• १६ चैत २०८०, शुक्रबार

फुटबलको दुवै स्वर्ण एपीएफको पोल्टामा

blog

पोखरा रंगशालामा प्रतिस्पर्धा गर्दै आर्मी र एपीएफका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, कात्तिक ३ गते । नवौं राष्ट्रिय खेलकुदको फुटबलको दुवै स्वर्णमा विभागीय टोली एपीएफ क्लबले कब्जा जमाएको छ । एपीएफले पुरुष र महिला दुवै तर्फ स्वर्ण आफ्नो पोल्टामा पारेको हो । 

पोखरा रङ्गशालामा बिहीबार साँझ भएको पुरुषको फाइनल खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोलले हरायो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय र थप समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय टाईब्रेकरबाट गरिएको हो । फुटबल खेलको समाप्तिसँगै पोखरा रङ्गशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक समापन समारोह सुरु भएको छ । 

यसैगरी महिला फुटबलको स्वर्ण पनि विभागीय टोली एपीएफ क्लबले नै जितेको छ । स्याङ्जाको वालिङ खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो । 

एपीएफको जितमा दुवै गोल सावित्रा भण्डारीले गर्नुभयो । पुलिसकी निरु थापाले सान्त्वना गोल फर्काउनुभयो । १०औँ मिनेटमा खाता खोल्नुभएकी सावित्राले ५२औँ मिनेटमा दोस्रो गोल थप्नुभएको थियो ।

पुलिसकी निरु थापाले ७६औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभएको हो । महिला फुटबलमा कांस्य भने त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले प्रदेश–१ लाई ७–० गोलले हराउँदै कांस्य जितेको हो ।