• २२ साउन २०८२, बिहिबार

बाँकेमा जग्गा नाप नक्सा र पुर्जा वितरण

blog

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा जग्गा नाप नक्साङ्कन । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन २२ गते । बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । 

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा चार चरणमा गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । 

अध्यक्ष खनालले भन्नुभयो,“अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकाहरुलाई लालपुर्जा वितरण कार्य चलिरहेको छ । ”

अध्यक्ष खनालका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । कोहलपुरकै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । 

यसैगरी  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएको छ ।  यसैगरी राप्तीसोनारी ३,५ ,७ र ९, बैजनाथ ४ र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा जारी छ ।  

राप्तीसोनारी १,  बैजनाथ १, जानकी ४, नेपालगञ्ज १८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।  

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण कार्य हुँदैछ । आयोगका अनुसार  थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी अवस्थामा छ । 

आयोगका अनुसार हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् ।  आयोगले दोस्राे र तेस्राे सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।