• १२ असोज २०८१, शनिबार

तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

blog

तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा उद््घाटन गरिँदै । तस्बिरः जयमान बुढा मगर

जयमान बुढा मगर

रुकुमपूर्व, मङ्सिर १८ गते । पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।

गाउँपालिकामा ल्याब सेवा नहुँदा यसअघि यस गाउँपालिकाका नागरिकहरू चेकजाँचदेखि लिएर दिसा, पिसाब, खकार जाँच गर्न रुकुमकोट, रुकुम पश्चिमसँगै दाङ, नेपालगन्ज जानुपरेको थियो । 

आफ्नै गाउँपालिकामा ल्याब सेवा उपलब्ध भएपछि त्यहाँका नागरिक खुसी भएका छन् । ल्याब सेवाका लागि गाउँपालिकाले एक जना ल्याब प्राविधिकको व्यवस्था गरेको छ भने आवश्यक सामग्रीको व्यवस्थापन ग्रामीण स्वास्थ्य सुधार परियोजना फेयर मेडको सहयोगमा सर्वाङ्गीण विकास केन्द्र रुकुमपूर्वले गरेको छ ।

ल्याब सेवा सँगसँगै सुत्केरी कुरुवा घरको पनि सुविधा दिइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका र सर्वाङ्गीण विकास केन्द्रको तीन–तीन लाख र ६२ हजार बराबरको जनश्रमदानमा निर्माण गरिएको दुई कोठे सुत्केरी कुरुवा घरको निर्माण गरिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाको कुरुवालाई बस्न सजिलो होस् भन्ने उद्देश्यका साथ सुत्केरी कुरुवा घरको निर्माण गरिएको हो । 

बिरामीका कुरुवाले आफैले खानेकुरा घरबाटै ल्याएर आउनुपर्ने छ । पकाउने भाँडा, ग्याँसदेखि लिएर सुत्नका लागि लत्ताकपडाको व्यवस्था सर्वाङ्गीण विकास केन्द्रले गरेको केन्द्रका कार्यकारी निर्देशक लीलामणि गौतमले जानकारी दिनभयो ।