• १९ असार २०८१, बुधबार

लैङ्गिक हिंसा विरुद्धको अभियान समापन

blog

बिरामीलाई फलफुल र टुहुरा बालबालिकालाई पोसाक वितरण कार्यक्रम । तस्बिर – लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, मङ्सिर २४ गते । दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात् मङ्सिर ९ गतेदेखि २५ गतेसम्म मनाइएको लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत विभिन्न स्थानीय तहमा सन्देशमूलक कार्यक्रमको आयोजना गरिएको हो ।

महाकाली नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरूलाई फलफूल र महेन्द्र नमुना माविमा आश्रित १३ जना बालबालिकालाई जुत्ता र पोसाक वितरण गरिएको छ ।

नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख नरसिंह चैसीरको प्रमुख आतिथ्य रहेको थियो । महिला अधिकारकर्मीहरू गौरी बडाल, हीरादेवी अवस्थी, राधिका अवस्थी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निर्मला कुँवरलगायतको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत लालजिरा भट्टले जानकारी दिनुभयो । 


अभियान अन्तर्गत दुहुँ गाउँपालिकामा महिलालाई लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतना प्रदान गरिएको छ । पछिल्लो समय महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि महिला आफैँ सचेत र सक्षम हुनुपर्नेमा अधिकारकर्मी गौरी बडालले जोड दिनुभयो ।

अहिलेसम्म महिलाले हिंसा सहन गर्नाले मात्रै हिंसाका घटनाहरू खासै बाहिर नआउने गरेको पाइएको छ, उहाँले भन्नुभयो, हिंसा नियन्त्रण गर्न पितृसत्तात्मक सोच र समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । १०६ जना महिलाको सहभागिता रहेको उक्त कार्यक्रममा अधिवक्ता कृष्णसिंह महराले लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उपाय तथा कानुनी प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । 

लेकम गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । अभियान अन्तर्गत रातामाटामा पालिकास्तरीय देउडा प्रतियोगिताको आयोजना गरिएको छ ।

छ वटै वडाबाट नाराजुलुस तथा र्‍यालीसहित रातामाटा पुगेका महिलाले दिनभरि महिला हिंसाविरुद्ध सन्देशमूलक देउडा खेलेका थिए । ११ जना डेउडीया सहभागी प्रतियोगितात्मक देउडाको उपाधि वडा नम्बर ६ सिरोडाका गङ्गा खत्रीले पाउनुभयो।

अभियान अन्तर्गत लेकमका सबै वडामा महिला सञ्जाल गठन र सन्देशमूलक कार्यक्रमको आयोजना गरिएको लेकम गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता जोशीले बताउनुभयो ।

अभियान अन्तर्गत विभिन्न पालिकामा महिला बालबालिकाविरुद्ध हुने घरेलु हिंसा, जबरजस्त करणी, बालविवाह, बहुविवाहलगायत हिंसा न्यूनीकरणका उपाय तथा कानुनी प्रावधान सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।