इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक ७ गते । पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।
शुक्रबार दिउँसो तानसेनबाट रामपुरतर्फ आउँदैगरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदैगरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल कालीगण्डकी करिडोर सडकअन्तर्गत पिपलडाँडा–रामपुर खण्डको तुरुन्दी खोलानजिक ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा लु १३ प ८६३५ नम्बरको मोटरसाइकलको पछाडि सवार बगनासकाली गाउँपालिका –९, चापपानी बस्ने २८ वर्षीय अर्जुन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएको बिकलाई उद्धार गरी रामपुर अस्पतालमा उपचारका लागि लगिएको थियो ।
गम्भीर घाइते घाइते बिकलाई अस्पताल लगेर चेकजाँचपश्चात चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
दुर्घटनामा लु १३ प ८६३५ को मोटरसाइकल चालक बगनासकाली –९, चापपानीका ५१ वर्षीय विष्णुप्रसाद बिक, लु ७७ प ४५०५ मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका –९, बस्ने २९ वर्षीय विवेक भट्टराई, सोही मोटरसाइकलको पछाडि सवार सियारी गाउँपालिका ७, रुपन्देही बस्ने ३१ वर्षीय दिपक पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि रामपुर अस्पताल पठाइएको थियो । घाइतेमध्ये दुई जना उपचार पश्चात डिस्चार्ज भएको र २९ वर्षीय विवेक भट्टराईलाई थप उपचारको लागि रामपुर अस्पतालबाट रिफर गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।