• २२ साउन २०८२, बिहिबार

छ प्रदेशका पच्चिस जिल्लामा ‘लम्पी स्किन’, एक अर्ब तिस करोडको क्षति

blog

काठमाडौँ, साउन २२ गते । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ । २६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।

हालसम्म यसबाट किसानले एक अर्ब ३० करोड रुपियाँ बराबरको क्षति बेहोरिसकेका छन् । सबैभन्दा ठुलो असर कोशी प्रदेशमा देखिएको छ । 

कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा देखिएको यो सङ्क्रमणले कोशी प्रदेशमा मात्रै एक अर्ब एक करोड रुपियाँ बराबरको आर्थिक नोक्सानी गराएको हो । कोशी प्रदेशका १२, मधेशका आठ, गण्डकीको एक, कर्णालीको एक र सुदूरपश्चिममा भने हालसम्म रोग पुष्टि हुन सकेको छैन । बागमती प्रदेशले भने लम्पीको विवरण पशुसेवा विभागलाई उपलब्ध गराएको छैन । 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले ‘लम्पी स्किन’ सङ्क्रमणले कोशी प्रदेशमा एक अर्ब एक करोडको आर्थिक नोक्सानी भएको उल्लेख गरेको छ । कोशी प्रदेशमा साउन १८ गतेसम्म २२ हजार १२२ पशु सङ्क्रमित भएको र  सोही आधारमा नेपाल पशु चिकित्सा परिषद्ले वैज्ञानिक तथ्यका आधारमा एक अर्ब एक करोडको क्षति भएको उल्लेख गरेको छ । 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक डा. सुशीलकुमार अधिकारीले सो प्रदेशका १२ जिल्लामा रोग फैलिएको र पशुमा मृत्युदर २.७ प्रतिशत रहेको बताउनुभयो । यस आधारमा रोग अहिले नियन्त्रणमा रहेको बताइएको छ । 

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले रोगका कारण गाईभैँसीको मृत्यु हुने, दुध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, छाला उत्पादन घट्ने बताउनुभयो । त्यस्तै पशुलाई पूर्ववत् अवस्थामा ल्याउन पोषणमा खर्च बढेर किसानले आर्थिक नोक्सानी बेहोर्ने उहाँले उल्लेख गर्नुभयो । 

नेपाल पशु चिकित्सा परिषद्ले २०८० मा गरेको  वैज्ञानिक तथ्यका आधारमा एक स्वस्थ्य पशुमा ‘लम्पी स्किन’ रोग देखिएमा ४९ हजार १३५ रुपियाँको आर्थिक नोक्सानी पर्ने देखिन्छ ।  

पाँच लाखमा लगाइयो खोप

‘लम्पी स्किन’ सङ्क्रमणविरुद्ध तीन प्रदेशका पाँच लाख स्वस्थ्य पशुमा खोप लगाइएको छ । पशुसेवा विभागका डा. इन्दिरा शर्माका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशका पाँच लाख एक हजार पशुमा खोप लगाइएको हो । 

कोशीमा तीन लाख १२ हजार, मधेशमा एक लाख ६७ हजार र लुम्बिनीमा २१ हजार ४६२ पशुमा खोप लगाएको उहाँले बताउनुभयो । बागमती, गण्डकी र कर्णालीले खोप लगाइए पनि विभागमा तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ । 

विभागले आवश्यकताका आधारमा सबै प्रदेशमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । विभागले प्रयोगशाला परीक्षण तथा रोग निदान, खोप खरिद गरेर वितरण, औषधी तथा निःसङ्क्रमण सामग्री वितरण गरेको उहाँले उल्लेख गर्नुभयो । किसानको आर्थिक क्षति कम होस् भनेर प्रदेश, स्थानीय तहसँग विभागले निरन्तर समन्वय गरेको उहाँले स्पष्ट पार्नुभयो ।   

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।