• ४ मंसिर २०८२, बिहिबार

दाइजो नदिँदा घर निकाला : न्यायको खोजिमा सुमन

blog

सुमन कुमारी मण्डल सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : विनय कर्ण

विनय कर्ण 
कल्याणपुर (सप्तरी), मङ्सिर ४ गते ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो ।

नयाँ सपना बोकेर नयाँ जिवनको सुरुवात गर्ने उहाँको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको चारदिनमै उहाँ घर निकालामा पर्नुभयो ।

मागे जति दाइजो नल्याएको निहुँमा उहाँलाई निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उहाँ अहिले न्यायका लागि भौतारी रहनुभएको छ ।

सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोख्नुभयो ।

विवाह दर्ताका पटक–पटक आग्रह गर्दा पनि नमानेको र उल्टै श्रीमान, सासु, ससुरा र नन्दसहित सिङ्गो परिवारबाट यातना भोग्नु परेको उहाँले सुनाउनुभयो ।

श्रीमानलाई अर्काे विहे गर्ने बाटो खुला होस भन्ने मनसायले पनि आफुसँग यस्तो व्यवहार भएको उहाँले दुखेसो पोख्नुभयो ।

ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछि सुमन लामो समयदेखि माइती घरमा बस्दै आउनुभएको छ ।

दुवै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा दुईलाख ५० हजार रुपैयाँ नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेवले बताउनुभयो ।

उहाँले थप दाइजोको रुपमा गाउँमा आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब दिन थालिएको र असमर्थता व्यक्त गरेपछि छोरीलाई शारिरीक र मानसिक यातना दिइएको आरोप लगाउनुभयो ।

छोरीलाई यातना दिनेमाथि कारवाहीको माग गर्दै न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको बुवा कृष्णदेवले जानकारी दिनुभयो । यससबारे उहाँका श्रीमान राधेश्यामसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।