• ७ जेठ २०८१, सोमबार

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु : राजदूत थम्पसन

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नु हुँदै नेपालका लागि अमेरिकी राजदूत थम्पसन । तस्बिर राष्ट्रपतिको कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन रिचार्ड थम्पसन, फिनल्याण्डका आवासीय राजदूत रिना–रिक्का हेक्का  र आइसल्याण्डका गैर आवासीय राजदूत गुड्नी ब्रागासनले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको  छ । राष्ट्रपति भवनमा  शुक्रबार आयोजित समारोहमा उहाँहरूले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको  जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिनुभयो । 

ओहोदाको प्रमाणपत्र पेस गरेपछि नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार राजदूत थम्पसनले जारी गर्नुभएको वक्तव्यमा नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको बताउनुभएको छ । 

राजदूत थम्पसनले भन्नुभएको छ, ‘‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु ।’’

आगामी वर्षमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ भन्दै उहाँले भन्नुभएको छ, ‘‘अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु । जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ ।’’

राजदूत थम्पसनले नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षमा प्रवेश गरेको छ । 


राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्डका आवासीय राजदूत  रिना–रिक्का हेक्का ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै । 


राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि आइसल्याण्डका गैर आवासीय राजदूत गुड्नी ब्रागासन आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुहुँदै ।