• ९ मंसिर २०८१, आइतबार

नौ वर्षीया छोरीकी आमा बिन्द्रालाई म्याराथनमा स्वर्ण

blog

प्रजित शाक्य

पोखरा, कात्तिक १ गते । नौ वर्षीया छोरीकी आमा, छ महिनाअघि मात्र म्याराथन खेलेकी । पहिलो पटक म्याराथनमा सहभागी र ३६ वर्षको ढल्कँदो उमेर । यी कारणले बिन्द्राधन्के श्रेष्ठ देशारले नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनमा स्वर्ण पदक जित्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् । बिन्द्राकी प्रशिक्षक प्रमिला रिजाल र स्वयं बिन्द्रालाई पनि म्याराथनजस्तो कठिन प्रतिस्पर्धामा च्याम्पियन हुन्छु भन्ने विश्वास थिएन ।

बिन्द्राको टिम एपीएफकै आशा पनि अर्की धाविका पुष्पा भण्डारीमा थियो । तर मगंलबार बिहान भएको ४१.१९५ किलोमिटर दौडमा सबैको अपेक्षा विपरीत नतिजा आयो । पोखरा रङ्गशाला, पृथ्वी चोक, तमु चोक, विराट चोक, लेक साइड, बाग्लुड हाइवे, हेम्जा हुँदै सिर्जना चोक, पृथ्वी चोक भएर सबैभन्दा पहिला पोखरा रङ्गशालाको प्रमुख द्वारबाट बिन्द्रा छिर्दा त्यहाँ उपस्थित सबै आश्चर्यचकित बने ।

म्याराथन सुरु भएको करीब एक घन्टापछि अग्रता लिएकी विन्द्रालाई त्यसपछि अन्य धाविकाले पछाडि पार्न सकेनन् । एपीएफकी विन्द्राले दुई घन्टा ५७ मिनेट २३ सकेन्डमा दौड पुरा गरेर स्वर्ण पदक जित्नुभयोे । उपाधि दावेदारमध्ये एक आर्मीकी विश्वरुपा बुढा तीन घन्टा ००.३५ सकेन्ड समय लगाएर रजत र पुलिसकी रेखा विष्ट तीन घन्टा एक मिनेट ३५ सकेन्ड समयसहित काश्य पदकको हकदार बन्नुभयो ।

ओलम्पिक, एसियाड, साग र राष्ट्रिय खेलकुदजस्ता प्रमुख खेलकुद मेलामा म्याराथनमा विजेता धावकाविकाको ठूलो नाम हुन्छ । बिन्द्राले म्याराथनतर्फ स्वर्ण जितेर नेपाली खेलकुदमा आफ्नो नाम बनाउनुभएको छ । विगतमा कमैले मात्र चिन्ने नाम बिन्द्रा अब नेपाली खेलकुदमा चिन्ने नाम भइसकेको छ । बिन्द्राले दौडन थालेको साढे दुई दशकभन्दा बढी भइसकेको छ । यसबीच उहाँको सङ्ग्रहमा राष्ट्रिय खेलकुदको स्वर्ण, रजत र कांस्य पदक पनि रहेका छ । यद्यपि प्रदर्शनमा निरन्तरता नहुँदा नेपाली एथलेटिक्समा यसअघि बिन्द्राको खासै नाम थिएन ।

खेलमा होमिएको लामो समयबीच उहाँले देशको प्रतिनिधित्व पनि एक पटकमा मात्र भुटानमा भएको क्रसकन्ट्री दौडमा गर्नुभएको थियो । सिंगापुरमा एउटा अन्तर्राष्ट्रिय दौडमा छनोट भएको थिएँ तर त्यही बेला छोरी पेटमा हुँदा सो अवसर भजाउन सक्नुभएन । स्वयं बिन्द्रा पनि यसअघि,  खेल जीवनको उपलब्धिमा धेरै खुसी हुनुहुन्न । त्यसैले बिन्द्राले यसपटक नवौँ राष्ट्रिय खेलकुदपछि खेल्दिन भन्ने मनसाय पनि बनाउनुभयो ।

यद्यपि अब खेल जीवनकै सबभन्दा ठूलो उपलब्धि हासिल गरेपछि बिन्द्रा भन्नुहुन्छ– नवौँपछि खेल्दिन कि भन्ने मनमा थियो । तर म अब निरन्तरता दिन्छु । अब म्याराथनमा नै राम्रो गर्नसक्छु भन्ने विश्वास जागेको छ । शरीरले साथ दिएसम्म म्याराथनमा दौडनेछु । त्यसपछि प्रशिक्षक भएर खेलाडी उत्पादन गर्ने मेरो लक्ष्य छ ।

छोरीको प्रार्थनाले काम गर्‍यो

भक्तपुरमा जन्मिएकी बिन्द्रालाई आज छोरी लुजा देशारको प्रार्थना पनि काम गरेको जस्तो लाग्छ । छोरीले आज बिहान मामु मैले तपाईँले जित्छ भनेर भगवान्सँग प्रार्थना गरेको छु भनेर फोन गरेकी थिइन् । अहिले त्यो प्रार्थनाले काम गर्योकी जस्तो लाग्छ– बिन्द्राले भावुक हुँदै भन्नुभयो ।

प्रशिक्षक सुशील नरसिंह राणाकी उत्पादन हुनुहुन्छ बिन्द्रा । १४ वर्षअघि प्रशिक्षक सुशीलले  उहाँको प्रतिभा पहिचान गरी एपीएफमा भित्र्याएको हो । हाल ओलम्पिक प्रमिला रिजालको प्रशिक्षणमा बिन्द्राले अभ्यास गरिरहनुभएको छ । प्रशिक्षक प्रमिला पनि शिष्यको उपलब्धिमा निकै खुसी देखिनुभयो । मैले पुष्पाले स्वर्ण दिलाउँछ भन्ने अपेक्षा गरेको थिएँ । बिन्द्राको तयारी राम्रो थियो । फुल म्याराथन अहिलेसम्म नदौडेकाले उनीबाट स्वर्णको आशा थिएन ।

म्याराथनमा दौडँदा अनुभवले पनि ठूलो भूमिका खेल्छ । तर नौ वर्षकी बच्चाकी आमाले स्वर्ण जितेर देखाइदिए । मलाई यसमा धेरै गर्व लागेको छ । बिन्दालाई खेल्न अन्यलाई जस्तो सहज छैन । घर परिवार सम्हाल्नुपर्छ । नौ वर्षको छोरी छिन् । किसानी काम पनि गर्छिन् । एपीएफमा जागिर छ । तर हौसला उच्च भएमा जस्तो सुकै प्रतिकुल अवस्थामा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् बिन्द्रा– प्रशिक्षक प्रमिला भन्नुहुन्छ ।