गोरखापत्र अनलाइन
भक्तपुर, कात्तिक ७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ । गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।
ओली दम्पतीको लागि ‘ओलीकुटी’ निर्माण गर्न गुण्डुबासीले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आन्दालनकारी समूहले आगो लगाएर नस्ट गरेका थिए । अध्यक्ष ओलीले सो घर राज्यको नाममा नामसारी गरिसकेको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए ।
सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको अध्यक्ष ओली दम्पतीको भनाइ छ । घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ । बस्नेतले टबालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बताउनुभयो । अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा उहाँले गर्नुभएको छ ।
ओली दम्पतीले बस्नेत र एमाले नेताको साथमा बालकोटमा जलेको अध्यक्ष ओलीको घर अवलोकन गर्नुभएको छ । भग्नावशेष बनेको सो भवनको अवलोकन पछि बस्नेले ओलीको लागि गुण्डुमा नै आवासको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो ।
‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् । म आफू संयोजकको भूमिकामा रहनेछु’ बस्नेतले भन्नुभयो। भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्न लागिएको बस्नेतले बताउनुभयो ।