• २३ वैशाख २०८१, आइतबार

च्याम्पियनको छवि बनाउँदै सन्तोषी

blog

प्रजित शाक्य

पोखरा, कात्तिक २ गते । सन्तोषी श्रेष्ठ अहिलेको समयमा नेपालकी सबभन्दा चर्चित धाविका हुनुहुन्छ । सन् २०१९ मा काठमाडौंमा भएको १३ औँ सागमा दस हजार मिटर महिला दौड फोटो फिनिसमा नेपाललाई स्वर्ण दिलाएपछि सन्तोषीको चर्चा चुलिएको थियाे । जुन उपलब्धिले उहाँलाई दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्णपदक दिलाउने एक मात्र महिला धाविका बनाएको थियाे । सो प्रतियोगितापछि उहाँ विरलै दोस्रो हुनुभएको छ ।

धदिडकी २९ वर्षीया धाविकाले च्याम्पियनको छवि नवौँ राष्ट्रिय खेलकुदमा पनि कायम राख्नुभएको छ । सन्तोषीले बुधबार पाँच हजार मिटर दौडमा स्वर्णपदक जित्नुभयो, १७ मिनेट ०५.२९ सेकेन्ड समय लगाएर । पाँच दिनअघि दस हजार मिटरमा पनि स्वर्णपदक जित्नुभएको थियो । सन्तोषीले चोटको पीडामा रहेर पनि मिडल डिस्ट्यान्सका यी दुई इभेन्ट्समा स्वर्णपदक जित्नुभएको हो । त्यसैले उहाँको खेल जीवनको उचाइ अझ माथि पुगेको छ । दस हजार मिटर दौडनुअघि नै सन्तोषीको मनोबल उच्च थिएन किनभने सन्तोषको पैतालामा समस्या थियो ।  दौडँदा सन्तुलन मिलिरहेको थिएन  । गत चैत, वैशाखतिर उहाँ हिँड्न पनि सक्ने स्थितिमा हुनुहुन्नथ्यो । अझ दस हजार मिटर दौडेपछि त उहाँको चोट थप बल्झियो ।



‘दस हजार मिटर जितेपछि त चोटको पीडा अझ असह्य भएको थियो । सात रात दुःखाइले रातभरि सुत्न सकिनँ । तर मेरो एउटा बानी छ ट्र्याकमा दौडेपछि म सबै भुल्छु । यसपालि पनि लड्नु परे पनि केही छैन तर दौड छाड्दिन भन्ने सोचाइ राखेर दौडिएँ’– सन्तोषी भन्नुहुन्छ । हुन पनि सन्तोषीलाई मानिसकरुपमा टफ खेलाडी भनिन्छ । जुन उहाँले घरेलु प्रतियोगिताको सबभन्दा ठूलो खेल मेलामा सावित गर्नुभयो । सन्तोषीले पाँच हजारमा दौड मात्र पूरा गर्नुभएन, सबैलाई पछाडि नै पार्नुभयो ।

सन्तोषीले दोस्रो स्वर्णसँगै स्पाइक जुत्तालाई ढोग्नुभयो । मैले अन्तिम समयमा स्पाइक जुत्ता लगाउने निर्णय गरेकी हुँ । स्पाइकले झन् दुखाउँछ तर मैले स्पाइक जुत्ता नै लगाएँ र दौड पूरा गरेँ । मैले आज जुत्ता ढोग्नुको कारण दौड पूरा गर्न सकेँ भनेर नै हाे– सन्तोषी भन्छिन् ।

दस हजार मिटरमा सन्तोषीले पदक पक्का गर्न मात्र दौडनुभएको थियो । उहाँका अनुसार कीर्तिमानका लागि दौडँदा पदक गुम्ने र चोटको डर पनि हुन्छ । यद्यपि स्वर्ण जितेपछि आफूले कीर्तिमान बनाउन नसकेको केही नरमाइलो भने सन्तोषीको मनमा थियो नै । त्यसैले आज कीर्तिमानका लागि दौडेकी थिएँ । यद्यपि शारीरिक अवस्थाले त्यो पाँच हजार पनि पूरा भएन भन्नुहुन्छ सन्तोषी । तर पनि दुई स्वर्ण जितेँ, मेरो लागि यो प्रतियोगिता सफल भएको छ– सन्तोषीको भनाइ छ । पाँच हजार मिटर दाैडमा राष्ट्रिय कीर्तिमान कान्छीमाया कोजुको नाममा  छ।

केजुले १६ मिनेट ४९.९८ सकेन्डको कीर्तिमान राख्नुभएको छ । सन्तोषी सो कीर्तिमानभन्दा केही समयले पछि पर्नुभयो । दोस्रो स्थानमा रहेकी राजपुरा पछाइको समय १७ मिनेट १२.०५ सेकेन्ड रह्यो । सन्तोषीले अन्तिम ल्यापमा राजपुरालाई पछाडि पार्दै अगाडि बढ्नुभएको हो । दस हजार मिटर दौडमा पनि राजपुरा २५ मध्ये २४ ल्यापमा सन्तोषीभन्दा अगाडि हुनुहुन्थ्यो । सो दौडमा पनि सन्तोषीले अन्तिम ल्यापमा एक्कासि गति बढाउनुभएको थियो । पाँच हजार मिटर दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै काँस्य पदक जित्नुभयो ।