• १३ साउन २०८१, आइतबार

निर्वाचनपिच्छे फेरिन्छ जनमत

blog

बिजुवार समाचारदाता

बिजुवार, असोज ५ गते । प्युठान राजनीतिक नेतृत्व जन्माउने जिल्लाका रूपमा चिनिन्छ। नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरूमध्ये केही प्युठानकै छन्। नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापालगायत कम्युनिस्ट नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन्। नेतैनेता भएको प्युठानमा चुनावको इतिहास भने रोचक छ।

प्युठानको जनमत हरेक निर्वाचनमा फेरिएको हुन्छ। २०१५ सालको आमचुनावमा प्युठानका तीनै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। त्यसबेला प्युठान उत्तरपश्चिमबाट खडानन्द उपाध्याय, प्युठान मध्यपूर्वमा अनिरुद्र शर्मा र पूर्व दक्षिणबाट पुरुषोत्तम शर्मा विजयी हुनुभयो। 

२०४६ सालमा बहुदल आएपछि भएका सातवटा निर्वाचनमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन। जनमत अस्थिर देखिए पनि त्यसयताका सबै निर्वाचनमा कम्युनिस्ट शक्तिकै वर्चस्व रहँदै आएको छ। अहिले पनि ७७ प्रतिशत जनमत वामपन्थीकै पक्षमा देखिन्छ। २०४८ सालको निर्वाचनलाई नेकपा मसालले बहिष्कार गरेकाले प्युठानका दुवै क्षेत्रमा कांग्रेस विजयी भएको थियो। यस जिल्लाको क्षेत्र नम्बर १ बाट कांग्रेसका शिवराज सुवेदी र क्षेत्र नम्बर २ बाट मुक्ति शर्माले जित्नुभयो।

२०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट पुनः सुवेदी र क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जित हासिल गर्नुभयो। २०५६ सालको निर्वाचनमा नेकपा एमालेसँगको तालमेलमा दुवै क्षेत्रमा जनमोर्चाले जित्यो। जहाँ क्षेत्र नम्बर १ बाट हरि आचार्य र क्षेत्र नम्बर २ बाट नवराज सुवेदी दोहोरिनुभयो। २०६४ सालको संविधान सभा निर्वाचनमा मतदाताको मन नेकपा माओवादी केन्द्रतिर ढल्कियो। क्षेत्र नम्बर १ बाट नारायण अधिकारी र क्षेत्र नम्बर २ बाट दीपक केसीले जित्नुभएको थियो।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दुईवटै क्षेत्रमा नेकपा एमाले हाबी भयो। क्षेत्र नम्बर १ बाट एमालेका वामदेव गौतम र क्षेत्र नम्बर २ बाट हीरा केसी विजयी हुनुभएको थियो। 

त्यस्तै २०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चाको तालमेलमा मोहनविक्रम सिहंकी श्रीमती दुर्गा पौडेलले चुनाव जित्नुभएको थियो। यस पटक पनि प्युठानमा मङ्सिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन निकै रोचक हुने देखिन्छ। सत्ता गठबन्धनभित्र दलहरू चुनावी तालमेल मिलाउने कसरतमा छन्। एमालेले गठबन्धनसँंग प्रतिस्पर्धा गर्न सूर्य थापालाई मैदानमा पठाएको छ। पत्रकारिताबाट राजनीतिमा आएका थापा मतदाताका लागि नयाँ अनुहार हुनुहुन्छ। 

गठबन्धनभित्र प्युठानमा तीनै दलले सिटको दाबी गरेका छन्। माओवादी कोटाबाट वामदेव गौतमले टिकट नपाएको खण्डमा जनमोर्चाका उपाध्यक्ष तथा निवर्तमान सांसद दुर्गा पौडेल नै उम्मेदवार बन्ने आकलन गरिएको छ। 

उहाँको सिधा प्रतिस्पर्धा एमालेका थापासँग हुने सम्भावना छ। यद्यपि कांग्रेसले पनि आफ्नो दाबी छोडेको छैन। प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र भएकाले गठनबन्धनको तर्फबाट पौडेलको सम्भावना बलियो देखिएको स्थानीयवासी बताउँछन्।