणका खातिर यज्ञ, हवन आदिको आवश्यकताबारे वर्णन गरिएका अनेकौँ प्रसङ्ग भेटिन्छन् । आज हामी यी कथा, आख्यान त पढ्छौँ तर यिनमा लुकेको आशयलाई आत्मसात् गरिरहेका छैनौँ भन्ने व्यवहारले प्रस्ट पारेको छ । हाम्रो पूर्वीय सनातन परम्पराले दर्शाएको पर्यावरण जगेर्नाको ज्ञान र सार्थकता बुझेर सबैले यसको पालना, अनुसरण र वन्दना गरौँ, यसले सम्भावित प्रलयको भयावहसामु उभिएकी हाम्री पृथ्वी माताको रक्षा र कल्याण गरोस् । जयतु पर्यावरणम् ।