• ८ मंसिर २०८१, शनिबार

तिहारमा प्रयोग हुने भाइ मसलाका फाइदै फाइदा

blog

काठमाडौँ, कात्तिक ९ गते । तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो । भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि रोटी, मिठाइ, भाइ मसलालगायत उपहार दिने चलन छ ।  

टीका लगाइदिएर दिइने भाइ मसला (काजु, किसमिस,बदाम, कटुस, पेस्ता, नरिवल, छोकडा , ल्वाङ, सुकुमेल, सुपारी, अाेखर, दालचिनी,मखन) लगायतका ड्राई फ्रुट्स समावेश गराएर बनाइएका मसला खाँदा जति मिठा हुन्छन्, स्वास्थ्यका हिसाबले उत्तिकै फाइदाजनक हुने स्वास्थ्यविद् बताउँछन् । 

दिदीबहिनीले भाइको दीर्घायुको कामना गर्दै उपहारस्वरूप दिइने भाइ मसला  स्वास्थ्यका लाग फाइदाजनक हुने पोषणविद् प्रा.डा.उमा कोइराला बताउनुहुन्छ । खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्नुका साथै रोग निरोधक क्षमता बढाउन मद्दत गर्ने उहाँ बताउनुहुन्छ । भाइ मसला थोरै मात्रा खाँदा पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व र मिनिरल प्रशस्त मात्रमा  प्राप्त हुने डा.कोइराला बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“भाइ मसलामा फाइवर, मिनिरल, प्रोटिनको मात्रा प्रशस्त मात्रामा प्राप्त गर्न सकिन्छ । जुन तत्त्व अन्य हामीले खाने खानेकुराबाट न्यून मात्रामा मात्र प्राप्त गर्छौँ ।” भाइ मसला मसला उच्च गुणस्तरको खाद्यान्न भएकाले जुन उमेरका व्यक्तिलाई खाना उपयुक्त उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “भाइ मसलामा बोसोजन्य क्यालोरी हुँदैन । थाेरै खाए पनि अघाउने र लामो समयसम्म भोक लाग्दैन । त्यसमा पाइने प्रोटिन तत्त्व पच्न समय लाग्ने हुँदा लामो समयसम्म भोक लाग्दैन । शरीरलाई आवश्यक पर्ने चिल्लो पदार्थ भाइ मसलाबाट प्राप्त गर्न सकिन्छ ।” 

भाइ मसलाबाट शरीरलाई आवश्यक पर्ने प्रोटिन, क्याल्सियम, फस्फोरस, आइरन, विभिन्न प्रकारका भिटामिन, पोटासियम, क्यालोरीजस्ता तत्त्वहरू पाइने डा.कोइराला बताउनुहुन्छ । डा.कोइराला भाइ मसलामा समावेश गरेका मसलाको आ आफ्नो विशेषता रहेको बताउनुहुन्छ । 

उहाँका अनुसार ओखरको नियमित सेवनले व्यक्तिको दिमाग तेज चल्न मद्दत पुर्‍याउँछ । यसले कपाल तथा छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ । यसको नियमित सेवनले कब्जियत समस्याबाट समेत मुक्ति मिल्छ। 

त्यस्तै, बदाममा प्रोटिनको स्रोत पाइन्छ, यसको नियमित सेवनले शरीरमा रक्त कोष तथा हेमोग्लोबिन बढाउन मद्दत गर्ने डा.कोइराला बताउनुहुन्छ । बदामले स्मरणशक्ति बढाउनुका साथै मस्तिष्कको विकास गर्ने उहाँको भनाइ छ । अङ्गुर सुकाएर बनाइने किसमिस निकै फाइदाजनक मानिन्छ। क्याल्सियम, फाइबर र आइरनको स्रोत मानिने किसमिसले रक्त अल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउने डा.कोइराला बताउनुहुन्छ ।

यसमा पाइने ग्लुकोजले शरीरलाई ऊर्जासमेत प्रदान गर्नुका साथै  भिटामिन ई पर्याप्त मात्रामा पाइन्छ। डा.कोइरालाका अनुसार  काजुमा एन्टि–एजिङ तत्त्व प्राप्त हुन्छ । यसले मांसपेशीलाई बलियो बनाउनुका साथै डायबिटिज समेत नियन्त्रणमा मद्दत गर्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन लगायत तत्त्व पाइन्छ । भाइ मसलामा समावेश हुने पेस्तामा म्याग्नेसियम, कपर, रेसा, फस्फोरस र भिटामिन बी जस्ता तत्त्व प्राप्त गर्न सकिने पोषणविद् बताउँछन् । 

पेस्ताले शरीरको कोलेस्ट्रोल नियन्त्रण गरी मुटुसँग सम्बन्धित रोगहरूबाट बचाउँछ। साथै पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्दछ। त्यस्तै छालाको क्यान्सर जोखिम कम गराउँछ। उमेर अगाडि नै देखिने चाउरीपनमा समेत पेस्ताको सेवनबाट राहत मिल्छ। सन्तुलित रक्त सञ्चालन प्रणालीका लागि उपयुक्त मानिने पेस्ताले हृदयाघातजस्ता रोगबाट समेत बचाउँछ। 

नरिवल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । नरिवलमा भिटामिन ए, बी, सी का साथै क्याल्सियम, प्रोटिन र फलाम पाइन्छ । खाना नपच्ने, पिसाबसम्बन्धी रोग, रक्त विकारलगायत समस्याका लागि यो उपयुक्त मानिन्छ। त्यसै गरी, छोकडामा आइरन, मिनिरल, क्याल्सियम, फस्फोरस लगायत तत्त्वहरू प्रचुर मात्रामा पाइन्छ । मखनको सेवनले तनाव कम गर्न मद्दत गर्छ । यसलाई सुत्नु अगाडि दूधसँग सेवन गर्न सकिन्छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।