• ११ असोज २०८१, शुक्रबार

सुनकोसी–मरिण डाइभर्सन निर्धारित समयमै सम्पन्न हुन्छ : मन्त्री भुसाल

blog

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल सुरुङ प्रवेश मार्गस्थलको निरीक्षण तथा अनुगमन गर्नुहुँदै । तस्बिर – बाबुराम देवकोटा

बाबुराम देवकोटा

कुसुमटार(सिन्धुली), असोज २८ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा शुक्रबारदेखि टनेल बोरिङ मेसिनले खन्न लागेको सुरुङकाे स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा  मन्त्री भुसालले सञ्चारकर्मीसँग उक्त धारण राख्नुभएको हो । उहाँले आयोजना निर्धारित समयमा नै बन्नेमा आफू विश्वस्त रहेको बताउँदै प्राविधिक रुपमा पनि एकदमै ठूलो परिवर्तन (रिभाेलुसन) भएको सुनाउनुभयो ।


उहाँले भन्नुभयो, ‘पैदल हिँड्ने मानिस गाडीमा हिँडेजस्तो र गाडीमा हिँड्ने मानिस जहाजमा हिँडेजस्तो एकदमै ठूलो रिभाेलुसन हो ।’ सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मुलुकले व्यहोर्दै आएको असन्तुलित व्यापार घाटा घटाउन निकै सहयोग पुग्ने उहाँको भनाइ थियो । मन्त्री भुसालले तराईको एक लाख २२ हजार हेक्टर जमिनमा १२ महिना सिंचाइ सुविधा पुगी वार्षिक २६ अर्ब रुपियाँ बराबरको कृषि उत्पादन बढ्ने सुनाउनुभयो ।

‘उक्त आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड रुपियाँ आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘झण्डै २८ अर्ब रुपियाँ वार्षिक देशलाई आम्दानी हुन्छ । आर्थिक विकासका दृष्टिले हेर्ने हो भने ‘माइलस्टोन’को योजना हुन्छ । भौतिक पूर्वाधारको हिसाबले मात्र होइन, आर्थिक उत्पादनको हिसाबले पनि ।’


सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण पूरा भएपछि रोजगारी सिर्जना हुने र खाद्यान्नमा विदेश जाने पैसा बचेर त्यसले देशको आयस्तरलाई माथि पुर्याउने मन्त्री भुसालको भनाइ थियो । उक्त आयोजना राष्ट्रको समृद्धि र जनताको सम्पन्नता सपना पूरा गर्ने एउटा महत्वपूर्ण आयाम भएको उहाँले बताउनुभयो ।

सुनकोशी–मरिण डाइभर्सनको १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले पाएको छ । उक्त कम्पनीले टनेल बोरिङ मेशिन (टिबिएम) बाट दुई वर्षभित्र खनिसक्ने सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालले उक्त कम्पनीले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको जानकारी दिनुभयो ।


उहाँका अनुसार कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टिबीएम मेसिनबाट शुक्रबारदेखि  सुरङ खन्न सुरु गरिएको हो । उक्त कम्पनीले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमलब ६ डायमिटरको सुरुङ मेसिनले खन्नेछ । 

सुरुङ खन्ने क्रममा भौैगभिर्क समस्या नआए दुई वर्षभित्र खनिसक्ने योजना छ । सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत् ३७ दशमलब दुई डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेशनमा जोडिने उहाँले बताउनुभयो । 


आर्थिक वर्ष ०७७÷०७८ बाट शुरु भएको उक्त आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको र आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपियाँ रहेको उहाँले सुनाउनुभयो । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्याउनेछ ।