• १३ साउन २०८१, आइतबार

कपिलवस्तुमा चाडपर्वलक्षित सुरक्षा योजना

blog

जिल्ला प्रहरी कार्यालय कपिलबस्तु । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ६ गते । आउँदैगरेको वडा दशैं लगायतको चाडपर्वलाई लक्षित गरी प्रहरीले कपिलवस्तुको चाडपर्वलक्षित संयुक्त विशेष सुरक्षा योजना २०७९ तयार गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले दशैं, लक्ष्मीपूजा र छठ पर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन योजना बनाएको हो । जिल्ला प्रहरी कार्यालयद्वारा तौलिहवास्थित प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले सो जानकारी गराउनुभयो । 

चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी प्रशासन कार्यालय कपिलवस्तुको समन्वयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण संयुक्त रूपमा प्रहरी परिचालनको रणनीतिक कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुनसक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ लागूऔषधको सेवनगरी होहल्ला गर्ने, सवारी दुर्घटना तथा कालोबजारी नियन्त्रणलगायतका विषयमा आफूले सुरक्षा योजना बनाएको उहाँले बताउनुभयो ।

सो सुरक्षा योजना जिल्ला सुरक्षा समितिमा पठाइएको उहाँको भनाइ छ । जिल्ला सुरक्षा समितिबाट समर्थनपश्चात् चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरिने प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो ।