काठमाडौँ, कात्तिक ७ गते । ‘जेनजी’ युवाले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड-फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जेनजी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन ।”
घाइते कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ । जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेनजी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताउनुभयो । रासस