• ८ असोज २०८२, बुधबार

विज्ञसँग देशको बहस

‘दलमा नेतृत्वसँगै समग्र रूपान्तरण’

blog

काठमाडौँ, असोज ८ गते । जेनजी पुस्ताको भदौ २३ र २४ गतेको उथलपुथलकारी विद्रोहपछि देशमा रूपान्तरणको बहस आरम्भ भएको छ । राजनीतिक दलमा आबद्ध नभएका युवा मुखर भएर दलभित्रको रूपान्तरणको बहसमा उत्रिएका छन् । 

राजनीतिक दलमा समग्र रूपान्तरणसँगै संविधान संशोधनमार्फत शासकीय स्वरूपमा सुधार गर्नुपर्ने पक्षमा बहस सुरु भइरहेका बेला नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित प्रमुख राजनीतिक दलभित्र पनि रूपान्तरणको बहस भइरहेको छ । 

नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व रूपान्तरणका लागि विशेष महाधिवेशन वा मङ्सिरमा नियमित १५ औँ महाधिवेशनको प्रस्ताव गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डले मङ्सिरमा विशेष महाधिवेशन गर्ने घोषणा गर्नुभएको छ । 

नेकपा (एमाले) मा पनि नेतृत्व फेरिनुपर्ने आवाज उठ्दै छ तर शीर्ष नेतृत्व पङ्क्तिबाट भने यी आवाजको सकारात्मक सम्बोधन गर्ने अभिव्यक्ति आएका छैनन् ।

पञ्चायतको कालरात्रिदेखि गणतन्त्रको सुनौलो बिहानी भोगेको बौद्धिक क्षेत्रका अग्रजले राजनीतिक दलमा रूपान्तरणका लागि अब पर्खेर नबस्न आग्रह गर्नुभएको छ । राजनीतिशास्त्री प्राडा लोकराज बराल, प्राडा सावित्री कक्षपती, राजनीतिक विश्लेषक प्राडा राजेश गौतम र प्राध्यापक कृष्ण पोखरेलले बहुदलीय व्यवस्था, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ राजनीतिक दलभित्र नेतृत्व परिवर्तन गरी साङ्गठानिक रूपमा आमूल रूपान्तरणको आवश्यकता औँल्याउनुभएको छ । 

‘नेतृत्व हस्तान्तरण गर्नु पर्छ’

पूर्वराजदूत प्राडा लोकराज बरालले जेनजीको विद्रोहपछि देश पुनः ट्र्याकमा आएको परिवेशमा प्रमुख तीन दलका शीर्ष नेतृत्वले राजीनामा दिएर नेतृत्व हस्तान्तरणको अवसरका रूपमा यो मौकालाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा यति राम्रो सद्भावको विकास भएको छ । यस्तो देश अर्को छैन । विषमता भए पनि नागरिकमा एकता छ । जेनजीको आन्दोलनपछि राजनीतिक दलका नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने हो र राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्नु पर्छ । नभए अर्को सङ्कट अवश्यम्भावी छ ।”

प्राडा सावित्री कक्षपति राजनीतिक दलभित्र पनि लोकतान्त्रिक चरित्रको विकास हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गणतन्त्र स्थापनापछि दलभित्र जुन ‘स्कुलिङ’ को विकास भएको छ, त्यही शैली लिएर सत्तामा दोस्रो पुस्ताकै नेता पुगे भने पनि दुःख पाउने जनताले नै हो । त्यसैले समग्र रूपान्तरणको मुद्दा बोक्नेले नेतृत्व गर्नु पर्छ ।” 

जेनजीका मुद्दा प्राथमिकतामा 

राजनीतिक विश्लेषकद्वय प्राडा राजेश गौतम र प्राध्यापक कृष्ण पोखरेलले राजनीतिक रूपान्तरणका पक्षमा जेनजीले उठाएका मुद्दालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । प्राडा गौतमले दलका विधानले युवा पुस्तालाई प्राथमिकता दिने दृष्टिकोण भए पनि दलको नेतृत्वबाट विधानको मर्म अनुसार काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधानलाई वैधानिक ढङ्गले कार्यान्वयन गर्दै युवापुस्ताको क्षमता र विकास अघि बढाउने कार्यमा कहिल्यै पहल भएन । प्रत्येक दलमा पहिलो पुस्ताले आफूलाई जवान बनाएर अघि बढाइरहेको छ । जेनजी आन्दोलनले अब देश चलाउने जिम्मेवारी युवापुस्तालाई दिनु पर्छ भन्ने दृष्टिकोण स्थापित भयो ।” प्राध्यापक पोखरेलले दलमा रूपान्तरण आरम्भ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रूपान्तरण पहिल्यै हुनुपर्ने थियो । ढिलै भए पनि राम्रो भयो । अहिले उपयुक्त समय हो रूपान्तरणको । संसदीय व्यवस्थाको आधारभूत मान्यता दलको नेतृत्वमा जब पार्टी निर्वाचनमा जान्छ, निर्वाचनमा अपेक्षाकृत नतिजा नआएमा तत्कालै नेतृत्व छोड्न पर्छ ।”

उहाँले भन्नुभयो, “सुशासन, पारदर्शी जीवनशैलीसहित नेताको व्यवहारले बढेको आक्रोशले रूपान्तरण अवश्यम्भावी छ भन्ने कुरा पुष्टि गरेको छ । अब पहिलो पुस्ता बिदा हुनु पर्छ ।”

शासकीय प्रणालीमा सुधार 

प्राडा कक्षपतीले बहुदलीय व्यवस्था आएपछि नागरिकका अपेक्षा पूरा नभएको र दलहरू रूपान्तरित नहुँदा गुम्सिएको आक्रोश जेनजी आन्दोलनका रूपमा देखिएको बताउनुभयो । उहाँले शासकीय प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँ दलको नेतृत्वसँगै दोस्रो पुस्ता र मतदाता पनि यो विद्रोहका लागि जिम्मेवार रहेको र सबैले आआफ्नो जिम्मेवारी पूरा नगर्दाको परिणाम आएकाले अब सबैले आफैँमा रूपान्तरण गर्नुपर्ने बताउनुहुन्छ ।  

‘दोस्रो पुस्तालाई नेतृत्व दिऊँ’

राजनीतिशास्त्री प्राडा बराल, प्राडा गौतम र प्राध्यापक पोखरेलले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिनुभयो । प्राडा बरालले चार पाँच पटक प्रधानमन्त्री भएर पनि राजनीतिक दललाई रूपान्तरण गर्न नसकेपछि अब पदमै बस्नुको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्ताको भावना र स्वभाव नै फरक हुन्छ । त्यसपछि रूपान्तरण सुरु हुन्छ । नागरिकले सबै कुरा बुझिसके । सबै कुरा बुझिसकेपछि जेनजीको विद्रोहलाई बुझेर, चुनौती छन्, दोस्रो पुस्ताले समालिएर र समालेर अघि बढ्छ ।”

प्राडा गौतमले जेनजीको विद्रोह संविधान र दलविरुद्धको नभई वृद्ध पुस्ताको अत्याचारविरुद्ध भएको बताउँदै रूपान्तरणका पक्षमा भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दोस्रो पुस्ताका नेता जिम्मेवारीमा आएपछि खारिँदै जान्छन् । परिवर्तन हुन्छ ।” प्राध्यापक पोखरेलले पार्टीभित्र दोस्रो पुस्तामा जागरण आएको र रूपान्तरणको स्वर मधुरो भए पनि उठेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजीले दलको अहिलेको नेतृत्वलाई स्विकारेन । विचार र दृष्टिकोणसहितको दोस्रो पुस्ताले तत्काल नेतृत्व लिनु पर्छ । अनि मात्रै देशले निकास पाउँछ ।”