• १२ साउन २०८१, शनिबार

सत्ता गठबन्धन : अब उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै

blog

काठमाडौं, भदौ १८ गते । सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त छन् । अब बैठकमा बस्दा सहमतिको खाका नै सार्वजनिक गर्ने तयारीका लागि आन्तरिक छलफल सघनरुपमा अगाडि बढेको छ ।

गठबन्धन अब सिट बाँडफाँटमा मात्र होइन् उत्साह र ऊर्जाका साथ चुनावमा जाने वातावरण निर्माणमा जुटेको छ । यही गठबन्धनले स्थानीय निर्वाचनको सफलता चुम्केकाले अबको निर्वाचनमा पनि एकताबद्ध भएर जान सबै दलका शीर्ष नेताहरू सैद्धान्तिकरूपमा सहमत भइसक्नु भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र प्रदेशसभाको ३३० स्थानका लागि हुने निर्वाचनमा सिट बाँडफाँट मिलाउन सजिलो कुरा पनि होइन् ।


गठबन्धनको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको आगामी बैठकबाट निर्णय दिनेगरी गठबन्धनका पाँचै राजनीतिक दलहरू विभिन्न चरणमा छलफल जारी रहेको बताउनुभयो । गठबन्धनको बैठकमा विभिन्न प्रस्ताव आएका र पार्टीभित्रको छलफलपछि आएको प्रस्तावलाई गठबन्धनको बैठकमा पेश गरेर निर्णयमा पुग्ने तयारी भइरहेको भनाइ उहाँको छ ।

मन्त्री कार्कीले भन्नुभयो, “आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय छलफलपछि सबै प्रस्तावमाथि छलफल गरेर निर्णयमा पुग्ने छौँ । पछिल्ला दिनमा धेरै छलफल भएको छ । गठबन्धनका दलभित्र एकले अर्काको संवेदनशीलतालाई राम्ररी बुझ्ने अवसरका रुपमा बैठकलाई लिएका छौँ ।”

उहाँले भन्नुभयो, “उम्मेदवारको सूची मगाइराखेका छौँ । नामाङ्कन भर्ने समय आउँदैछ । सम्मानजनक रुपमै र मैले जितेँ भन्ने बोध हुनेगरी निर्णयमा पुग्ने छौँ ।”

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार दिनभरि नै पार्टीको आन्तरिक गृहकार्यमा गरेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेशको माओवादीले लिनुपर्ने कुन–कुन हो र आधारहरू के छन् भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने नेताहरूलाई कुन–कुन क्षेत्रमा उठाउने भन्ने विषयमा तयारी गर्दैछौँ । गठबन्धनका दलबीच संयुक्त र छुट्टाछुटै छलफल गर्नुपर्नेमा पनि बस्छौँ र बैठकमा प्रस्ताव गर्छौँ ।”


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सहमतिको आधार तयार गरेर पाँच दलीय गठबन्धन निर्वाचनमा जाने प्रष्ट पार्दै आगामी बैठकबाट निर्णयमा पुग्न सकिने सम्भावना रहेको बताउनुभयो ।

नेकपा एकीकृत (समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीमा आन्तरिक छलफल र अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो । उहाँले गठबन्धनभित्र सहमतिको विकल्प नरहेकाले अवको बैठकमा छलफल गरेर सहमति निर्माण गर्ने जानकारी दिनुभयो ।


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिटको सम्मानजनक बाँडफाँट गर्नुपर्ने बताउँदै त्यसो गर्दा उत्साह र ऊर्जाका साथ चुनावमा जान सकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायोचित सिट बाँडफाँट गरेर चुनावमा जाँदा महत्वपूर्ण उपलब्धि हासिल हुन्छ भन्ने हाम्रो विश्लेषण हो । सबैलाई वीन–वीन हुनेगरी सिट बाँडफाँट गर्नुपर्छ । सहमति गरेर चुनावमा जाने निर्णयमा हामी पुग्छौँ ।”


जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले सिट बाँडफाँटमा सहमति जुटाएर चुनावमा जाने बताउँदै गठबन्धनमा सहमतिको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित दोस्रो तहका नेताहरूले आन्तरिक र बहुपक्षीय छलफल गरिरहनु भएको छ ।