• १४ असार २०८१, शुक्रबार

गाई संरक्षणका लागि मुठ्ठीदान अभियान

blog

रमेश विश्वकर्मा  

गुल्मी, कात्तिक ८ गते । गुल्मीमा गाईहरुको संरक्षणका लागि मुठ्ठीदान अभियान सुरु गरिएको छ । जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, देवगीरी, एवम् अमृतभूमिको रुपमा परिचित रेसुङ्गा गौशालामा रहेका गाई संरक्षणका लागि मुठ्ठीदान अभियान सुरु भएको हो । 

रेसुंगा संरक्षण समितिले विगत केही वर्षदेखि यो अभियानलाई सञ्चालन गरेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । यस वर्ष पनि विगतका वर्षमा जस्तै मुठ्ठीदानका लागि सबैलाई अध्यक्ष भुसालले आग्रह गर्नुभएको छ । “आज (मंगलबार) गाईपूजा औंसीका दिन सूर्य ग्रहण परेको छ ।” 

विश्व हिन्दु महासङ्घ गुल्मीका अध्यक्षसमेत रहनुभएका भुसालले भन्नुभयो, “सो समयमा पूजाआजा हुँदैन् भन्ने भ्रम पनि कतिपय मानिसमा पर्न सक्छ । त्यस्तो भ्रममा नपरी यस वर्ष पनि विगतको वर्षमाजस्तै गौपूजा औंसीको अवसरमा नियमित पूजा हुन्छ ।”

“हिन्दु धर्मग्रन्थ पुराणमा उल्लेख भएअनुसार ग्रहणमा गरिएका दानहरु अक्षय हुन्छन् । त्यसमध्येमा पनि गौहरुको सेवाका लागि गरिने दान सबैभन्दा उत्कृष्ट दान हुन्छ ।” उहाँले भन्नुभयो, “अन्य समयमा गौहरुको सेवा गर्न नसकेको भए पनि ग्रहणको अवसरमा परेको सोमबारीय औंसीमा दान गरी अक्षय पुण्य आर्जन गरी पितृहरुको उद्धार गर्नुहोस् ।” 

मुठ्ठीदान अभियान घरघरमा लग्न आग्रह गर्दै यो अभियानमा सक्रिय रुपमा सहभागी बन्न पनि अध्यक्ष भुसालले आग्रह गर्नुभयो । ग्रहणका दिन गाईका लागि घाँस, पिठो, तेल, ढुटो, नुन दान गरी पुण्य प्राप्त गर्न सबैलाई उहाँले अनुरोध गर्नुभयो । 

वि.सं. २०४२ मा योगी नरहरिनाथले रेसुङ्गामा कोटीहोम गरेपछि सो समयमा जम्मा भएका गाईबाट रेसुङ्गा संरक्षण समितिले रेसुङ्गामा गौशाला स्थापना गरी गाईको संरक्षण गर्न सुरु गरिएको थियो । हाल रेसुङ्गा गौशालामा १५० भन्दा बढी स्थानीय जातका गाई संरक्षित छन् । रेसुङ्गामा गौशालामा जर्सी गाईहरु नल्याउन अध्यक्ष भुसालले आग्रह गर्नुभयो । 

स्थानीय जातका गाईहरुको गौशालामा संरक्षित गरिने भएकाले एउटा गाईको चार हजार रुपियाँ समितिले लिने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा संरक्षण समितिलाई थाहै नदिई गाईलाई लगी जथाभावी रुखमा बाँधेर बेवारिसे छाड्नेगरेको पाइएको उहाँको भनाइ छ ।

गाईको सेवाका लागि संरक्षण समितिले अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि ११ हजार रुपियाँ शुल्क भुक्तान गरी आजीवन सदस्य बन्न सकिने भुसालले बताउनुभयो ।