ज्योति पन्थी
बबई (बर्दिया), साउन २२ गते । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ ।
खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार दिउँसोसम्म फेला परेका छैनन् । मङ्गलवार बेलुकी सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९, हात्तीसारनजिक कर्णाली नदीको भँगालो खौराहा खोलामा मधुवन नगरपालिका–१, कैलाशी गाउँ बस्ने १९ वर्षीय रूप मिलन थारूलाई गोहीले आक्रमण गरी झम्टेर लगेको थियो ।
गोहीले लगेसँगै थारूको निकुञ्जबाट खोजी सुरु गरिएको थियो । खोजी गर्न यति बेला दुई वटा हात्ती समेत परिचालन गरिएको छ, निकुञ्ज सुरक्षाकर्मी समेत परिचालन भएका छन् । खोलामा गोही देखेपछि किनारमा भएका दुई साथीले रूप मिलनलाई त्यहाँबाट भाग्न भनेका थिए । उहाँ भाग्न नभ्याउँदै गोहीले थारूको टाउकोमा झम्टिएर पानीभित्र लगेको जानकारी दिनुभए लगत्तै युवकको खोजी सुरु भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गोहीले झम्टिएर लगेका थारूको खोजीमा निकुञ्जको दुई वटा हात्ती र मोटरबोटको परिचालन गरिएको छ । मोटरबोट र पानीमा हात्ती मात्र सहजै प्रवेश गर्न सक्ने भएर खोजी कार्यमा निरन्तर हात्तीको प्रयोग हुँदैआएको पौडेलले बताउनुभयो ।