• २३ साउन २०८२, शुक्रबार

नेपाल–भारतबीच थिङ्क ट्याङ्क स्तरमा समझदारीपत्रमा हस्ताक्षर

blog

नेपाल–भारतबीच थिङ्क ट्याङ्कस्तरमा समझदारीपत्रमा हस्ताक्षर हुँदै । तस्बिर : आईआरजीडीडी

काठमाडौं, साउन २२ गते । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न ‘थिङ्क ट्याङ्क’ स्तरमा एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नेपालस्थित इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतस्थित इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लुए) बीच बिहीबार नयाँ दिल्लीमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावरले संयुक्तरूपमा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झदारी अनुसार कूटनीति, संस्कृति, शिक्षा, व्यापार, सञ्चार लगायतका क्षेत्रमा दीर्घकालीन सहयोग विस्तार गर्ने, पारस्परिक समझदारीलाई गहिरो बनाउने र साझा दृष्टिकोणमार्फत अर्थपूर्ण संवादको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ ।

सम्झौतामा दुवै संस्थाले नेपाल वा भारतमा वैकल्पिक रूपमा आयोजना गरिने द्विपक्षीय सेमिनार, गोष्ठी, प्यानल छलफल जस्ता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । 

साथै, सम्बन्धित क्षेत्रका विज्ञहरूको भ्रमण, संस्थागत वेबसाइटहरू बीच डिजिटल लिङ्क तथा प्रकाशन आदान–प्रदान पनि सहकार्यको दायरामा समावेश गरिएको छ ।


आईआरजीडीडीका अध्यक्ष डा. ढकालले आईसीडब्लुएसँगको सहकार्यले अनुसन्धानमा आधारित र समानुभूतिपूर्ण कूटनीतिक संस्कृतिको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्रतिक्रियालाई प्रतिबिम्बमा बदलौं, धारणालाई बुझाइमा रूपान्तरण गरौं र सहकार्यबाट नयाँ कथा लेखौं ।”

उहाँले अझ भन्नुभयो, “आईआरजीडीडी र आईसीडब्लुएबीचको यो साझेदारीले दक्षिण एसियामा र त्यस बाहिर समेत अनुसन्धानमा आधारित, अग्रगामी कूटनीतिक संस्कृति निर्माण गर्न योगदान गर्नेछ ।”

आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक महावरज्यूले भारत–नेपाल सम्बन्ध परम्परागत कूटनीतिभन्दा फरक स्वरूपको रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “यो सम्बन्धले राजनीतिक उतारचढाव सहन सक्ने क्षमतासमेत प्रदान गर्छ ।” उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाल एक महत्वपूर्ण साझेदार रहेको स्पष्ट गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल–भारत दुवै देशका उच्चपदस्थ कूटनीतिज्ञ, विद्वान् तथा प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

 दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा र  ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकालको  सहभागिता थियो ।

सम्झौतापत्रले पारस्परिक परामर्शमार्फत संशोधन र भविष्यका सहकार्यका सम्भावनालाई लचिलो रूपमा अँगाल्ने व्यवस्था गरेको छ । यो समझदारीले नागरिक समाज संवादमार्फत जनता–जनता सम्बन्धमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यसले क्षेत्रीय शान्ति, सहयोग र साझा विकासतर्फ ठोस योगदान गर्ने विश्वास लिइएको छ । थिङ्क ट्याङ्क र संवाद प्लेटफर्महरूद्वारा क्षेत्रीय द्विपक्षीय विषयहरूमा योगदान पुर्याउन सकिने सम्भावनामा सम्झौताले बल दिने विश्वास गरिएको छ ।

कार्यक्रमको क्रममा पूर्वराजदूत डा. ढकालले “आधुनिक वास्तविकता, एक ऐतिहासिक मित्रताः नयाँ युगको लागि नेपाल–भारत सम्बन्धको निर्माण” विषयमा वक्तव्य दिनुभएको थियो । उहाँले भन्नुभयो, “नेपाल–भारत सम्बन्ध जनता, प्रगति र शान्तिमा आधारित परिवर्तनकारी स्वरूपको हो ।”

उहाँले स्पेन र ओमानमा नेपालको राजदूतको रूपमा काम गर्ने क्रममा प्राप्त अनुभव सँगाल्नुभएको जानकारी दिनुभयो । 

२१ औं शताब्दीमा कूटनीतिको भूमिकाबारे उहाँले भन्नुभयो, “कन्सुलर सेवा, सांस्कृतिक आदान–प्रदान, आप्रवासी अधिकार, कनेक्टिभिटी विस्तार र जन–कूटनीतिले शान्ति र साझेदारीमा योगदान दिन्छ ।”

नेपाल–भारत सम्बन्ध सभ्यताको निरन्तरता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनकपुरदेखि अयोध्या, पशुपतिनाथदेखि वाराणसी, लुम्बिनी देखि बोधगया–यी केवल भौतिक मार्गहरू होइनन्, सहअस्तित्वका भावनात्मक धाराहरू हुन् ।”

उहाँले भारतको वैश्विक शक्ति रूपमा उदयप्रति प्रशंसा गर्दै नेपालले शान्ति र विकासका साझेदारको रूपमा भारतसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । नेपालको विदेश नीति असंलग्नता, तटस्थता, र सबैसँगको मित्रताको सिद्धान्तमा आधारित रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले जलविद्युत्, पूर्वाधार, जलवायु कार्य र स्टार्ट–अपजस्ता विविध क्षेत्रहरूमा भारतको योगदानको चर्चा गर्दै भन्नुभयो, “भारतको छिमेकी पहिलो नीतिलाई आत्मसात् गर्दै पारदर्शी र रूपान्तरणकारी साझेदारी निर्माण गर्नु आजको आवश्यकता हो ।”

डा ढकालले  ‘सन्धिभन्दा बाहिरको सभ्यतामूलक सम्बन्ध, युवा नेतृत्व, साझा आर्थिक गन्तव्य, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण’ लगायतका विषयमा पनि प्रकाश पार्नुभयो ।

अन्त्यमा उहाँले भन्नुभयो, “भारतको डिजिटल क्षमता र नेपालको स्वच्छ ऊर्जा स्रोतको सहकार्यले अभूतपूर्व समृद्धिको ढोका खोल्न सक्छ । मेड इन नेपाल र मेक इन इन्डिया सँगै अघि बढ्न सक्छन् ।”

उहाँले आफ्नो नेतृत्वमा स्थापना गरिएको आईआरजीडीडी, एम्बेसडर क्लब नेपाल र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनमार्फत नेपालको विश्वव्यापी उपस्थिति सशक्त बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । कार्यक्रममा उहाँले आफ्नो वक्तव्यपछि छलफल पनि गर्नुभएको थियो ।